उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुन्छ: मन्त्री झाँक्री



काठमाडौं । 

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकामा घोषणा गरिएका चार नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुने बताउनुभएको छ । उहाँले उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना स्वीकृत गरेर कार्यान्वयनमा लगिने बताउनुभएको हो । मन्त्री झाँक्रीले भन्नुभयो, ‘नयाँ नगरको भौतिक विकास योजना स्वीकृतीका लागि प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने विषयमा गृहकार्य भइरहेको छ ।’

आइतवार साँझ भक्तपुरमा बसेको भौतिक विकास समितिको १६ औं बैठकलाई सम्बोधन गदै उहाँले नयाँ नगरलाई आधुनिक र सुविधा सम्पन्न रुपमा विकास गरिने बताउनुभयो । मन्त्री झाँक्रीले भन्नुभयो, ‘हामीले नयाँ नगर बनाउने भनेको छौँ, यसलाई अझ जनतासँग जोडेर कसरी लैजान सकिन्छ भन्ने बारे पनि हामी सचेत छौँ । यसका लागि भौतिक योजना स्वीकृत गरेर कार्यान्वयनमा लैजान्छौँ ।’मन्त्री झाँक्रीले सरकारले रोकेर राखेको एक लाख रोपनी जग्गा समेत छिटो खुलाउने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो । उहाँले नयाँ नगरको भौतिक योजना स्वीकृतिको लागि छिट्टै क्याबिनेटमा लगिने बताउनुभयो । ‘एउटा प्राविधिक टोली बनाएर यसलाई तत्काल अघि बढाउन गृहकार्य सुरु  गरेका छौँ, उहाँले भन्नुभयो ।

उक्त बैठकमा राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले नयाँ नगर बनाउँदा स्थानीय तहलाई नै जिम्मेवार र जबाफदेही बनाउनुपर्ने बताउनुभयो । उहाँले भौतिक योजना तत्काल स्वीकृत गर्नुपर्नेमा समेत जोड दिनुभयो । सहरी विकास सचिव डा. रमेश प्रसाद सिंहले नयाँ नगरमा पूर्वाधारसहितको काम गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले नयाँ नगरमा जग्गा एकीकरण गर्दादेखि नै पूर्वाधारको काम गर्नुपर्छ ।’ सुविधा सम्पन्न र आधुनिक ढंगले नयाँ नगर निर्माणको काम अघि बढाउन लागिएको बताउँदै सचिव सिंहले अव्यवस्थित सहरीकरणलाई रोक्न नयाँ नगर निर्माणको खाँचो रहेकोमा जोड दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले सहरलाई व्यवस्थित र सुन्दर बनाउन भौतिक योजना स्वीकृत गरेर कार्यान्वयनमा लैजानु पर्ने बताउनुभयो । उहाँले अस्तव्यस्त बन्दै गएको सहरीकरणलाई व्यवस्थित बनाउन पनि नयाँ नगर निर्माणको काम तत्काल अघि बढाउनु पर्ने बताउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश कार्याधिकारी नयाँ नगर बनाउँदा वडा तहसम्मै यसबारे जानकारी गराउनुपर्ने बताउनुभयो । उहाँले नयाँ नगर योजना अघि बढाउँदा अस्पताल, बसपार्क, खेल मैदान लगायतका भौतिक संरचना कहाँ बनाउने भन्नेबारे पहिले नै उल्लेख गर्नुपर्नेमा जोड दिनुभयो ।

पर्यटन सचिव डा.महेश्वर न्यौपानेले नयाँ नगर निर्माणमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताउँदै नयाँ सहरहरूबिचको सम्पर्क र सम्बन्धमा समेत जोड दिनुपर्ने  धारणा व्यक्त गर्नुभयो ।यस्तै कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले भौतिक योजना तत्काल स्वीकृत बनाउनुपर्ने बताउनुभयो । उहाँले लामो समयसम्म जनताको जग्गा रोकेर राख्न नमिल्ने बताउँदै भौतिक विकास योजना स्वीकृत गरेर जग्गा फुकुवा गर्नुपर्नेमा जोड दिनुभयो । जनताको समस्यालाई मध्यनजर गर्दै योजना स्वीकृत गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।

सरकारले २०७४ वैशाख २४ गते काठमाडौं उपत्यकाको चार क्षेत्रमा नयाँ नगर निर्माण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सरकारले एक लाख रोपनी जग्गाको कित्ताकाट रोक्का राख्ने निर्णय गरेको थियो ।

सहरी विकास मन्त्रालय अन्तर्गत रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले चार वटा नयाँ नगरको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ । डिपिआर अनुसार नयाँ नगर निर्माणको लागि भौतिक विकास समितिले नगरको भौतिक विकास योजना स्वीकृत गर्न लागि सहरी विकास मन्त्रालयले गृहकार्य अघि बढाएको छ ।बैठकमा काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल, काठमाडौं उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नारायण भण्डारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्