सत्ता गठबन्धनबीच ६८ जिल्लामा चुनावी तालमेलमा सहमति



काठमाडौं  । 

सत्ता गठबन्धनबीच ६८ जिल्लामा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति भएको छ । केन्द्रको निर्देशनअनुसार ९ जिल्लाबाहेक बाँकी जिल्लामा तालमेलको सहमति जुटेको हो ।

गठबन्धनका शीर्ष नेताले स्थानीय तहमा गठबन्धन गर्न निर्देशन दिएसँगै जिल्ला तहमा धमाधम सत्ता गठबन्धनको बैठक बसेर चुनावी तालमेलमा सहमति जुटाउने प्रक्रिया अघि बढेको छ ।यसैबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको पाँचदलीय गठबन्धनको बैठकले मातहतको संयन्त्रलाई वैशाख ४ गतेसम्म स्थानीय तहको वस्तुस्थिति पठाउन समय थप गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिनुभएको हो । उहाँका अनुसार बैठकले चुनावी तालमेलको मोडालिटी बनाउने भनिए पनि मातहत संयन्त्रबाट प्रतिवेदन प्राप्त नभएकाले निर्णयमा पुग्न सकिएन । सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने निर्णयसँगै सिट बाँडफाँडको विषय भने पेचिलो बन्दै गएको छ ।

चुनावी तालमेलका लागि कर्णाली प्रदेशका ७, लुम्बिनी र गण्डकी प्रदेशका एक–एक जिल्लामा मात्र सैद्धान्तिक सहमति हुन बाँकी छ । जिल्ला तहमा सहमति जुटे पनि स्थानीय पालिकामा भने कांग्रेस, माओवादी र एकीकृत समाजवादी र जसपाको आ–आफ्नो दाबी रहँदै आएको छ ।प्रदेश १ का १४ जिल्लामै गठबन्धनबीच चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति भइसकेको छ । सत्ता गठबन्धनले मधेस प्रदेशमा चुनावी तालमेलका लागि छलफल तीव्र पारेको छ । चुनावी तालमेलको सैद्धान्तिक सहमति गरेका गठबन्धनका पाँच दलबीच उक्त सहमति कार्यान्वयनका लागि प्रत्येक जिल्लामा प्रदेश प्रतिनिधि खटाइने भएको छ ।

त्यसै गरी बागमती प्रदेशमा सत्ता गठबन्धनलाई मजबुत बनाएर स्थानीय तह निर्वाचनमा चुनावी तालमेलको तयारी अन्तिम चरणमा पुगेको छ । गठबन्धनबीच १३ जिल्लामै चुनावी तालमेलको सैद्धान्तिक सहमति जुटेको छ ।गण्डकी प्रदेशका ११ जिल्लामध्ये १० जिल्लामा गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति भइसकेको नेता गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनको चुनावी तालमेल केही जिल्लामा कार्यान्वयन तहसम्म पुगेको छ ।

चुनावी तालमेल गर्न सात आधार तय

सत्तारुढ गठबन्धनले सिट बाँडफाँटका लागि सात आधार तय गरेको छ । गठबन्धनले वैशाख पहिलो साता मात्र सिट बाँडफाँट टुंगो लगाउने गरी चुनावी तालमेलका आधारहरु तय गरेको हो ।

सत्तारुढ पाँच दलका शीर्ष नेताको मंगलबार बसेको बैठकले तालमेलका ७ आधार तय गर्दै तालमेलबारे निर्णय गर्ने संयन्त्र बनाउने निर्णय गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले तालमेलको आधार तयार पारिएको बताउनुभयो । गठबन्धनले एकीकृत समाजवादीलाई एमालेबाट फुटेर बनेको प्रमुख शक्तिका रुपमा स्वीकार गरेको छ । साथै २०७४ को स्थानीय तहको जनमत, अरु दल विजयी भएको स्थानमा सत्तारुढ दलका उम्मेदवारले पाएको मत, वर्तमान संगठनात्मक अवस्थालाई आधार मानेर सिट बाँडफाँड हुनेछ ।

२०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख पदमा विजयी एकीकृत समाजवादीका उम्मेदवारहरुलाई मान्ने, ०७४ को स्थानीय निर्वाचनमा दलका उम्मेदवारले पालिका र वडामा पाएको मतको मतभार, २०७४ को स्थानीय निर्वाचनमा विजयी नभए पनि स्थानीय तहमा उपस्थित रही यथासक्य गठबन्धनमा सहभागी र ०७४ को स्थानीय निर्वाचनमा गठबन्धनबाहेकका दल विजयी भएका स्थानमा गठबन्धनभित्रका दलहरुले प्रमुख पदमा पाएको मतलाई पनि आधार बनाउने निर्णय गरेको छ । एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा उक्त पार्टीलाई नेकपा एमाले विभाजित भएर बनेको मुख्य शक्तिका रुपमा स्वीकार गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्