दलहरु चुनावी रस्साकस्सीमा



 स्याङ्जा । 

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा भित्रभित्रै दलहरु तयारीमा जुटेका छन् । विशेष गरी नेपाली कांग्रेस र नेकपा एमालेमा उम्मेदवार बन्न धेरै नेता आकांक्षी देखिएपछि छनोटमा सकस हुने भएको छ ।

यसका लागि नेपाली कांग्रेसले वडातहका उमेदवार र पालिका प्रमुख उपप्रमुखका लागि उम्मेदवार माग्ने प्रक्रिया अगाडि बढाएको नेपाली कांग्रेस स्याङ्जाका प्रवक्ता भरत लम्सालले जानकारी दिनुभयो । सिफारिस गर्ने कार्यलाई अगाडि बढिरहेको र गठबन्धनबीच छलफल पछि मात्रै वडातहको उमेदवार टुंगिने र प्रमुख उपप्रमुखको विषय भने एक सातापछि मात्रै टुंगिने उहाँले बताउनुभयो ।

नेकपा एमालेले पनि उम्मेदवार टुंगाउने क्रमलाई जारी राखेको छ । केही वडामा उम्मेदवारको टुंगो लागे पनि पालिका प्रमुख उपप्रमुखको भने छलफलकै क्रममा रहेको एमाले स्रोतले जनाएको छ । दलहरुले उमेदवार छनोट गरी चुनावी मैदानमा पठाएपछि मात्रै स्याङ्जामा चुनावको सारगर्मी बढ्ने देखिएको छ ।नेकपा एमालेबाट छुट्टिएर नयाँ दल बनेको नेकपा एकीकृत समाजवादी भने संगठन विस्तार सँगै प्रशिक्षण अभियानमा जुटेको छ । अन्य साना दलहरु पनि भित्रभित्रै रणनीनितिक योजनामा रहेका छन् । साना दलहरु जनताको घरदैलो वा वडातहमा पुगेको देखिँदैन । ठूला ६ राजनीतिक दलबाहेक १३ साना दलहरुले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो विवरण बुझाएको निर्वाचन कार्यालयका प्रमुख गुरुप्रसाद मरासिनीले बताउनुभयो । स्वतन्त्र उम्मेदवारबाहेक स्याङ्जामा १९ राजनीतिक दलले आगामी वैशाख ३० गतेको निर्वाचनमा सहभागी हुने उहाँको भनाइ छ ।

५ वर्ष जनप्रतिनिधिले गरेको काम देखेका जनताको घरदैलोमा फेरि वैशाख ३० गते हुने निर्वाचनका लागि दलहरु भोट माग्न जाने क्रम बढेको छ । नेपाली कांग्रेससहित गठबन्धन एकातिर र नेकपा एमाले एकातिर हुँदा हुने प्रतिस्पर्धाको नतिजा कस्तो आउला भनेर अड्कलबाजी समेत हुन थालेका छन् । आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरु एकता र सहकार्य गरी अगाडि बढ्ने भने पनि घरदैलो र चुनावी प्रशिक्षण अभियानमा भने छुट्टाछुट्टै देखिएका छन् ।

नेपाली कांग्रेसले ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ भन्ने अभियान लिएर घरदैलो, टोल विकास समिति गठनदेखि पालिकास्तरमा प्रशिक्षण चलाएको छ भने नेकपा एमाले भातृ संगठन पुनर्गठन, टोल विकास समिति गठन र वडास्तरीय भेलामा व्यस्त देखिएको छ । यस्तै, नेकपा माओवादी केन्द्र पालिकास्तरका बैठक सम्पन्नपछि वडातहमा जाने तयारीमा रहेको बुझिएको छ ।

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक दलहरु घरदैलोदेखि चुनावी प्रशिक्षण कार्यक्रममा व्यस्त छन् । चुनावी सारगर्मीका कारण ठूलादेखि साना दलहरु अहिले जनताको घरदैलोमा पुगेका छन् भने कार्यकर्ताहरुलाई प्रशिक्षण दिने अभियानमा लागेका हुन् ।
२०७४ वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि चुनिएका जनप्रतिनिधिहरुको कार्यकाल सकिँदै छ । ५ वर्षमा आफूले चुनेर पठाएका जनप्रतिनिधिले जनताको काम कसरी गरे भन्ने समीक्षा पनि यो स्थानीय तहको निर्वाचनमा हुनेछ ।

जनप्रतिनिधिसँग सन्तुष्ट र असन्तुष्ट बनेका जनताले मूल्याङ्कन गर्ने बेला आएको नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा बताउनुहुन्छ । संघीय संविधान बनेसँगै बनेको नयाँ शासकीय संरचनाअनुरूप स्थानीय तहमा चुनिएका जनप्रतिनिधिको काम र शैलीप्रति धेरै नागरिक सन्तुष्ट नदेखिएको शर्माको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्