शंखमुलका किसलाल ‘बा’ को देवरथारोहण हेर्न ओइरियो ज्यापू समुदाय



काठमाडौं ।

८८ वर्ष ८ महिना ८ दिन पुगेर पुरेतले साइत जुराएपछि २०७८ सालको अन्तिम दिन अर्थात चैत ३० गते उहाँको तेस्रो जन्कु अर्थात देवरथारोहण गरियो । टोलवासीको ‘बा’ को रूपमा परिचित किसलालको साथमा उहाँकी धर्मपत्निद्वय नानीमाया र न्हुच्छेमायाको पनि तेस्रो जन्कु गरियो ।  नानीमाया ८८ वर्ष ८ महिना उमेर पुगि सक्नुभयो तथापि न्हुच्छेमाया भने ८७ वर्ष मात्र पुग्नुभयो ।

घर मुलीको उमेर जन्कु गर्न योग्य भएपछि सोही अवसरमा उनकी पत्निको पनि जन्कु गर्न मिल्ने वरिष्ठ इन्जिनियर रवि जोन्छे बताउँनुहुन्छ् । नेवारी  संस्कृति र परम्परा अनुसार घर मुलीको उमेर ७७ वर्ष ७ महिना ७ दिन पुगेपछि पहिलो जन्कु अर्थात भिमरथारोहण र ८२ वर्ष ४ महिना ४ दिन पुगेपछि दोस्रो जन्कु अर्थात चन्द्ररथारोहण गरिन्छ ।

त्यसैगरि ८८ वर्ष ८ महिना ८ दिन पुगेका जेष्ठ नागरिकहरूलाई त झनै भगवानको रूप मानेर उनीहरूको देवरथारोहण गराइन्छ । नेवारी संस्कृतिमा जन्कु मनाउने उमेर अर्थात ७७ वर्ष ७ महिना ७ दिन काटिसकेका सबै व्यक्तिलाई भाग्यमानी, दीर्घजीवि र ज्युँदो देवता नै मानिन्छ । उनीहरूको दर्शन मात्रै गरेमा पनि भाग्यमानी, सुखी र स्वस्थ भइन्छ भन्ने मान्यता छ ।

किशलाल महर्जन, नेपालको इतिहासमा परम्परागत इँटा उत्पादन गर्ने ३५ वर्ष पुरानो श्री दक्षिण वाराही इँटा उद्योग दधिकोट र ॐ श्री मच्छिन्द्रनाथ इँटा उद्योगलगायतका संस्थापक पनि हुनुहुन्छ । गोरखाको मनकामना मन्दीरको साथै विभिन्न नयाँ मठमन्दीर बनाउन र पुराना मन्दीर, पाटीपौवा जिर्णाेद्धार गर्न चन्दा दिँदै आएका दाता किसलाल धिमें, बाँँसुरीलगायत नेवारी बाजाका संरक्षक र गुरु पनि हुनुहुन्छ । त्यसैले उहाँको जन्कुमा उहाँले सिकाएका  गःछें मंका खलः, धिमय खलः र च्वबुटोल गाःहिटी मंका खलःका धिमे र बाँसुरीवादकहरु परम्परागत नेवारी पोसाकमा सहभागी भएर जन्कुलाई आकर्षक र साङ्गीतिक बनाएका थिए ।

शंखमुल, यंतापौ टोलस्थित ज्यापु निवास (जन्कु घर) बाट किसलाल ‘बा’ र दुईजना आमा नानीमाया र न्हुच्छेमायाको जन्कु गरिरहँदा संयुक्त परिवारमा रहेको उक्त परिवारका जेठा छोरा/बुहारी नाति महर्जन र राममाया महर्जन, माइला छोरा/बुहारी तिर्थलाल र चन्द्रकुमारी मर्हजन, साँहिला छोरा/बुहारी हिराकाजी र ज्ञानी महर्जन तथा कान्छा छोरा/बुहारी विक्की र मिना महर्जन सहभागी थिए ।

यसैगरि तीनजना छोरीहरु योमाया महर्जन, कृष्णमाया महर्जन र सानुमाया महर्जन र ज्वाँईहरु पनि जन्कुमा सहभागी थिए । यसैगरि नाति नातिनीहरु रमेश, राजमान, विश्व, प्रमिता, एलिसा, विकास, पासा, प्रमिला, विशान र विनीशा पनि जन्कुमा व्यस्त थिए ।

किसलाल ‘बा’ को जन्कुका अवसरमा उहाँका पनातिद्वय कृभान (विश्व र कृपा महर्जनको छोरा) र आयुन्स (विकास र सुनिता महर्जनको छोरा) व्रतवन्ध र पनातिनी निष्ठा महर्जन तथा पञ्चलाल महर्जनको नातिनी अनिल महर्जनको छोरी सन्सा महर्जनको वेलविवाह गरिएको थियो ।

नेवारी संस्कृति र परम्परा अनुसार पूजाआजा गरेर विशेष किसिमले सजाएको तीन वटा अलग अलग रथमा किसलाल ‘बा’ का साथै उहाँकी पत्निद्वय नानीमाया र न्हुच्छेमायालाई राखेर उहाँहरुका छोरा/बुहारी, नाति/बुहारी, नातिनी, पनाति/पनातिनीले तानेका थिए । देवरथारोहण गरिएका तीन वटा रथ अगाडि पछाडि धिमें, बाँसुरी बजाएर नेवारी परम्परा अनुसारको पोशाक लगाएर शंखमुल र ललितपुरका सयौंको संख्यामा ज्यापु समुदायका महिला पुरुष नाच्दै हिँडेका देखिन्थे । देवरथारोहण कमैमात्रामा देखिने भएकोले बाटोभरी रथयात्रा हेर्न ललितपुरका ज्यापु समुदायदेखि बटुवासम्म दंग परेर हेर्दै थिए ।

जन्को घर (ज्यापु निवास) बाट शुरु भएको देवरथारोहण कार्य यंतापौ गणेश मन्दीर हुँदै गणेश मार्गको चारदोवाटो, शंखमुल पुल, चामुण्डा माई, सैथु गणेश, वैलाछें, तुंचा, तासिको, गाःहिटी, कोवहाल, बंगलामुखी, झातापोल, क्वाल्खुचोक, पटको, भिन्द्यो, मंगलबजार, हौगल टोल, चुकवहा द्यो,वुन्द्यो –मच्छिन्द्रनाथ तःवहाल हुँदै फेरी जन्कु घरमा फर्किएर टुङ्गिएको थियो ।

जन्को घरको एक तल्ला माथिको झ्यालबाट घरभित्र प्रवेश गराई विधिपुर्वक पूजाआजा गरिएपछि शंखमुलस्थित यलः दरवार भेन्यू (पार्टी प्यालेस)मा लगेर नेवारी परम्परा अनुसारको भोज गराइएको थियो । त्यहाँ देवराथारोहण गरेका मर्हजन दम्पतीबाट सर्वसाधारण र आफन्तजनले आशीर्वाद र टिका ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्