आमाको नामबाट नागरिकता लिन अझै असहज



काठमाडौं ।

काठमाडौं राताेपुलकी गुञ्जना कुँवर बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय धाएको वर्षौं भयो, तर उहाँले अझैं आफ्नो नामबाट छोरा सफल कुँवरलाई नागरिकता दिलाउन सक्नुभएन ।

सफल अहिले १९ वर्षका हुनुभयो । गुञ्जनालाई जिल्ला प्रशासनका कर्मचारीले छोराको जन्मदर्ता परिवर्तन गरेर आउन भने । उहाँको छोरा सफलको जन्मदर्तामा बाबुको नाम रहेछ । कुँवरले ८ वर्षअघि श्रीमान्सँग सम्बन्ध विच्छेद गर्नुभएको छ । आफूले एक्लै छोरालाई हुर्काएकाले छोराको चाहनाबमोजिम श्रीमान्को नाम नराखी आफ्नो नाममा मात्र छोराको नागरिकता बनाइदिन चाहनुहुन्छ । तर, मिलिरहेको छैन ।

गुञ्जना भन्नुहुन्छ – ‘छोराको नागरिकता मेरो नामबाट बनाउन प्रशासनमा धाएको दुई वर्ष भइसक्यो, अझै नागरिकता बन्न सकेको छैन । यहाँका कर्मचारीलाई ‘जन्मदर्ता परिवर्तनका लागि तपाईंहरू नै सिफारिस गरिदिनुस् भनें । तर, प्रशासनले त्यसो गर्न नमिल्ने बतायो ।’ अहिले ४० वर्षकी गुञ्जनाको विवाह २० वर्षकाे उमेरमा  एक युवासँग भयो । तर, विभिन्न कारण वैवाहिक जीवन टिक्न सकेन । अहिले छोरा सफलले १२ कक्षा पास गरिसकेका छन् ।

‘नागरिकता नबन्दा धेरै अवसरबाट छोरा वञ्चित भएको छ’, उहाँ भन्नुहुन्छ,– ‘अहिलेसम्म छोराले बैंक एकाउन्ट खोल्न, सवारीसाधनको लाइसेन्स लिन सकेको छैन, जागिरका लागि फर्म भर्न पाएको छैन, नागरिकता नभएपछि सबै कामबाट वञ्चित हुनुपरेको छ ।’

दुई वर्षअघि छोराको नागरिकताका लागि सिफारिस लिन वडा कार्यालय पुगेकी कुवँर, आमाको नामबाट नागरिकता भनेपछि वडाले सिफारिस दिन नमानेको बताउनुहुन्छ । संविधानमा आमाको नामबाट सन्तानले नागरिकता पाउने भन्ने लेखेको छ, तर वडाले सिफारिस दिएन, कुँवर भन्नुहुन्छ,– वडामै सिफारिस नबनेपछि म अदालतपुगेँ ।’ उहाँले अदालतमा गएर आफ्नो नाममा छोरालाई नागरिकता उपलब्ध गराउन आदेश मागेपछि मात्र बल्ल आदेश अदालतले दिएको कुँवरले बताउनुभयो,– उक्त आदेश लिएर गएपछि मात्रै वडाले सिफारिस दियो ।

वडाको सिफारिस र अदालतको आदेश लिएर कुँवर जिल्ला प्रशासन कार्यालय पुग्नुभयो । त्यहाँ पुलिसको सनाखत चाहिन्छ भनियो, फेरि अहिले सनाखत गराएर ल्याएकी छु, तर जन्मदर्ता सच्याउन भनियो । यस सम्बन्धमा कुँवरले प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई भेटेर कुरा राखिसकेको बताउनुभयो । कुँवरलाई रिजालले भन्नुभएछ– मैले पनि मन्त्रालयसँग कुरा गर्नुपर्छ, १० दिनपछि आउनु भन्नुभएको छ कुवँरले बताउनुभयो ।

कुँवरको हकमा अब के कागजात आवश्यक हो भनेर नेपाल समाचारपत्रको प्रश्नमा सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसी भन्नुहुन्छ,– ‘त्यो त मैले केस हेरेरै भन्नुपर्छ । यस्ता थुप्रै केस आएका हुन्छन् । आमाको नामबाट नागरिकता लिनका लागि बुवा पत्ता नलागेको हो भने वडाको सिफारिस, त्यहीअनुसारको जन्मदर्ता, आमाको नागरिकता र आमाको सनाखत हुन आवश्यक भएको उहाँले बताउनुभयो ।

कुँवरको केस हेरे कि हेरेनन्, के हुँदै छ भनी बुझ्न चैत्र ४ मा फोन गर्दा रिजालले सम्पूर्ण कागजात मन्त्रालयमा बुझाइएको प्रक्रियामा भएको जानकारी दिनुभयो । आमाबुबाको सम्बन्धविच्छेद भएपछि सन्तानले आमाको नामबाट नारिकता लिन चाहेमा सम्बन्ध विच्छेदको कागजात आवश्यक हुन्छ । २०७६ देखि ०७८ फागुन मसान्तसम्म काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट आमाको नामबाट नागरिकता बनाउने मात्र ८ जना रहेको सूचना अधिकारी दीपक पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्