नेपालमा टाइफाइडविरुद्धको खोप लगाइँदै



काठमाडौं ।

सरकारले आगामी चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा संगिता कौशल मिश्राले १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई लक्षित गरी खोप लगाइने जानकारी दिनुभयो । सरकारले उक्त अवधिमा ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने लक्ष्य लिएको छ ।

भारतबाट बुधबार २ लाख भायल खोप नेपाल आएको जानकारी दिँदै स्वास्थ्य मन्त्रालयका वरिष्ठ फार्मेसिस्ट बडेबाबु थापाले ग्लोबल एलाइन्स फर भ्याक्सिनेसन(गाभी)ले नेपालका लागि टाइफाइडको १६ लाख भायल खोप निःशुल्क उपलब्ध गराउने सहमति भएको बताउनुभयो । उहाँले एक भायल खोपमा ५ मात्रा हुने र १८ तारिखमा पनि पुनः अर्को खेप खोप नेपाल आउने जानकारी पनि दिनुभयो ।

नेपालमा ज्वरो आएका सबैलाई टाइफाइड भनिने गरिए तापनि ज्वरो सबै टाइफाइड नहुने चिकित्सकहरू बताउँछन् । उनीहरूका अनुसार टाइफाइड हुनलाई टाइफाइडको किरा उम्रनुपर्छ जसलाई मल्टिड्रग टाइफाइड भनिन्छ । यो खालको टाइफाइड नेपालमा अहिलेसम्म देखिएको र नेपालमा देखिएको टाइफाइड गम्भीर प्रकृतिको ज्यानै जाने खालको नभएको २ वर्षअघि नेपालको कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, नेपालगन्ज अस्पताल र धरान अस्पतालले गरेको बृहत् अनुसन्धान टोलीमा खटिएका एक चिकित्सकले बताए ।

जोन हप्किन विश्वविद्यालयको सहयोगमा धुलिखेल अस्पतालले गरेको अनुसन्धानले नेपालमा टाइफाइडका कारण धेरै मानिस मरेको नपाइएको देखाएको अनुसन्धानमा खटिएका चिकित्सक बताउँछन् । कान्ति अस्पतालमा गरिएको अनुसन्धानमा टाइफाइडका बिरामीको उपचार कतिको महंगो हुन्छ भन्ने अध्ययन गरिएको थियो । अनुसन्धान प्रतिवेदनमा औषधिको मूल्य २ सय अमेरिकी डलरको हाराहारीमा पर्ने उल्लेख गरिएको थियो । धुलिखेल अस्पतालले टाइफाइड नेपालको निश्चित स्थानमा मात्र हुन्छ कि नेपालभरि हुन्छ भन्ने विषयमा पनि अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानमा सबै ठाउँमा अलिअलि टाइफाइड भेटिएको देखिएको थियो ।

गाभिले सन् २०२१ सम्ममा उक्त खोप उपलब्ध गराउने लक्ष्यअनुरूप एक वर्षअघि नै यो खोप भारतको पान्टा बायोटेकसँग खरिद गरिसकेको थियो । तर, नेपालमा कोरोनाविरुद्धको खोप अभियान चलिरहेको अवस्थामा खोप भण्डारणको अभाव भएकै कारण ढिलो गरी नेपाल ल्याइँदै गरेको स्रोतले जनाएको छ । टाइफाइडको खोपको प्रभावकारीताबारे डा. बुद्ध बस्नेतको टोलीले पाटन क्षेत्रलाई केन्द्रविन्दु बनाएर अध्ययन गरी उपलब्ध गराएको प्रतिवेदनमा खोपले फाइदा पुग्ने उल्लेख भएकोले सरकारले विश्व स्वास्थ्य संगठनसँग गरेको आग्रहअनुरूप गाभिले निःशुल्क उपलब्ध गराएको हो ।

विकसित मुलुकमा यस्तो खोपको खासै प्रयोग हुँदैन । अस्वस्थ्यकर खानपानमा टाइफाइडको किरा हुर्कने हुनाले गरिब मुलुकहरू यस्ता रोगको सिकार बन्ने गर्छन् । कान्ति अस्पताल, धुलिखेल, नेपालगन्ज र धरानले गरेको अनुसन्धानले कोरियन कम्पनीले उत्पादन गरेको टाइफाइडको खोप भारतको भन्दा निकै सस्तो भएको देखाए तापनि डब्लुएचओले उक्त खोपलाई स्वीकृति दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्