‘चिनियाँ विदेशमन्त्रीको भ्रमण, नेपाललाई सुवर्ण अवसर’



काठमाडौं ।

हालै मात्र संसद्बाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित भएको र राजनीतिक दलहरू आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारीमा जुटिरहेका बेलामा आगामी शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गर्दै हुनुहुन्छ । यो भ्रमणलाई जनमानस र कूटनीतिक वृत्तले बेग्लाबेग्लै रूपमा हेरेको छ ।

एमसीसी संसद्बाट पारित गर्ने प्रयास भइरहेको बेलामा अमेरिका र चीनबीच चलेको जुहारीले जनमानसमा चीन एमसीसी विरोधीको रूपमा चित्रित भएको छ । त्यसैले जनमानसमा एमसीसी कार्यान्वयन कुन स्वरूपमा अघि बढ्छ भन्ने सम्बन्धमा चीनको चासो र सरकारले हस्ताक्षर गरेर पनि निष्क्रिय रूपमा रहेको चीनको ‘बेल्ट एन्ड रोड’ परियोजनालाई अगाडि बढाउने प्रयासको रूपमा यो भ्रमणको चर्चा भइरहेको छ । त्यति मात्रै होइन, स्थानीय निर्वाचनअघि हुन लागेको यो भ्रमणलाई जनमानसले पहिला जस्तै कम्युनिस्ट एकताको लागि पहलस्वरूप हुन लागेको रूपमा पनि लिएका छन् ।

तर, कूटनीतिज्ञहरू एमसीसीको विषयमा नेपालका राजनीतिक दलहरूबीच भएको विवादमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी पारित नभए चीन कारक रहेको भनेर अमेरिकाले बुझ्ने भनेपछि मात्र चीनले एमसीसीमा प्रतिक्रिया जनाएको जिकिर गर्दै यो भ्रमणमा चिनियाँ विदेशमन्त्रीले यही कुरा स्पष्ट पार्नसक्ने धारणा व्यक्त गरेका छन् । नेपाल समाचारपत्रसँगको कुराकानीका कुटनीतिज्ञ गोपाल थापाले भन्नुभयो– ‘चिनियाँ विदेशमन्त्रीले एमसीसीमा हाम्रो चासो छैन है भनेर भन्न पनि सक्छन् । तर, हामीले पनि एमसीसी तिम्रो खिलाफमा छैन है, यो केवल आर्थिक विकासको लागि हो भन्ने स्पष्ट पार्नुपर्छ ।’

उहाँले चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण हाम्रो लागि सुवर्ण अवसर भएको जिकिर गर्दै भन्नुभयो– ‘यो बेलामा हामीले खुलेरै चीनसँग तिम्रो चासो के हो, हामी सम्बोधन गर्छौं भनेर भन्न सक्नुपर्छ । हामी चीनको विरुद्ध कसैसँग आर्थिक सहयोग लिँदैनौं, त्यसै गरी चीनसँग पनि कसैविरुद्ध आर्थिक सहयोग लिंदैनौं । बेल्ट एन्ड रोड परियोजना ऋणमा लिन सकिँदैन, अनुदानको रूपमा देऊ भनेर भन्न सक्नुपर्छ ।’

उहाँले डरको कूटनीति होइन, सहास र सन्तुलित कूटनीतिको परिचय दिने बेला आएको जिकिर गर्दै परराष्ट्र मन्त्रालयले ‘समृद्धिका लागि मल्टिएलायन्स, सुरक्षाका लागि नन् एलायन्स’ को नीतिलाई स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै अर्का कूटनीतिज्ञ एवं चीनका लागि पूर्व राजदूत टंक कार्कीले चिनियाँ विदेशमन्त्रीको यो भ्रमण ‘चीन र नेपालबीचको आपसी धनिष्ठ सम्बन्धलाई तेस्रो पार्टीले नबिगारोस्, दुबैलाई दुबैको उतिकै आवश्यक्ता छ’ देखाउनका लागि हुन लागेको धारणा राख्नुभयो । उहाँले कोभिड महामारीकै बीचमा पनि चीनको अन्य देशसँगको द्विपक्षीय हितले गति लिएको तर नेपालको सम्बन्धमा भने कोभिड बहाना बनेको टिप्पणी गर्दै भन्नुभयो–‘चीनसँग उत्तरी नाकालाई सहज बनाउने विषयमा परिणाममुखी छलफल गर्नु जरुरी छ । बेल्ट एन्ड रोडलगायत चीनसँग भएका सम्झौताहरूलाई कार्यान्वयनमा ल्याउन सक्रियता देखाउन जरुरी छ ।’

पूर्व राजदूत कार्कीले विश्व व्यवस्था परिवर्तनको संघारमा रहेको टिप्पणी गर्दै भन्नुभयो– ‘पछिल्लो समय युक्रेनको मामिलामा संयुक्त राष्ट्रसंघको महासभामा राखिएको रूसलाई निन्दा गरिएको प्रस्तावमा भारत, पाकिस्तान, चीन जस्ता मुलुक तटस्थ बसेकोमा नेपालले भने प्रस्तावमा समर्थन जनाएकोले नजानिँदो किसिमले नेपाल रूसविरुद्धको राजनीतिक एलायन्समा देखिएको छ । चीन सायद नेपाल रूसविरुद्धको राजनीतिक एलायन्समा छैन भन्ने कुरा आश्वस्त हुन खोजेको छ ।’ उहाँले नेपालले आफ्नो तटस्थ र सन्तुलनको नीतिलाई भाष्यमा मात्र नभई हाम्रो प्रतिबद्धता र संस्कृति हो भन्ने कुरालाई स्थापित गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

चिनियाँ विदेशमन्त्री शुक्रबार नेपाल आउँदै
परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि शुक्रबार नेपाल आउँदै हुनुहुन्छ । नेपाल भ्रमणको क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । शनिबार परराष्ट्रमन्त्री खड्का र वाङबीच द्विपक्षीय वार्ता हुने पनि मन्त्रालयले जनाएको छ ।

चिनियाँ विदेशमन्त्री वाङले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्