खजुरामा बन्दैछ खेलकुदका ठूला संरचना



बाँके । 

बाँकेको खजुरालाई खेलकुदको उर्वरभूमि मानिन्छ । जिल्लामा हुने जुनसुकै खेलको प्रतियोगितामा खजुरा क्षेत्रको बलियो उपस्थिति हुने गर्दछ । आठौं राष्ट्रिय खेलकुदका चारवटा खेल खजुराले भव्य रूपमा सम्पन्न गरेर आफ्नो खेलकुदप्रतिको लगाव र उपस्थिति बलियो देखाइसकेको छ ।

खेलकुद ग्राम (शुक्र मावि खेलग्राम) मा महिला र पुरुषको भलिबल, महिलाको हक्की, डीगाउँको मिनि रंगशालामा पुरुष फुटबलको सेमिफाइनलसम्मका खेल र ज्ञानोदय नमुना स्कुलमा बक्सिङ प्रतियोगिता सफलपूर्वक सम्पन्न गरिएको थियो ।खेलकुदमा जनप्रतिनिधिको चासो र स्थानीयको लगावले गर्दा खजुरामा खेलकुदका करोडौंका संरचनाहरू बनिरहेका छन् । सीतापुरमा साढे चार बिघामा खेलकुद ग्राम बनिरहेको छ । यो प्रोजेक्ट ५७ करोड ५६ लाखको रहेको छ ।

खजुरा गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलका अनुसार, आर्थिक ०७६÷७७ मा खेलकुद ग्राममा ५५ लाख रुपैयाँ आएको थियो । ०७७-७८ मा २५ लाखको काम भएको छ । खेलकुद विकास मन्त्रालयले खेलकुद ग्राममा वर्षेनी सहयोग गरिरहेको छ । खेलकुद ग्राममा पर्खाल लगाउनेदेखि फुटबल मैदानको लागि माटोपटानको काम भएको छ ।

खेलकुद ग्राममा भलिबल स्टेडियम, प्याराफिटसहितको फुटबल मैदान, पौडीपोखरी, बहुउद्देश्यीय सभाहल, जिमहलदेखि खेलाडी आवासीय भवन बनाउने योजना रहेको छ । खेलकुद ग्राम निर्माणमा सरकारले वर्षेनी बजेट पठाए पनि थोरै पठाउँदा यो सम्पन्न हुन लामो समय लाग्ने देखिएको छ । स्थानीयवासी एवं खेलकुदका अगुवा भीम वलीले सरकारले वर्षेनी दिने बजेट बढाएर छिटो काम सक्नु पर्ने बताउनुभयो ।
धेरै खेलकुदका संरचना एकै ठाउँमा बन्दै गरेकाले भविष्यमा यो ठाउँ खेलकुद पर्यटकीयस्थल बन्ने जानकारहरू बताउँछन् ।

खजुराको डीगाउँमा अर्को ठूलो खेलकुदको संरचना बनिरहेको छ, जसलाई मिनि रंगशाला भनिएको छ । चार वर्षदेखि मिनि रंगशालामा काम भइरहेको छ । अहिलेसम्म डेढ करोड बढीको काम भइसकेको योजना अधिकृत पौडेलले जानकारी दिनुभयो ।अहिले प्रदेश सरकारले दिएको ७५ लाखको काम भइरहेको छ । त्यसअघि ४५, २५ र १० लाखको काम भइसकेको छ । ६ हजार दर्शक अट्ने प्याराफिटसहितको मिनी रंगशाला बनिरहेको छ । यही मैदानमा आठौँ सेमिफाइनलसम्मका पुरुष फुटबल भएको थियो ।खजुराको गौरीगञ्जमा क्रिकेट मैदान बनाउनका लागि दश लाखको काम भइसकेको छ । प्रदेश सरकारले यो पैसा दिएको थियो । योजना अधिकृत पौडेलले वडा नं. २ मा भलिबल, ३ र ४ नम्बरमा फुटबल र ८ नम्बरमा क्रिकेटलाई लक्षित गरेर संरचनाहरु बनिरहेको बताउनुभयो ।

पालिकाले खेलकुद संरचनासँगै खेलाडी प्रोत्साहन र मेयर कपमा लगानी गरिरहेको छ । मेयर कपका लागि हरेक वर्ष ५ लाख रुपैयाँ बढी पालिकाले दिने गरेको छ । सिमलघारी, गौतमबस्ती, एफगाउँ र हालै गौघाटमा मेयर कप रनिङ शिल्ड भएको छ ।पालिकाले खजुराबाट बाहिर ठूला प्रतियोगिता खेल्न जाने टिम र खेलाडीलाई केही न केही सहयोग गरिरहेको छ । टिम र खेलाडीलाई प्रोत्साहन गर्ने पालिकाले रणनीति अपनाउँदै आएको छ । खजुरा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी धेरै जन्माएको छ ।

खजुराकी सोनिया भट्टले ओलम्पिक खेलेर आइसकेकी छन् । ओलम्पियन जन्माएको खजुराको नाम राख्ने काम लालबहादुर मल्ल, मानबहादुर काउचा, केशमाया श्रीस, आइतराम वली, नेरी थापा, विनु बुढामगरले गरेका छन् ।ओलम्पियन, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी जन्माएको खजुरामा बनेका यी स्तरीय संरचनाले यस्ता खेलाडी उत्पादनमा सघाउ पु¥याउने विश्वास गरिएको छ । खेलकुदप्रति स्थानीयको जागरुता र चासो अनि पालिकाको पूर्ण सहयोग हुँदा सहजरूपमा खेलाडि उत्पादन हुने सम्बद्धहरू बताउँछन् । पालिकामा पहुँच भएका जनप्रतिनिधि र व्यक्तिहरू हुँदा प्रदेश र संघबाट समेत ठूलो बजेट ल्याएर संरचना बनाउन सक्दोरहेछ भन्ने खजुराले उदाहरण दिएको छ ।

प्रतिक्रिया दिनुहोस्