दुई ढुंगा बीचको तरुल



दुई विशाल मुलुकको बीचमा रहेको नेपाललाई अहिले दुवै मुलुक आफूतिर तान्ने प्रयासमा छन् । छिमेकी भारत आफ्नो आशय तुलनात्मक रुपमा बढी खुला रुपमा राख्छ । पछिल्लो समय विश्वमञ्चमा आफ्नो दर्विलो उपस्थिति जनाउँदै आएको चीनले पनि आफूलाई भारतकै शैलीमा ढाल्नथालेको देखिन्छ ।

नेपालको स्थायित्व र समृद्धिका लागि भारत र चीन उत्तिकै महत्व राख्दछन् । सिमाना जोडिएका दुवै मुलुक स्रोत–साधनका हिसाबले निकै सबल र सहयोगी पनि छन् । दुवैलाई मित्र बनाएर अघि बढ्नु हाम्रालागि एक मात्र राष्ट्रिय हितको विषय हो । तर यी दुवै मुलुक आफ्नो आशय समान रुपमा प्रकट गर्दैनन् । तुलनात्मक रुपमा चीन बन्द स्वभावको छ । यद्यपि चीनको बन्द स्वभाव पछिल्ला वर्षहरुमा खुला हुँदैआएको अनुभव गर्नसकिन्छ । पार्टी–पार्टीबीच हुने प्रतिस्पर्धा र विवादमा समेत चीनले चासो राख्न थालेको विगत केही वर्ष यताका घटनाले पुष्टि गर्दछन् । नेपालले अमेरिकी सहयोग एमसीसी परियोजना संसद्बाट पारित गरेपछि भने चीन नेपालप्रति शंकालु बनेको परराष्ट्र विश्लेषकहरु बताउँछन् । नेपाली भूमी प्रयोग गरी कुनै पनि राष्ट्रले चीनलाई कुदृष्टि नलगाओस् भन्ने ध्येय चीनको रहेको छ भने पश्चिमा राष्ट्रहरु नेपाली भूमी प्रयोग गरेर चीनले आफूहरुलाई असजिलो नपारोस् भन्ने चाहना राख्छन् । नेपालले नेपाली भूमी छिमेकी मुलुक विरुद्ध प्रयोग हुन नदिने सार्वजनिक प्रतिवद्धता व्यक्त गरेपनि चीन भने ढुक्क हुनसकेको देखिदैन । नेपालमा अमेरिकी सहयोग एमसीसी लिने कि नलिने भनेर बहस भइरहेको बेला चीनले सार्वजनिक रुपमा नै एमसीसीको विपक्षमा अभिव्यक्ति दिएको थियो । चीन आफूले अघि सारेको महत्वाकाक्षी परियोजना बिआरआई नेपालले लागू गरोस् भन्ने पक्षमा रहेको छ । नेपालले अमेरिकी सहयोग एमसीसी संसद्बाट पारित गरेपछि चीनले नेपाललाई अझै चासो दिएर हेर्न थालेको छ । चिनिया राष्ट्रपति सी जिनफिङको सन्देश लिएर विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणमा आउँदै छन् । वाङले राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेतासँग समेत छुट्टाछुट्टै भेटगर्ने कार्यतालिका सार्वजनिक भएको छ । भ्रमणको उद्देश्य के हो भन्ने बारेमा भने दुवै देशले अहिलेसम्म केही बताएका छैनन् । विदेशमन्त्री वाङको यस भ्रमणलाई लिएर कूटनीतिक वृत्त भने सशंकित छ ।

यस अवस्थामा नेपालले अत्यन्त प्रष्ट र तार्कित कूटनीतिक व्यवहार देखाउनसक्नुपर्छ । विदेशमन्त्री वाङको सम्मान छाती खोलेर गर्नसकियो भने छिमेकी चीनको आशंका स्वतः समाप्त भएर जानेछ । उनको स्वागतमा डब्लुसिसी निरपेक्ष रहेर चिनिया बिआरआईलाई स्वागत गरे भैहाल्यो । हामी विदेशी मुलुकको दानदातव्यमा चलिरहेको तीतो यथार्थ हो, बढी आडम्बर देखाउन र कसैलाई चिढाउन हामीलाई सुहाउँदैन । सगरमाथा, बुद्ध, सीता, जनक र भृकुटीका नाम जपेर ठूलो बन्नखोज्नु अब जग हँसाउनु मात्र हो । पृथ्वीनारायणका पालामा हामी दुई ढुंगाको तरुल थियौं, अब त ढुंगाहरु थपिएका छन्, चट्टानहरुबीचको तरुल बन्न पुगेका छौं । यस सत्यलाई बुझ्नु आवश्यक मात्र होइन अनिवार्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्