२ हजार ५ सयद्वारा मृत्युपश्चात् अंगदानको घोषणा

0
Shares

भक्तपुर ।

मृत्युपछिको अंगदान कानुनी अड्चन र जनचासो तथा चेतनाको अभावका कारण कार्यान्वय हुन कठिनाई भएता पनि पछिल्लो समय अंगदान र प्रत्यारोपणमा प्रभावकारी रूपमा अगाडि बढेको छ । हालसम्म २ हजार ५ सयले मृत्युपश्चात् अंगदानको घोषणा गरिसकेका छन् भने करिब ४ सय जना मस्तिष्क मृत्यु (ब्रेन डेथ )पश्चात् अंग प्राप्त गरी प्रत्यारोपण गर्नका लागि पर्खाइमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनाएको छ ।

सरकारले ब्रेन डेथ भएका व्यक्तिको अंगदान गर्ने व्यवस्था कार्यान्वयनका लागि प्रत्यारोपण केन्द्र भक्तपुरलाई समन्वय केन्द्रसमेत तोकेको छ । अंगदान गर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न भक्तपुरको दूधपाटीस्थित केन्द्रलाई देशैभरको समन्वय केन्द्र तोकेको हो ।

नेपालमा हालसम्म ३ जना ब्रेन डेथ भएका व्यक्तिबाट ६ जनाको मिर्गौला र १ जनाको कलेजो प्रत्यारोपण भएको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले बताउनुभयो । ब्रेन डेथ भएका व्यक्तिको अंग प्रत्यारोपणबाट वर्षेनी हजारौं व्यक्तिलाई बचाउने सकिने भए पनि खासै उपलब्धि हासिल हुन नसकिरहेको अवस्थामा यो सम्बन्धी थप काम गर्न केन्द्र स्थापना गरिएको डा.श्रेष्ठले बताउनुभयो ।

मृत्युपश्चात् आफ्नो शरीरको अंगदान घोषणा गर्नुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा गत बिहीबार भएको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री तथा सबै मन्त्रीले मृत्युपश्चात् अंगदान गर्ने निर्णय भएको थियो ।

यस ऐतिहासिक कार्यबाट करिब ३ करोड नेपालीलाई अंगदान गर्न प्रोत्साहन मिल्ने भएको भन्दै मन्त्रिपरिषद्प्रति केन्द्रले हार्दिक कृतज्ञता ज्ञापन गरेको छ । सो प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्नको लागि यस शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले पहल गर्नुभएको थियो ।

स्वास्थ्य सेवा दिवस २०७८ को अवसर पारी स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र मुख्यसचिव शंकरदाश वैरागी, स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङ र स्वास्थ्य सचिव देवकुमारी गुरागाँइले पनि मृत्युपश्चात् अंगदान गर्नुभएको थियो । सरकारले स्वास्थ्योपचार र मृत्युपछिको अंगदानको सम्बन्धमा ऐतिहासिक निर्णय गरेको छ । ५० वर्षभन्दा माथिका सबै नागरिकको वर्षको १ पटक कलेजो मिर्गौलालगायतको स्वास्थ्य परीक्षणसमेत निःशुल्क गर्ने निर्णय गरेको छ ।

नेपालमा २०७२ सालमा अंग प्रत्यारोपण ऐन आएको थियो । सो ऐनपछि ब्रेन डेथ भएका व्यक्तिको अंग जिवित व्यक्तिमा प्रत्यारोपण गर्नसक्ने कानुन आएको हो । पहिले नजिकका नातेदारले मात्र अंग दान गर्न सक्ने कानुन भए पनि अहिले नाता सम्बन्ध पर्ने जो सुकैले पनि अंग दान गर्न सक्ने कानुनी व्यवस्था छ । पछिल्लो समय बिदेशमा जस्तै जो सुकैबाट पनि दान गर्न सकिने कानुनी व्यवस्थाका लागिसमेत पहल भइरहेको छ ।

अंग प्रत्यारोपण विज्ञसमेत रहेका डा. श्रेष्ठले कुनै पनि व्यक्तिले आफ्नो मृत्युपछि अंग दान गर्न चाहेको अवस्थामा केन्द्रमा सम्पर्क राखेर इच्छापत्र लिनसक्ने व्यवस्था गरेको बताउनुभयो ।

कुनै व्यक्तिको सडक दुर्घटना वा अन्य कारणले ब्रेन डेथ भएको अवस्थामा उक्त व्यक्ति उपचाररत् अस्पतालले ब्रेन डेथ भएको घोषणा गरेपछि भक्तपुरको समन्वय एकाइलाई खबर गर्नुपर्छ । विज्ञ चिकित्सकीय टोलीले ब्रेन डेथ भएको अस्पतालमा गई ब्रेन डेथ भएका व्यक्तिका आफन्त वा नातेदारहरूसँग सल्लाह गरेर उनीहरूको सहमतिमा ब्रेन डेथ भएको व्यक्तिको अंग निकालेर अंग प्रत्यारोपण आवश्यक भएको जीवित व्यक्तिमा प्रत्यारोपण गर्ने गरिन्छ ।

ट्रान्सप्लान्ट कोर्डिनेटर विभागका संयोजक डा. कल्पना श्रेष्ठका अनुसार नेपालमा हरेक वर्ष ३ हजारभन्दा बढीको वर्षेनी मिर्गौला फेल हुने गरेको सरकारी तथ्यांक छ । तर, देशभरि मुस्किलले ३ सय जनाको मात्र मिर्गौला प्रत्यारोपण हुने गरेको जानकारी दिँदै डा. कल्पनाले भन्नुभयो– ‘मिर्गौला प्रत्यारोपणमा यो सबैभन्दा ठूलो चुनौती हो । जीवित व्यक्तिहरूले मात्र अहिले गरिरहेको मिर्गौला दानले यो खाडललाई पुर्न सक्दैन ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा वर्षमा करिब २ हजारभन्दा बढीले सडक दुर्घटनामा परेर ज्यान गुमाउने गरेका छन् । तीमध्ये करिब एक हजारको ब्रेन डेथ हुने गरेको छ । यी एक हजारको मिर्गौलालगायत कलेजो, प्यांक्रियाज, ठूलो आन्द्रा, सानो आन्द्राजस्ता अंग निकालेर जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिए हजारांैको जीवन बचाउन सकिने विज्ञहरूको दाबी छ ।

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार एकजना ब्रेन डेथ भएको व्यक्तिबाट आठ वटा अंग जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । ब्रेन डेथ भएका व्यक्तिको अंगदानमार्फत प्राप्त हुने अंग जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिए नेपाल अंग प्रत्यारोपणमा आत्म निर्भर हुने डा. श्रेष्ठको दाबी छ ।