सकियो बलेवा विमानस्थलको धावनमार्गको कालोपत्रे



पर्वत ।

पर्वतको सदरमुकाम कुस्माबजारसँगै जोडिएको बलेवा विमानस्थल धावनमार्ग कालोपत्रे गरिएको छ । निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थलको धावन मार्ग कालोपत्रे गरिएको हो । धावनमार्ग कालोपत्रे गरिएसँगै बलेवा विमानस्थलमा नियमित रूपमा उडान हुने अपेक्षा गरिएको छ ।

तीन वर्ष अघिदेखि निर्माण थाले पनि कोरोना संक्रमणले रोकिएको काम अहिले पूरा भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । निर्माण कम्पनीले विमानस्थलको कालोपत्र चैत मसान्तभित्र काम सकेर हस्तान्तरणको तयारी गरेको छ । विमानस्थल चैत मसान्तभित्र रङरोगन सकेर प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी भएको सो आयोजनाका इन्चार्ज वासु थापाले जानकारी दिनुभयो ।

यो विमानस्थलमा साना तथा मझौला जहाज अवतरण गर्न सक्छन् । ‘सिङ्गो एयरपोर्ट एक प्रतिशत मात्रै स्लोपको छ, त्यसैले यहाँ दुवै साइटबाट जहाज अवतरण गर्न सक्छन्’, उहाँले भन्नुभयो – ‘निर्माणका क्रममा हामीले यो अवस्थामा ल्याउने गरी काम गरेका छौं ।’ कालोपत्र गुणस्तरीय रूपमा गरिएको उहाँले जानकारी दिनुभयो । प्राधिकरणको ८ करोड २४ लाख ३४ हजारमा कालोपत्र गरिएको हो ।

बलेवा विमानस्थलको धावनमार्ग ७ सय मिटर लामो कालोपत्र गरिएको छ । प्राधिकरणका परियोजना व्यवस्थापक सत्यनारायण दुवालले विमानस्थलको नियमित अनुगमन गरेको बताउनुभयो । ‘कोरोनाले समस्या भएर ढिला भए पनि अहिलेको काम सन्तोषजनक छ,’ उहाँले भन्नुभयो– ‘चैत मसान्तमा हस्तान्तरण भएपछि हवाई उडानबारे काम शुरू हुनेछ ।’
यो विमानस्थल सञ्चालन भएमा बागलुङ, पर्वत र म्याग्दीका बासिन्दालाई राजधानी र भैरहवालगायतका स्थानमा हवाईमार्गले जोड्ने छ । बलेवा क्षेत्रका नागरिकले श्रमदानबाट थालेर विसं २०१६ देखि २०१८ सम्म यो मैदान बनाएका थिए । ८ सय मिटर लामो यो विमानस्थलमा २०५० सम्म नियमित जहाज उड्थे ।

बलेवाबाट काठमाडौं, पोखरा र भैरहवाका नियमित उडान भइरहेकोमा पोखरा बागलुङ सडक खुलेपछि रोकिएको बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो । विमानस्थलमा ७ सय मिटर लामो पक्की नालीसमेत बनेको छ । मैदानमा १ हजार ५ सय मिटर लामो घेराबार बनाइएको छ । एउटा मुख्य गेट र अर्को आपतकालीन गेट तयार भएको छ ।

मैदानको सबै भाग एक किमी लामो छ तर हाल ७ सय मिटर लामो क्षेत्रमा तारबार लगाइएको हो । मैदान ६० मिटर चौडा सम्याइएपछि १८ मिटर कालोपत्र भएको हो । हाल कालीगण्डकी करिडोर निर्माणाधीन छ तर नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेपछि भने स्तरोन्नतिको काम पनि ठप्प छ ।

प्रतिक्रिया दिनुहोस्