‘शास्त्रविरुद्ध जाने ज्योतिषलाई कारबाही हुन्छ’



काठमाडौं ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले ज्योतिष शास्त्रविपरीत काम गर्ने ज्योतिषलाई कारबाही गरिने बताउनुभएको छ । सोमबार काठमाडौंको वागबजारस्थित हार्दिक होटलमा आयोजित दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समितिको १९औं वार्षिकोत्सव कार्यक्रममा उहाँले सो बताउनुभएको हो ।

‘ज्योतिष शास्त्रलाई बदनाम गरी सामाजिक तथा सांस्कृतिकरूपमा कुरीति फैलाने विरुद्ध पञ्चाङ्ग निर्णायक विकास समितिमा उजुरी दिनुहोस्, हामी उनहिरूलाई कारबाहीको दायरामा ल्याउँछौं’, अध्यक्ष अधिकारीले भन्नुभयो । ज्योतिषले धर्म, संस्कार, संस्कृतिको उन्नयनमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो । पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले वर्तमान अवस्थामा शास्त्रमा उल्लेख नभएका कालसर्प योग शान्ति, वृहस्पति तथा शुक्रअस्तका बेला यज्ञ–यज्ञादि लगायतका धार्मिक कार्य भएकोप्रति ध्यानाकर्षण गराएपश्चात् उहाँले त्यस्ता कार्य गराउनेलाई कारबाही गर्ने बताउनुभएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राडा जगमान गुरुङ, पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल, नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति पूर्णचन्द्र ढुंगेल, विश्व ज्योतिष महासंघ केन्द्रीय समितिका अध्यक्ष डा. लोकराज पौडेल, विश्व ज्योतिष महासंघ भारतका सभापति अशोककुमार मिश्र, नेसंवि धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराईलगायतले कार्यक्रममा ज्योतिष तथा धर्म, संस्कार, संस्कृतिका बारेमा आफ्ना मन्तव्य राखेका थिए ।

समाचार सम्पादक आर्याल सम्मानीत
दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समितिले आफ्नो वार्षिकोत्सवको अवसरमा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका समाचार सम्पादक सूर्यप्रसाद अर्याललाई दोसल्ला ओढाई प्रशंसापत्रले सम्मान गरेको छ । सोमबार काठमाडौंको वागबजारस्थित हार्दिक होटलमा आयोजित महासंघको १९औं वार्षिकोत्सव कार्यक्रममा उहाँलाई सम्मान गरेको हो ।

ज्योतिष, धार्मिक तथा सांस्कृतिक क्षेत्रको सूचना प्रवाह गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अर्याललाई महासंघले सम्मान गरेको हो । दक्षिण एसियाली महासंघ सार्क राष्ट्रका ज्योतिषहरूको संस्था हो । यसको केन्द्रीय कार्यालय नेपालमै रहेको छ । यस संस्थाले सार्ककै ज्योतिषीय क्षेत्रको हक–अधिकार तथा विकृति–विसंगतिको टड्कारो रूपमा आवाज उठाउँदै आउको छ ।

प्रतिक्रिया दिनुहोस्