छत्रकोट र रूरूका किसान व्यावसायिक खेतीमा



गुल्मी ।

गुण र खुदोका लागि प्रख्यात गुल्मीको छत्रकोटको दिगाम र रूरूको थानपतिका कृषकलाई अहिले भाइनभ्याई छ । उनीहरूले ग्रामीण क्षेत्रका पाखो बारीमा लगाएको उखुको रसबाट खुदो र गुड बनाएर बजारमा बिक्री गर्ने गरेका छन् ।

उखुका लागि थानपति, बलेटक्सार, हर्दिनेटा, थोर्गा र दिगाम गुल्मी जिल्लाकै पकेट क्षेत्रका रूपमा चिनिन्छन् । यस क्षेत्रका कृषकले परम्परागत शैलीमा गर्र्दै आएको उखुखेतीलाई प्रविधिको विकाससँगै आधुनिक मेसिनको प्रयोग गर्ने गरेका छन् । यी क्षेत्रमा उत्पादन भएको गुड र खुदो रिडी, पाल्पा, बुटवल, पोखरा, काठमाडौंलगायतका शहरदेखि विदेशसम्म प्रख्यात छ । जिल्लाबाट अन्यत्र शहरमा जानेहरुले गुल्मीको गुड र खुदो कोसेलीका रूपमा लैजाने गरेका छन् । गुड तथा खुदोबाट वार्षिक करिब ३० लाख बराबरको कारोबार गर्ने गरेको कृषक नारायण ज्ञवाल बताउनुहुन्छ ।

गाउँमा सामान्य उखुखेती गर्ने कृषक पछिल्लो समय व्यावसायिक खेतीमा तल्लीन हुन थालेका छन् । जिल्लाभित्रका बिभिन्न स्थानमा २ सय रोपनीभन्दा बढी जग्गामा उखुखेती गर्दै आएका छन् । उत्पादन भएको खुदो प्रतिलिटर १ सय रुपियाँदेखि १ सय ८० रुपियाँ, सादा गुडको १ सय ७० र मसलावाला गुडको २ सय ५० रुपियाँमा प्रतिकिलो बिक्री हुने गरेको उहाँको भनाइ छ ।

गाउँमै सञ्चालन भएका केही उद्योगले स्थानीयलाई समेत रोजगारी दिएका छन् । स्थानीयस्तरमै पाएको रोजगारीले घर खर्च र छोराछोरीलाई पढाउन सहयोग मिलेको स्थानीय विष्णु अप्तरी बताउनुहुन्छ ।

उखु किसानलाई उखु ब्लक कार्यक्रममार्फत बीउ, पकाउने भाँडा, मेसिनलगायतका सामग्री अनुदानमा दिइएको रूरूक्षेत्र गाउँपालिका–३ का वडाध्यक्ष शेषनारायण पौडेलले बताउनुभयो । थोर्गेली खुदो र गुडको ब्रान्डले देशका विभिन्न स्थानमा स्थानीय उत्पादन पुर्याउने गरेको छ । त्यस्तै, छत्रकोट गाउँपालिका दिगाम–मानकोट र हर्दिनेटा र रूरू गाउँपालिका विभिन्न ब्लगमा उखुको व्यावसायिक उत्पादन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्