स्थानीय तह निर्वाचन २०७९ : १६ गतेबाट मतपत्र छपाइ हुँदै



काठमाडौं ।

जनक शिक्षा सामग्री संस्थानले चैत १६ गतेबाट मतपत्र छपाइ शुरू गर्ने भएको छ । निर्वाचन आयोगले हिजो आइतबार अन्तिम मतदाता नामावली सार्वजनिक गरेपछि मतपत्र छपाइ गर्न दिने निर्णय गरेको हो । करिब २ करोड मतपत्र छपाइका लागि ९ वटा मेसिन तयारी अवस्थामा रहेको संस्थानले जनाएको छ ।

संस्थानका महाप्रबन्धक अनिलकुमार झाले मतपत्र छपाइका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘आयोगका आयुक्तसहितको टोलीले जनकको छापाखानाको अवलोकन गरेलगत्तै काम गर्न पत्र दिएको हो । संस्थानले बुधबारबाट छपाइ शुरू गर्नेेछ ।’ उच्च सुरक्षा निकायले केन्द्रको सुरक्षा अवस्थाबारे जानकारी लिइसकेको छ । आयोगले प्रेसको अवस्था र छपाइको क्षमतालगायतको विषयमा जानकारी लिएपछि मतपत्र छपाइ गर्ने निर्णयसहितको पत्र संस्थानमा पठाएको हो ।

मतपत्र छाप्नुअघि सबै मेसिन र छपाइ गर्ने स्थल सुरक्षा टोलीले जिम्मा लिनेछ । त्यसपछि सबै आधार र आवश्यक क्षेत्रमा सीसीटीभी जडान गर्न निर्देशन दिनेछ । संस्थानका प्रवक्ता चित्रकुमार आचार्यले छपाइ गर्न तीन तहको सुरक्षा घेरा हुने जानकारी दिँदै भन्नुभयो–‘पहिलो घेरा नेपाली सेनाको हुनेछ । दोस्रोमा सशस्त्र र अन्तिम सुरक्षा घेरा नेपाल प्रहरीको हुनेछ ।’ सरकारले मतपत्र सुरक्षार्थ करिब १ सय ५० सुरक्षाकर्मी परिचालन गर्नेछ । त्यसमा झन्डै सयको हाराहारीमा नेपाली सेना परिचालित हुनेछ ।

तीन तहको सुरक्षा घेराभित्र मतपत्र छपाइ गर्न उच्च सुरक्षा संयन्त्र परिचालन हुने तथा कर्नेलको नेतृत्वमा नेपाली सेनाले मतपत्र छपाइ गर्न पहिलो घेराको सुरक्षा दिनेछ । संस्थानका अनुुसार १५ गतेबाट सुरक्षाकर्मीको आगमन हुने र १६ गते सबै तयारीपछि मतपत्र छपाइ हुनेछ ।

हरेक निर्वाचनमा मतपत्र छाप्ने जिम्मा संस्थानले नै लिएको छ । संस्थानका प्रवक्ता आचार्यले भन्नुभयो– ‘२०३६ सालको जनमत संग्रहदेखि नै मतपत्र छपाइ गर्ने जिम्मा लिँदै आएका छौं । ४२ वर्ष भयो, सबै निर्वाचन र जनमत संग्रहमा समेत संस्थानबाटै मतपत्र छाप्ने गरेका छौं ।’

संस्थानले ६ हजार ७ सय ४३ वडाका करिब २ सय प्रकारका पौने ६ लाख मतपत्र छपाइ गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले ६ हजार ७ सय ४३ मतपत्र छपाइ गर्न जनकशिक्षा सामग्री संस्थानलाई पत्राचार गरेलगत्तै जनकशिक्षाले सो तयारी गरेको हो । जनक शिक्षाले मतपत्र छाप्न शुरू गरेको दुई सातामै सबै छपाइ गर्नेछ । आयोगले अघिल्लो निर्वाचनको तुलनामा यो निर्वाचनमा करिब २० दिन ढिला गरी मतपत्र छाप्न पत्र पठाएको हो ।

छपाइ मात्र गर्ने भए एक सातामा सकिने तर मतपत्रमा नम्बर राख्नेदेखि परफेटिङ गर्नेसम्मको काम भएकाले केही दिन लाग्न सक्ने संस्थानको भनाइ छ । संस्थानले मतपत्र ढुवानीबाहेकका सबै काम गर्नेछ । आयोगका अनुसार निर्वाचनमा सबै स्थानीय तहका लागि फरकफरक मतपत्र हुनेछन् । महाप्रबन्धक अनिलकुमार झाले जनक शिक्षा संस्थानले तोकिएकै समयमा सबै मतपत्र छपाइ गर्न सक्ने बताउनुभयो ।

७७ जिल्लामै मुख्य निर्वाचन अधिकृत तोकियो
निर्वाचन आयोगले जिल्लामा निर्वाचन सम्पन्न गराउने प्रतिनिधिको रूपमा रहने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार आगामी चैत्र २९ गतेदेखि लागु हुने गरी ७७ मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ निर्वाचन अधिकृत तोकेको हो ।

आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम् न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । जिल्लाका अन्य स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरू र निजामती सेवाका उपसचिवहरू रहने गरी निर्वाचन अधिकृत तोकिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो–‘तोकिएका मुख्य निर्वाचन र निर्वाचन अधिकृतलाई चैत्र मसान्तदेखि वैशाख २ गतेसम्ममा अभिमुखीकरण तालिम दिनेछौं । त्यसपछि स्थानीय तहमा खटाउनेछौं ।’

अभिमुखीकरणपछि ती निर्वाचन अधिकृतलाई ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहमा खटाइनेछ । त्यसभन्दा अघि देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत कार्यालयको स्थापना गरिनेछ । यसैबीच आयोगले स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न गाउँपालिका/नगरपालिकासँग समन्वय गरी जिल्ला प्रशासन कार्यालयबाट आवश्यक व्यवस्था गराउन सरकारलाई आग्रह गरिसकेको छ ।

स्थानीय तह निर्वाचन ऐनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन सम्पन्न गराउने आयोगको प्रतिनिधिका रुपमा तोकिएको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ८ (२) मा मुख्य निर्वाचन अधिकृतले आफूलाई तोकिएको जिल्लाको सदरमुकाम रहेको स्थानीय तहको निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकारको प्रयोगसमेत गर्ने उल्लेख छ । ऐनमा उनीहरूको काम आयोगको निर्देशनको अधीनमा रही आफूलाई तोकिएको जिल्लाभित्रको निर्वाचनसम्बन्धी कामको समन्वय र सुपरीवेक्षण गरी आवश्यक निर्देशन दिने भनी उल्लेख छ । निर्वाचन अधिकृतले नै सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत लगायत अरू कर्मचारी नियुक्त गर्नेछन् ।

निर्वाचन कार्यक्रम अनुरुप उम्मेदवारको मनोनयन दर्ता, मनोनयन उपर उजुरी लिने, उजुरी उपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिन्ह दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्