नौ तले वसन्तपुर दरबार : दुई वर्षपछि बल्ल काम शुरू, अझै डेढ वर्ष बढी लाग्ने

९० प्रतिशत काम सकियो, लाइटिङ र सोकेस बनाउन बाँकी



काठमाडौं ।

चीनियाँ सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको वसन्तपुरस्थित नौतले दरबारको काम दुई वर्षपछि बल्ल शुरू भएको छ । कोभिड–१९ संक्रमणका कारण २०७६ चैतदेखि चिनियाँ पक्षले काम गरेको थिएन । विश्वभर कोरोना संक्रमण बढेसँगै लकडाउन भएको अवस्थामा चिनियाँ पक्षले करिब ९० प्रतिशत काम सम्पन्न गरी ठेकेदारसहितको टोली चीन फर्केको थियो ।
‘पुनर्निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेको अवस्थामा चीनमा फेरि कोभिड संक्रमण बढेपछि केही विलम्ब भएको हो । पुरातत्व विभागका महानर्देशक दामोदर गौतमले भन्नुभयो । उहाँका अनुसार चीनमा कोरोना संक्रमण बढे पनि यहाँ रहेका चिनियाँ टोलीले काम शुरू गरेका छन् ।

सो परियोजना विसं २०७४ सालबाट काम शुरू भएको थियो । करिब साढे ३ वर्षमा ९० प्रतिशत काम सकेको अवस्थामा कोभिड संक्रमण बढेपछि चिनियाँ टोली स्वदेश फर्किएको थियो । हनुमानढोका दरबार संग्रहालय विकास समितिका निर्देशक सन्दीप खनालले कोभिडपछि अहिले १० दिनदेखि काम जारी रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘विभागले ठेकेदार कम्पनीसँग कुराकानी गरेपछि बल्ल काम शुरू भएको हो । करिब २ अर्ब रुपियाँ लागत अनुमान गरिएको सो परियोजना सक्न करिब ७ महिना बाँकी छ ।’ विभाग र चिनियाँ सरकारको स्वामित्वमा रहेको कम्पनीबीच ३१ डिसेम्बर सन् २०१६ मा सम्झौता भएको थियो । हनुमानढोका विकास समितिका कार्यकारी निर्देशक खनालका अनुसार नोभेम्बर २२ मा सम्झौता सकिँदैछ ।

सम्झौता अवधि सकिनै लाग्दा ठेकेदार कम्पनीले कोभिडको कारण तोकेको समयमा काम सम्पन्न हुने अवस्था नआएकोले म्याद थपिदिन आग्रह गरिरहेको विभागका महानिर्देशक गौतमले बताउनुभयो । उहाँका अनुसार चीन सरकारको तर्फबाट नेपालमा दरबार हाइस्कुल पुनर्निर्माण सम्पन्न भइसकेको छ । अब नुवाकोटको सातदते दरबार पुनर्निर्माणको चरणमा रहेको छ । यस्तोे अवस्थामा नेपाललाई सहयोग गर्र्ने कम्पनीसँग तत्काल सम्झौता भंग गर्ने अवस्था आउँदैन ।

चीनले वसन्तपुर दरबार पुनर्निर्माण लगत्तै संग्रहालयका सामग्रीलाई व्यवस्थित रूपमा सजाएर राख्न डिस्प्ले, विद्युतीकरणदेखि, लाइटिङ, सीसीटिभीलगायत उच्च प्रविधि जडान गर्नेलगायत सबै काम गर्ने जनाएको विभागमा महानिर्देशक गौतमले बताउनुभयो । सबै काम सक्न करिब डेढ वर्ष लाग्नसक्ने विभागको अनुमान छ । चीनमा पुनः कोभिड संक्रमण बढेको कारण लागत र सम्झौताको अवधि थपिनसक्ने विभागको भनाइ छ ।

उहाँले भन्नुभयो– ‘दरबारमात्र बनाउने भए समयमै सकिनेछ । हाम्रो अनुरोधमा करोडौं रुपियाँ लाग्ने लाइटिङ र सोकेससमेत निर्माण गर्न अनुरोध गरेका केही समय थप गर्न सक्नेछौं ।’ चीन सरकारले नेपालको सम्पदा क्षत्रमा अर्बौं रुपियाँ लगानी गर्ने जनाइसकेको छ । यो महत्वकांक्षी परियोजनामा थप काम गर्ने भनेपछि विभाग र कम्पनीबीच पुनः महत्वपूर्ण सहमति हुनसक्नेछ ।
वैशाख १२ गते गएको भूकम्पले ध्वस्त भएको नौतले दरबार र त्यससँगै रहेको कीर्तिपुर, भक्तपुर र काठमाडौं टावर पुनर्निर्माण गर्ने सम्झौता भएको थियो । वसन्तपुर दरबार परिसरको ५ हजार ६ सय वर्गमिटर क्षेत्रको संरक्षण गर्न चिनियाँ र नेपाली पक्षका प्राविधिक बीच छलफल भएपछि पुनर्निर्माणको काम शुरू भएको थियो ।

हाल अन्तिम चरमा पुनर्निर्माण भइरहेको सम्पदाको पुनर्निर्माणमा चिनियाँ पक्षका एजेन्सी फर इन्टरनेसनल इकोनोमिक कोअपरेसनका कार्यकारी निर्देशक ह्याङ हिले चिनियाँ तर्फबाट संयोजन गरेका छन् । नेपालको तर्फबाट हनुमानढोका दरबार क्षेत्र विकास समितिले गरेको छ ।

चिनियाँ पक्षलाई नेपाल सरकारले पुनर्निर्माण परियोजना सम्पन्न भएको १० दिनभित्र हस्तान्तर गरी प्रमाणपत्र दिनुपर्ने, पुनर्निर्माण शुरू भएपछि दुई वर्षसम्म चिनियाँपक्षले अनुगमन गर्ने, दुवै पक्षको सहमति वेगर परियोजनासँग सम्बन्धित ड्रइङ, डिजाइन तेस्रो पक्षलाई उपलब्ध गराउन नपाइने लगायतका विषय सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्