निर्वाचन टार्न ‘कलात्मक षड्यन्त्र’ भइरहेको छ : एमाले



काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन हुनेमा आशंका जनाएको छ । सत्ता गठबन्धन अझै निर्वाचन नगराउने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै एमालेले निर्वाचन टार्न ‘कलात्मक षड्यन्त्र’ भइरहेको निष्कर्ष निकालेको छ ।

सोमबार बसेको पार्टी पोटिब्युरोको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन र निर्वाचन आयोगबीच कतिपय संवैधानिक एवं राजनीतिक कुरा भइरहेको टिप्पणी गर्दै विभिन्न बहानामा आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले स्थानीय निर्वाचनमा भरतपुर र सिरहा काण्ड दोहोरिन सक्ने आशंका व्यक्त गर्दै निर्वाचन आयोगसमेत सत्ता गठबन्धनसँग मिलेर एमालेविरुद्ध लागेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘यसपटक हामी मतपेटिका आँखाबाट ओझेल गर्न मञ्जुर गर्दैनौं । काउन्टिङ अन्त्य नभएसम्म अन्तिमसम्म मतपेटिका हाम्रो आँखाअगाडि हुनुपर्छ । विश्वास गर्नुस् भन्ने कुरा हुँदैन । विश्वासको कुराले हुने भए गोप्य मतदान नै किन चाहिन्थ्यो ?’

एमालेको पोलिटब्युरो बैठकमा बामपन्थी पार्टीबीच एकताको प्रस्तावले तरंग ल्याएको छ । स्थायी समिति सदस्य घनश्याम भुसाल र रघुजी पन्तले वामपन्थी एकताको प्रस्तावअघि सारेसँगै बैठकमा नेताहरूले उक्त प्रस्तावको प्रतिवादसमेत गरेका छन् । १० बुँदे सहमति गरेर नेकपा एमालेमा रहने समूहका नेता तथा तत्कालीन कार्यदलका सदस्य भुसाल र पन्तले बैठकमा अध्यक्ष ओलीलाई वामपन्थी एकताको पहल लिन आग्रह गर्नुभएको थियो ।

एमाले नेता शेरबहादुर तामाङका अनुसार बैठकमा नेता भुसालले प्रचण्ड–माधव नेतृत्वसहित अन्य वाम पार्टीहरूबीच एमालेले एकताको नेतृत्व गर्नुपर्ने र पार्टी एकता सम्भव नभए चुनावी एकतासम्म गर्न सकिने प्रस्ताव अगाडि सार्नुभएको थियो । माओवादी केन्द्र र एकीकृत समाजवादीसँग दूरी बढिरहेका बेला नेताद्वयको प्रस्तावको पार्टीभित्र विरोध शुरू भएको छ । तामाङका अनुसार दुई तिहाइको बहुमत प्राप्त सरकार ढालेर, पार्टी विभाजन गरेर कांग्रेससँग सहकार्य गर्नेहरूसँग एकता गर्न नसकिने भन्दै बैठकले भुसालको प्रस्ताव समय सान्र्दभिक नभएको निष्कर्ष निकालेको छ ।

भुसाल र पन्तको सो प्रस्तावमा पोलिटब्युरो सदस्य महेश बस्नेतले भने फरक मत राख्नुभएको थियो । बस्नेतले नेता मिलाएर पार्टी बलियो नहुने भन्दै माओवादीका कार्यकर्तालाई एमालेमा ल्याउन पहल गर्नुपर्नेमा जोड दिँदै अहिले नै प्रचण्ड–माधवसँग सहकार्य गर्न नसकिने टिप्पणी गर्नुभएको थियो । स्थायी कमिटी सदस्य हिक्मत कार्कीले वामपन्थी एकता सुन्दा राम्रो भए पनि विगतका गल्ती समीक्षा नगरी प्रचण्ड–माधव समूहसँग एकताको अर्थ नहुने धारणा राख्नुभएको थियो । यद्यपि, आवश्यकताको आधारमा स्थानीय कमिटीले चुनावी तालमेल गर्न सक्ने बाटो भने खुला राखिएको नेता शेरबहादुर तामाङले बताउनुभयो । उहाँले भन्नुभयो– ‘केन्द्रले घोषित रूपमा कुनै दलसँग चुनावी तालमेल गर्दैन, आवश्यकताको आधारमा स्थानीय कमिटीले निर्णय गरेर चुनाव लड्छ ।’

उम्मेदवार छान्न ६ वटा मापदण्ड
एमाले पोलिटब्युरो बैठकले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्न ६ वटा मापदण्ड तय गरेको छ । उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सोमबार निर्वाचनका लागि ६ वटा मापदण्ड तय गरिएको जानकारी दिँदै भन्नुभयो– ‘जनप्रतिनिधि भएर काम गरेकाहरूको हकमा उनीहरूको कामको मूल्याङ्कन, उनीहरूको कार्यक्षमता तथा विकास र सुशासनलाई आधार बनाउने, लोकप्रियता र चुनावमा विजयको सुनिश्चिततालाई पनि एमालेले उम्मेदवार छनौटको मापदण्ड बनाएको छ ।’

उहाँले पार्टी आन्दोलनमा पुर्याएको योगदान, निष्ठा र समावेशी सन्तुलनलाई पनि आधार बनाएर उम्मेदवार छनौटको मापदण्ड तय गरिएको जानकारी पनि दिनुभयो । बैठकले वडाअध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीको सिफारिसमा गाउँपालिकाले निर्णय गर्ने, गाउँपालिका अध्यक्षको जिल्ला कमिटीले र मेयर उपमेयरको प्रदेश कमिटीले निर्णय गर्ने र महानगरको मेयर र उपमेयरका उम्मेदवार प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले गर्ने निर्णय गरेको छ ।

एमालेले आगामी वैशाख ९ गते घोषणापत्र जारी गर्ने र सोही दिन सबै पालिकामा चुनावी प्रतिवद्धता जारी गर्ने निर्णय गरेको छ । बैठकले स्थानीय तहको निर्वाचनमा आफ्नो विभागीय काममा असर नपर्ने गरी केन्द्रीय कमिटी सदस्यहरू निर्वाचनमा खटिने, पार्टीको क्यालेन्डर बनाउने, ज्येष्ठ नागरिक सम्मान गर्ने लगायतका निर्णय गरेको गुरुङले जानकारी दिनुभयो । अगामी चैत ९ गते बस्ने केन्द्रीय कमिटी बैठकले सचिवालयले गरेका निर्णयको अनुमोदन गर्नेछ । बैठकले आगामी केन्द्रीय कमिटी बैठकका लागि ११ वटा एजेन्डा तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्