टाउकाको चोट



विश्वमा टाउकोको चोटबाट प्रत्येक वर्ष १२ लाख मानिसको मृत्यु हुनेगरेको डरलाग्दो तथ्यांक छ । विश्व टाउकोको चोट जनचेतना दिवसका अवसरमा त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल (त्रिवि) मा सार्वजनिक गरिएको तथ्यांकलाई हेर्दा नेपालको भूबनोट, गोरेटो, घोडेटो, सार्वजनिक सडक, सार्वजनिक सवारी साधनको क्षमताभन्दा बढी यात्रु राख्नुपर्ने बाध्यता, सवारी चालकहरुले पालना गर्नुपर्ने नीति नियमको उल्लंघन लगायतका बिषयलाई व्यवस्थित र मर्यादित बनाउन नसकेको अवस्थाका कारण नेपालमा पनि टाउकाको चोटले ठूलो परिमाणमा नागरिकको मृत्यु भइरहेको छ ।

नेपालमा सवारी दुर्घटनामा परी दैनिक रुपमा थुप्रै व्यक्तिहरुको अंगभंग हुनुका साथै अकालमा ज्यान गैरहेको घटनाले सिंगो परिवार, टोल र गाउँ नै शोकमा डुबेका घटना छन् । यसरी ज्यान गुमाउने तथा अंगभंग हुने परिवारका आश्रित सदस्यहरुमा थप आर्थिक, सामाजिक समस्या बढेको देखिन्छ । सवारी साधनको अनिवार्य बीमा हुनुपर्ने र सबै यात्रुहरुले उपचार लगायतको क्षतिपूर्ति, सवारी साधनको क्षतिपूर्ति बीमाबाट हुने व्यवस्था गर्नेतर्फ सरकारको ध्यान गएको छैन । विमान दुर्घटनामा पर्नेले पाउने क्षतिपूर्ति र स्थल सवारी दुुर्घटानका बिरामीलाई हेर्ने र गर्ने व्यवहार फरक छ । दुर्घटनामा परेका कति बिरामी उपचार खर्च जुटाउन नसकेर ज्यानै गुमाएको देखिन्छ । कतिपय सवारी दुर्घटनामा पर्ने व्यक्तिको घर–ठेगाना खुलेकै हुन्न, बाटोमा यात्रा गर्दा दुर्घटना भएको व्यक्तिको उपचारको लागि सबैभन्दा पहिला अस्पताल पुर्‍याउने नेपाल प्रहरी र सर्वसाधारण नागरिक हुन्छन् । अस्पतालमा बिरामी पुर्‍याउने व्यक्तिले घाइतेको उपचारको जिम्मा लिई रकम जम्मा गर्नुपर्ने सम्मको दायित्व थोपरिन्छ । यसले गर्दा घाइतेलाई उपचारका लागि अस्पताल पुर्‍याउनसमेत नागरिकले पछिहट्ने गरेको सुरक्षाकर्मीको भनाइ छ । त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा सडक दुर्घटना, रुखबाट, भीरबाट लडेर घाइते भएका, मादक पदार्थ सेवन गरी चोटलागेका घाइते बिरामी उपचारका लागि अन्तिम अवस्थामा अस्पताल पुर्‍याइने हुँदा अंगभंग हुने, पूर्णरुपमा उपचार नलाग्ने र मृत्यु समेत हुने गरेको छ । अस्पतालमा चिकित्सक, नर्स, आईसियु, भौतिक संरचना, उपकरण लगायतको अभावले गर्दा त्रिविमा पुगेका टाउँकोमा चोट लागेका बिरामीको त्रिविमै उपचार सम्भव नहुने अवस्था पनि छ । विश्वमा प्रत्येक वर्ष ६ करोड ९ लाख मानिसलाई विभिन्न कारणबाट टाउकोमा चोट लाग्छ । यस तथ्यांकलाई नियाल्दा प्रत्येक दिन ८ सय ८२ जना अर्थात् एक घण्टामा ३४ जनालाई टाउकोमा चोट लाग्छ । यसमध्ये ४० प्रतिशतको मृत्यु हुन्छ भने टाउँकोमा चोट लागेका मध्ये २० प्रतिशतलाई सघन उपचार कक्षमा राखी विशेष उपचार गर्नुपर्नेहुन्छ । सघन उपचार कक्षमा राखेका बिरामीमध्ये २० प्रतिशतको शल्यक्रियाका माध्यमबाट उपचार गर्नुपर्ने हुन्छ ।

यस विषयमा नेपाल सरकारको ध्यान पुग्न नसकेको चिकित्सक तथा स्वास्थ्य संस्थाहरुले औल्याएका छन् । यस्ता विषयमा राजनीतिक दल, नेतृत्व पक्ति, सर्वसाधारण, उद्योगी, व्यवसायी, सवारी चालकका साथै यात्रु स्वयम्ले पनि आवश्यक मात्रामा ध्यान दिएको देखिन्न । वास्तवमा व्यक्ति भन्नु नै उसको मस्तिष्क हो जो टाउकोभित्र हुन्छ । त्यसैले टाउको बचाउन विशेष पहल र प्रयास हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्