शिक्षकको तुलना कुनै पनि नेतासँग हुन सक्दैन



स्याङ्जाको वालिङ नगरपालिका–१ रामबाच्छाका यमकान्त खनालले लामो समय शिक्षण पेसा अँगाल्नुभयो । शिक्षण पेसा र साहित्य लेखनलाई सँगसँगै अगाडि बढाएका खनाल नेकपा एमालेमार्फत राजनीतिमा समेत जोडिनुभएको छ । लामो शैक्षिक अनुभव बटुलेका अवकासप्राप्त उहाँ अहिले नेकपा एमाले वालिङ नगर कमिटीको सचिव हुनुहुन्छ । आसन्न स्थानीय तहको निर्वाचनमा खनाल नेकपा एमालेबाट मेयरको उम्मेदवारका रूपमा दावी गरिरहनुभएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रम, अनुभव र सम्भावनाबारे उहाँसँग नेपाल समाचारपत्र दैनिकका स्याङ्जा संवाददाता अमृत अर्यालले गरेको कुराकानीको सारसंक्षेप :

लामो समय शिक्षण पेसामा रहनुभयो, यो अवधिमा कस्ता कुराले मन छोयो ?
मलाई के लाग्छ भने चार दशक कुनै एउटा काम निरन्तर गरिरहनु राम्रो कुरा रहेछ तर अरू कुनै पनि कामभन्दा शिक्षक हुनुले आफूमा रहनुपर्ने गुणबारे म सचेत छु । एउटा सिकारुका लागि सिकाइ वातावरणको महत्व आफूले बुझ्न र बुझाउन लाग्ने कार्यमा म शिक्षण सेवाबाट अलग भएर पनि सक्रिय छु । विभिन्न विद्यालयमा गरी करिब १५ हजार विद्यार्थीलाई सिकाउने अवसर पाएँ । जीवनमा अहिलेसम्म एउटा पनि खराब विद्यार्थी मैले भेटेको छैन । राम्रो वातावरण दिन सक्दा मान्छे खराब हुने भन्ने नै हुँदोरहेनछ भन्ने सिकाइलाई ठूलो उपलब्धि ठानेको छु ।

तपाईंको पृष्ठभूमि हेर्दा राजनीतिमा निकै चासो राखेको देखिन्छ, शिक्षकका लागि यो राम्रो हो र ?
एउटा शिक्षकको कुनै पनि नेता राजनेतासँग तुलना नै हुँदैन । मान्छेका लागि आमा, बाबा र शिक्षकको भूमिकाभन्दा पर रहन्छ अभिनेता, नेता तथा राजनीतिक व्यक्तित्वको भूमिका । एउटा बालकले आफ्नो शिक्षकसँग गर्ने अपेक्षाको अरुसँग तुलना हुनसक्छ ? त्यो आशामा स्वार्थ हुँदैन, छलछाम हुँदैन, अविश्वास हुँदैन, खाली विश्वास मात्र हुन्छ । राजनीतिक मानिसमा ती गुण रहे भने समाजको ह्वात्तै आमूल परिवर्तन हुन्छ । पुराणमा वर्णित श्रीकृष्णको द्वारिका, महाथिरको थाइलेन्ड या मनमोहनको सामाजिक सुरक्षा कार्यक्रम जस्तै । म राजनीतिमा गहिरो चाख राख्ने स्वभावको मान्छे हुँ । त्योभन्दा पर शिक्षण सेवा छ । कहिल्यै मेरो सेवा र समर्पणमा राजनीतिक पक्ष अगाडि रहेनन् । शिक्षण अवधिभन्दा राजनीतिक चेतना प्रसारको अवधि अझ लामो छ । तर पनि कहिल्यै विद्यालयमा बिदा लिएर पार्टीको काममा लागिनँ । मैले विदा लिँदा मेरो कक्षा खाली भई विद्यार्थीमा पर्न जाने घाटा कुनै कार्यक्रममा मेरो उपस्थितिको उपलब्धिसँग तुलना हुन नसक्ने पक्षमा म सधैँ सतर्क रहें ।

पार्टीमा तपाईंको योगदान के छ त ?
विद्यालय समयभन्दा बाहिरी समयमा भोक, तीर्खा, निद्रा नभनेर मैले संगठन र पार्टीका लागि लगानी गरेको छु । मेरो पार्टीले मेरो कामको विश्वास गरेर सेवामा रहँदै गर्दा पार्टीको नगर कमिटीको महत्वपूर्ण पदको जिम्मेवारी दिएपछि मेरो भूमिका कतै कमजोर नहुने, विद्यालय र विद्यार्थीहरुले अझ प्रगाढ सेवा पाउने गरि साथीको सहयोग पाएँ । र, मेरा सम्पूर्ण जिम्मेवारीको भारी मित्रलाई बुझाएर सेवा निवृत्त भई विद्यालयको प्रत्यक्ष संलग्नताबाट अलग भएर एकोहोरो रूपमा पार्टी काममा होमिएको छु ।

वालिङ नगरपालिकाको भौगोलिक अवस्था कस्तो छ ?
इतिहासको भीरकोट र गह्रौंकोट, चौबीसे राज्यका केही भू–भाग समेटेर वालिङ नगरपालिकाको स्थापना भएको हो । १४ वटा वडामा विभक्त यो पालिकाको दुई तिहाइ भाग पहाडको भिरालो जमिन र त्यहाँका बस्ती हुन् । एक तिहाइ भागमा रहेको समथर जमिनमा वस्ती, बस्ने घर, बाटाहरुले ढाक्दै गइरहेको छ । वडा विभाजन वैज्ञानिक भइनसकेकाले कुनै ठूला अपायक अनि केही सरल भएको अवस्था पनि छ । खेतीयोग्य जमिनमा पनि अन्न उब्जाउन मल, बीउ, प्रविधि र श्रमिकको व्यवस्थापन नमिलेर कृषक कृषि उत्पादनप्रति सन्तुष्ट छैनन् । आधुनिक प्रविधिको उपयोग गरी उत्पादन गर्न प्रयासरत तरकारी तथा सुन्तला खेती, भैंसी, बाख्रा, कुखुरा, माछा र बंगुरपालनमा लागेका कृषक पेसाप्रति उत्साहित देखिएका छन् । गाउँ बस्तीमा जनघनत्व घटिरहेको छ ।

कृषि पेसालाई उन्नयन गर्न के गर्नुपर्ला ?
मोटरबाटोको सुविधाका लागि जनस्तर र विभिन्न संघ–संस्था तथा सरकारी पहलमा ठूलो धनराशी लगानी भएको छ । यसरी निर्माण भएका ग्रामीण कृषि सडकहरु बस्तीका कृषि उत्पादनहरु बजारसम्म ल्याउन उपयोग हुनुपर्ने हो तर अहिले त बजारका सामग्री बस्तीसम्म पुर्याउन र महँगो भाडा तिरेर आवागमनका लागि मात्र उपयोग हुनाले गाउँको बसाइ खर्चिलो हुने काममा मात्र उपयोग भएका छन् । ग्रामीण बस्तीबाट बसाइँसराइ बढ्नाले चरनक्षेत्र र विगतका बारी, खेत, खरबारी जंगलमा रूपान्तरण भई खेती प्रणाली वन्यजन्तु बाँदर र मृग आदिबाट अतिक्रमित भएको छ । परम्पराका बाँच्ने आधार घैया, फापर, कोदो, मकै, वनका कडुस, खल्लुक, चिलाउने र वाँसलाई घाँसे रुखहरु र भुइँघाँसले विस्थापित गरी कृषकलाई गाउँबाटै आय–आर्जन हुने खेती प्रणालीतर्फ उन्मुख गराउनुपर्ने देखिन्छ ।

स्थानीय तहको पाँच वर्षलाई कसरी नियाल्नुभएको छ ?
स्थानीय तह सञ्चालनमा कानुन बन्दै गरेको, जनप्रतिनिधिहरुले सिक्दै गरेको, कर्मचारीतन्त्र व्यवस्थित हुँदै गरेको सन्दर्भमा वालिङलाई हेर्दा अलमलमै पाँच वर्ष बित्यो । जनप्रतिनिधिहरुको आकर्षक व्यक्तित्व, महत्वकांक्षी उद्गारहरु, स्मार्ट सिटीको हौवा आदिमै जनप्रतिनिधिहरु रमाएर व्यतित भएको यो कार्यकालमा वालिङवासीले गर्व गर्न पाउने कुनै काम भएनन् । राजमार्ग विस्तार, आँधिखोला तटबन्धन, औद्योगिक ग्राम निर्माण सबैतिर प्राकृतिक साधनको दोहन र व्यक्तिका गोजी भर्ने काममै व्यस्त रहे । नगरपालिकाले नगरवासीको मन जित्ने कुनै काममा चाँसो नदेखाएको मात्र होइन संघ र प्रदेशबाट प्राप्त हुने विकास आयोजनामा समेत राजनीतिक दाउपेच सँगाल्दै समय बितायो । संघीय सरकारको स्वास्थ्य कार्यक्रममा स्वास्थ्य बीमा र अस्पतालबाट निर्माणमा भएका कामहरुले थोरै राहत दिलाएका छन् ।

नगरप्रमुखमा पार्टीले तपाईंलाई चुन्ने सम्भावना कति छ ?
वालिङका १४ वडा, १ सय ९७ टोल, शिक्षण संस्था, बैंक तथा वित्तीय क्षेत्र र सहकारी, युवा क्लब र आमा समूह, नदी तटबन्धन, कृषियोग्य जमिन, कृषि फर्म, खेलमैदान, पार्क, पर्यटन, होमस्टे आदि धेरै कुराको पाँचवर्षे, दशवर्षे र बीसवर्षे योजनाको स्पष्ट खाका दिमागमा लिएर पार्टीका तर्फबाट नगरप्रमुखको लाइनमा खडा छु । पार्टी कार्यकर्ताबाट अनुमोदित भई निर्णायक तहसम्म पुगेर उम्मेदवार हुने कुरामा म ढुक्क छु । निर्वाचनका माध्यमबाट ७० हजार जनसंख्यालाई संरक्षक बन्न, ४० हजार मतदाताबाट निर्वाचित भई नगरको भविष्य निर्माण गर्ने कार्यलाई अगाडि बढाउन पनि मलाई पार्टीले उम्मेदवार बनाउँछ ।

वालिङका समस्या, चुनौती र सम्भावना के–कस्ता छन् ?
सिद्धार्थ राजमार्ग र आँधिखोलाको लगभग १० किमि. खण्ड नगरपालिकाको कन्नानीझैं रहेर पूर्व–पश्चिम अलि फैलिएको यस नगरपालिकाको सबैभन्दा ठूलो समस्या सडक यातायात नै हो । अझै पनि निरक्षर वृद्धवृद्धा गाउँबस्तीमा छन् । सबै गाउँबस्तीमा विद्यालय छन्, विद्यालयहरु राम्रा पनि छन् तर सन्ततीलाई राम्रो शिक्षा दिन बजार झर्नुपर्ने चिन्तन र पढे–लेखेर जागिर खान चाहनेले नगरक्षेत्रमा रोजगार नपाउनु आदि कारणले शिक्षामा पहुँच र अवसर नै यहाँको मुख्य समस्या हो । राजमार्गबाट नजिक अनि केही परको बस्ती दागँसियाँ, सिर्सेकोट, कोखे, करादी, बाँखे, कप्राउदी, भोर्ले, ढकालपाखा, ताप्के पैदी आदि गाउँका वासिन्दालाई नगरपालिकाका वासिन्दा भएको आभाष दिलाउनु यहाँको मुख्य चुनौती हो । त्यस्तै, वालिङलाई शैक्षिक हवका रूपमा विकास गरी यहाँका होमस्टेलाई स्तरीय बनाउर पर्यटन प्रवद्र्धन गर्नु, जडीबुटी औषधि, तरकारी र फलफूल खेतीका साथसाथै मेहेनेती, इमानदार तथा कर्मठ नगरवासी यहाँका अवसरहरु हुन् ।

रोजगारीका लागि गाउँबस्तीबाट युवा जनशक्ति बाहिरिने समस्यालाई रोक्न सकिएला त ?
माटोप्रतिको माया भन्नु एउटा भावनात्मक कुरा पनि हो । शिक्षा र संस्कृतिको माध्यमबाट वालिङवासी भएकोमा गौरव अनुभूति गर्ने विविध विषय तयार पार्नु स्थानीय सरकारको दायित्व हो । स्थानीय सरकारले सीधै रोजगारीको व्यवस्था एकैचोटी गर्न सक्दैन तर विभिन्न प्रविधिहरु झिकाएर रोजगारी सिर्जना गर्ने काममा नगरवासीलाई ढाडस र प्रेरणा दिने काम नगरपालिकाले गर्नुपर्दछ । यसरी स्थानीयस्तरमा गाउँघरमा कृषकले उत्पादन गर, त्यसका लागि आवश्यक प्रविधि, बीउ, मल तथा बजार व्यवस्थाको जिम्मेवारी पालिकाले लिन्छ भनेर विश्वास दिलाउन सकेमा घर–परिवार र आफ्नो ठाउँ छोडेर रोजगारीका लागि अन्यत्र जाने परम्परामा अवश्य कमी आउनेछ ।

बजार तथा गाउँबस्तीलाई व्यवस्थित गर्न के गर्नुपर्ला ?
नगरका बजार तथा गाउँबस्ती अहिलेसम्म परम्परागत रूपका या योजना बेगर बनेका छन् । आज जसरी प्रत्येक घरसम्म ट्याक्टर या मोटरसाइकल पुग्ने गरी बाटो खोल्नु आवश्यक भएको छ, ठीक त्यसै गरी अबका केही वर्षमा प्रत्येक घर पोस्टल मेल सर्भिसको पहुँचमा पुग्नुपर्ने दिन आउँदै छ । त्यसका लगि अहिलेको बसाइ, बस्ती व्यवस्था एकीकृत बस्तीमा रूपान्तरण हुनुपर्नेछ । यसका लागि संघीय सरकारका बृहत्तर अयोजना मेगा प्रोजेक्टहरु सक्रिय हुनुपर्दछ र स्थानीय वासिन्दालाई यो आवश्यकताबोध गराउने काम स्थानीय सरकारले गर्नुपर्दछ ।

अन्त्यमा, नगरवासीलाई केही भन्नु छ कि ?
यसअघिको निर्वाचन नतिजाले वालिङ नगरपालिकाको पूर्वाधार निर्माणका लागि दिएको अवसर सदुपयोग हुन सकेन । आगामी स्थानीय तहको निर्वाचनमा योग्य उम्मेदवारलाई विजयी बनाएर नगरको शिक्षा, स्वास्थ्य, रोजगार र स्थायी संरचना निर्माणमा योगदान दिन सम्पूर्ण मतदातासँग निवेदन गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्