हस्तकला महासंघका १३ बुँदे माग



काठमाडौं (नेस) ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले हस्तकला क्षेत्रको विकास विस्तार र निर्यात प्रवद्र्धनका लागि पहल गर्ने आश्वासन दिनुभएको छ । नेपाल हस्तकला महासंको ४१ औं वार्षिक साधारणसभालाई गर्दै उहाँले महासंघले अघि सारेका माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिनुभएको हो । साथै, उहाँले स्वदेशमै उपलब्ध वस्तु आयात नगर्न पनि व्यवसायीलाई आग्रह गर्नुभएको छ । त्यसरी आयात गर्दा व्यवसायीलाई फाइदा भए पनि राष्ट्रलाई घाटा हुने भन्दै नाफा मात्रै नहेर्न आग्रह गर्नुभएको हो ।

महासंघले साधारणसभामार्फत सरकारसमक्ष विभिन्न १३ बुँदे माग प्रस्तुत गरेको छ । महासंघले कोरोनाबाट प्रभावित हस्तकलाको निर्यात प्रवद्र्धनका लागि हालको नगद प्रोत्साहन दर कम्तीमा पनि डवल डिजिट गर्नुपर्ने र नगद प्रोत्साहन प्राप्त गर्ने प्रक्रिया एवम कार्यविधि सरलीकृत गर्नुपर्ने माग गरेको छ ।

महासंघ अध्यक्ष सुरेन्द्रभाइ शाक्यले १३ बुँदे माग प्रस्तुत गर्दै निर्यात हुने काष्ठजन्य हस्तकला सामान र सिपिङ कन्टेनर फुमिगेट गरी फुमिगेसन प्रमाणपत्र गरी गर्ने व्यवस्था हुनुपर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयलगायत मालसामान आयात निर्यात हुने अन्य भन्सार कार्यालयलाई निर्यातमैत्री बनाइनुपर्ने, अन्तर्राष्ट्रिय बजारमा नेपाली हस्तकलाको पहिचान स्थापित गरी प्रवद्र्धन गर्न हस्तकला वस्तुमा सामूहिक व्यापार चिह्नको विकास र प्रचार प्रसारमा सहयोग गर्नुपर्ने माग गर्नुभयो ।

त्यस्तै, सातवटै प्रदेशमा हस्तकलाग्राम स्थापनाका लागि विद्युत्, सडक र पानीलगायतका आवश्यक भौतिक पूर्वाधारको पहुँच भएको क्षेत्रमा जग्गा उपलब्ध गराउनुपर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वोर्ड अफ ट्रेड र भन्सार विभागअन्तर्गत निकासी सहजीकरण समितिमा महासंघको पनि प्रतिनिधित्व हुुनुपर्ने, चीनमा व्यापार, व्यवसाय र व्यापार मेला सहभागिताबाट आर्जित विदेशी मुद्रा बैकिङ च्यानलबाट नेपाल ल्याउन पाउने व्यवस्था गरिनुपर्ने, सरकार तथा विदेस्थित नेपाली नेपाली दूतावासलागयत सबै सरकारी निकायमा नेपाली हस्तकला प्रयोग गरिनुपर्ने, स्वदेशी वस्तु प्रवद्र्धनका लागि निजामती कर्मचारीलाई स्वदेशी कपडाबाट बनेका पोशाकलाई अनिवार्य गरिनुपर्नेलगायत रहेका छन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र चिरीबाबु महर्जनले हस्तकलाको विकास, विस्तार र प्रवद्र्धनका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मेयर शाक्यले हस्तकलाको औद्योगिक ग्रामका लागि जग्गाको व्यवस्था गरेमा महानगरपालिकाले पूर्वाधार निर्माणमा सहयोग गर्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह र नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेन्द्र मल्लले पनि निर्यात व्यापारमा हस्तकलाको महत्वपूर्ण योगदान रहेको भन्दै हस्तकलाको प्रवद्र्धन सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट ईन्द्रबहादुर शाक्य सम्मानित हुनुभयो । हस्तकलाका उत्कृष्ट निर्यातकर्ता, उद्यमी, महासंघका उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्य, उपाध्यक्ष रवीन्द्र शाक्य, पूर्व अध्यक्षलगायतको उपस्थिति रहेको थियो । शनिबारसम्म सञ्चालन हुने महासंघको ४१ औं वार्षिक साधारणसभाले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्