सामुदायिक विद्यालयमा खेलकुद शून्य



पोखरा ।

पोखरामा यतिबेला सामुदायिक विद्यालय स्तरीय भलिबल प्रतियोगिता चलिरहेको छ । कास्की जिल्ला भलिबल संघ र सृर्जना विकास केन्द्रको आयोजनामा कास्की जिल्लाभित्र रहेका सामुदायिक विद्यालयहरु बिच प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिताले खेलाडी उत्पादन गर्ने र भलिबल खेलको विकास गर्ने लक्ष्य बोकेको छ । यतिमात्र होइन प्रतियोगिताबाट दुई खेलाडीलाई छात्रवृत्ति समेत प्रदान गरिने छ । प्रतियोगितामा महिला पुरुष गरी ३२ विद्यालयको सहभागिता रहेको छ । तर पोखरा १ बगरमा रहेको संस्कृत मा.विको भने सहभागिता छैन् ।

यो प्रतियोगितामात्र होइन उक्त विद्यालयले कुनैपनि प्रतियोगितामा सहभागिता जनाउँदैन् । पोखरा महानगरपालिकामा मात्रै २ सय ७ सामुदायिक विद्यालयहरु रहेका छन् । त्यसमध्ये अधिकांशको समस्या संस्कृत माविकै जस्तो रहेको छ ।

संस्कृत मावि अन्य विद्यालय भन्दा फरक छ । विद्यालयमा ३ विषय अंग्रेजी, नेपाली र संस्कृतको मात्रै पढाई हुन्छ । त्यतिमात्र होइन विद्यालयमा पर्याप्त खेल मैदान पनि छ । विद्यालयले भलिबल कोर्ट बनाउनका लागि लागिपरेको थियो तर अहिले उक्त स्थानमा भवन खडा गरेको छ । खुल्ला चौर मासिदैछ । विद्यालयले खेलकुदपनि एउटा विषय हो भन्ने कुरा बुझ्न सकिरहेको छैन ।

केहि समय अघि नीति विद्यालयको संस्था हिसानले पनि खेलकुद गतिविधि गरेको थियो । उक्त प्रतियोगितामा ७१ विद्यालयले सहभागिता जनाएका थिए । हिसान कास्कीका अध्यक्ष यमबहादुर रोकाले विद्यालय नै खेलाडी उत्पादन गर्ने थलो रहेको बताउँछन् ।

नाम नभन्ने सर्तमा एक विद्यार्थीले आफुहरु खेल्न थाल्यो भने गुरुहरुले गाली गर्ने कुट्ने गरेको बताए । उनले खेल्ने वातावरण विद्यालयमा नभएको बताए । विद्यालयले खेललाई मात्र प्राथमिकता दिनुपर्छ भन्ने होइन । पढाइलाई नै महत्व दिनुपर्छ । तर विद्यार्थीको अधिकारबाट बञ्चित भने गराइनु हुदैँन । विद्यार्थीका अनुसार खेल्यो भने विग्रन्छ भन्दै खेल्न बन्देज लगाइएको छ ।

विद्यालयले खेलकुदालाई समेत अगाँलेका छन् ती विद्यालयले उत्तिकै अब्बल पनि छन् र विद्यार्थीको संख्या समेत उतिकै लोभलाग्दो छ । पोखराका अमरसिंह मावि, राष्ट्रिय मावि, जनप्रिय मावि, विन्धवासिनी मावि लगायत विद्यालयले खेलकुदलाई समेत अगाँलेको पाइन्छ । उनीहरुको खेलगतिविधि महानगरमा मात्रै सिमित छैन देशमै पुग्ने किसिमका छन् ।

महेस नेपालीले विद्यालयमा पढदा २ पटक मात्रै स्पोट्र्स मिट भएको सुनाए । उनले आफु १० कक्षामा पुग्ने बेलासम्म २ पटकमात्र प्रतियोगिता खेलेको बताए । ‘स्कुलमा त हामी खेल्नै नपाउने यसो खेल्यो की गाली खान पथ्र्यो । गाली नै खाएर भएपनि अटेरी गरेर खेलियो चित्त बुझाइयो’ उनले भने ।

गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव तेज गुरुङले खेलकर्मीकै कम्जोरी रहेको बताउँछन् । उनले खेलकुदको विकासमा खेलकर्मी नै लाग्नुपर्नेमा जोड दिदैँ यसमा अरु कसैको पनि दोष नरहेको सुनाउँछन् । ३ दिन अघिमात्रै पोखरामा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेल पुर्वाधारको अवलोकन र राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक विजेता खेलाडीहरुसंग अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो ।

संस्कृत माविसंगै जोडिएको लिटिल स्टेप र पास्कल एकेडेमीले भने खेलकुदमा लगानीका साथसाथै विभिन्न प्रतियोगिताहरुमा विद्यार्थीलाई सहभागिता गराइरहेको छ । त्यस्तै ग्रामिण विद्यालयहरुले भने विद्यार्थीलाई खेलकुदमा अग्रसरता गराईरहेको पनि पाइन्छ ।

फिजियो थेरापिष्ट डाक्टर खड्क सिंह गुरुङले विद्यार्थीलाई खेलकुदबाट टाढा राख्दा शारिरीक र मानसिक दुवै रुपमा असर गर्ने बताउँछन् । विद्यार्थीलाई वर्षको एक दिनमात्र खेलकुद गराउने र अन्य समय नगराउँदा ठुलो असर पर्ने उनको भनाइ छ ।

सस्कृत मा.वि.का प्रधानाध्यापक गोविन्द सिग्देलले विद्यार्थीलाई वर्षको एक दिन खेल खेलाउने गरेको सुनाए । उनले विभिन्न समयमा प्रतियोगिताहरु आयोजना गरेको बताएपनि विद्यार्थीहरुले भने कुनै खेलकुद नभएको गुनासो पोखे । विद्यालयले समान्य रुपमा पिटी शिक्षक राख्ने चलन रहेको छ तर, त्यहाँ भने पिटी शिक्षक पनि छैनन् । अनौपचारिक रुपमा एक शिक्षक रहेको बताएपनि उनले त्यस विषयमा भने कहिल्यै ध्यान दिदैनन् ।

खेलकर्मी कृष्ण तिमिल्सिनाले राज्यले शिक्षामा खेलकुदलाई नजोड्दा समस्या खडा भइरहेको बताए । उनले विद्यालय नै खेलकुदको नर्सरी रहेकाले राज्यले नै नीति बनाएर अघि बढ्नुपर्ने बताउछन् । नीजि विद्यालयले जसरी नै सामुदायिक विद्यालयहरुले पनि खेलकुदलाई समेत प्रतिस्पर्धामा लान सकेमा विद्यार्थीको शैक्षिक स्तरमा समेत वृद्धि आउने उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्