काभ्रेमा घरेलु हिंसा बढ्यो



काभ्रे ।

११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा जिल्लामा घरेलु हिंसा, आत्महत्या, जबरजस्ती करणी, बालविवाह, बाल यौन दुराचार, बोक्सीको आरोपजस्ता जघन्य अपराध न्यूनीकरण हुन सकेको छैन ।

आर्थिक वर्ष २०७७/२०७८ को तथ्याङ्कले पनि अपराध न्यूनीकरणभन्दा बढिरहेको देखाउँछ । आर्थिक वर्ष २०७७/२०७८ मा झुण्डिएर ९३ जनाले ज्यान गुमाउन पुगेका छन् । चालु वर्षको साढे ७ महिना अर्थात फागुन १५ सम्म ५५ जनाले झुण्डिएर आत्महत्या गरिसकेका छन् । विषादी सेवन गरेर मृत्यु हुनेहरूको संख्या अघिल्लो वर्ष ४२ जना थिए भने यो वर्ष १६ जना पुगिसकेका छन् । आत्महत्या गर्नेहरूको संख्या अघिल्लो वर्ष १ सय ३५ जनाले ज्यान गुमाए भने यो वर्ष ७४ जना पुगिसकेका छन् ।

प्रहरी प्रमुख एसपी चक्रराज जोशीले आत्महत्या न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभएको छ । घरेलु हिंसाका कारण आत्महत्या गर्नेहरूको संख्या थपिन थालेको छ । चालु वर्षमा ८ वर्ष, ११ वर्ष र १६ वर्षका बालबालिकाहरूले आत्महत्या गरेका छन् । चालु वर्षमा १४ वर्षमुनिका ४ जना बालबालिकाहरूले आत्महत्या गरेका छन् । १६–२५ उमेरका १९, २६–३५ उमेर समूहका १३, ३६–४५ उमेर समूहका १९, ४६–६० उमेर समूहका १३ र ६० वर्षमाथिका ६ जनाले आत्महत्या गरेका छन् । महिला २९, पुरुष ४१, बालक १ र बालिका ३ जना छन् ।

बनेपा, पाँचखाल, धुलिखेल, पनौती, मण्डनदेउपुर र कोशीपारी क्षेत्र बढी प्रभावित मानिएको छ । आत्महत्या दुरुत्साहनमा पुरुष २ जना र महिला १ जनालाई मुद्दा दर्ता गरिएको छ । जबरजस्ती करणी अघिल्लो वर्ष २८ वटा भए भने यो वर्ष २० वटा भएका छन् । जबजस्ती करणी उद्योगतर्फ अघिल्लो वर्ष ६ वटा र चालु वर्षमा २ वटा छन् । कानुनले बहुविवाह रोकेको भए पनि अघिल्लो वर्ष ५ वटा र चालु वर्षमा २ वटा घटना दर्ता भएका छन् । समझदारीका लागि घटना दर्ता नभएका केही उदाहरण पनि छन् । बाल यौन दुरूपयोगमा अघिल्लो वर्ष ३ वटा र यो वर्ष १ वटा घटना दर्ता भएको छ । अघिल्लो वर्ष बालविवाह तीनवटा भएका थिए ।

बोक्सीको आरोपमा तीनवटा घटना दर्ता भएका छन् । नागरिकता कसुरसम्बन्धी कसुरमा चालु वर्षमा ३ वटा घटना दर्ता भएका छन् । अघिल्लो वर्ष ४ सय ४२ वटा घटना दर्ता भएको प्रहरी प्रमुख एसपी चक्रराज जोशीले बताउनुभयो । चालु वर्षमा २ सय ४८ वटा घटना दर्ता भएका छन् ।

जिल्लामा घरेलु हिसाका घटनामा वृद्धि भएको छ । आर्थिक वर्ष २०६७/२०६७ मा घरेलु हिंसाका २१६ वटा उजुरी दर्ता भएका थिए । जसमध्ये १ सय २६ वटा उजुरीमा मिलापत्र भएको छ । मिलापत्र हुन नसकेका १२ वटा उजुरी अदालतमा पुगेका थिए । प्रहरी कार्यालयमा उजुरी दिएर ७८ जना व्यक्ति सम्पर्कमा आएनन् । कोरोना भाइरसका कारण आर्थिक वर्ष २०७७/२०७८ मा १ सय ७२ वटा मात्रै उजुरी दर्ता भए । जसमध्ये १ सय ३१ वटा घटनामा मिलापत्र भएका छन् । १३ वटा उजुरी मिलापत्र हुन नसकेका कारण अदालतमा दर्ता भएका छन् भने ३४ वटा उजुरीका व्यक्तिहरू सम्पर्कमा आएनन् ।

चालु वर्षको साढे ७ महिनामा यो संख्या ह्वात्तै बढेको छ । १ सय ७२ वटा उजुरी दर्ता भइसकेका छन् भने १ सय १२ वटामा मिलापत्र भएका छन् । ३ वटा उजुरी अदालतमा दर्ता भएका छन् । ५७ जना अझै सम्पर्कमा छैनन् । तथ्याङ्कले घरेलु हिंसाको संख्या बढिरहेको, स्थानीय तहमा रहेको न्यायिक समितिमा पनि यी उजुरीहरू जाने नगरेको देखाएको छ ।
स्थानीय तहमा रहेको न्यायिक समितिमा पनि उजुरीको संख्या धेरै भए पनि जनप्रतिनिधिहरूलाई कम विश्वास गरेका कारण प्रहरीकोमा उजुरीको संख्या थपिन गएको विश्लेषण गरिएको छ । घरेलु हिंसाकै कारण आत्महत्या तथा अन्य अपराधका घटनामा वृद्धि हुन थालेको छ ।

प्रहरीले अभियोगमा आत्महत्यामा घरेलु हिंसा भनेको अवस्थामा किटानी जाहेरी दर्ता गरी अनुसन्धान शुरू गरेको छ । दर्ता भएकामध्ये चालु वर्षमा तीन वटा मुद्दामा आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा दर्ता भएको छ । केहि दिनअघि पाँचखालको खावामा एक महिलाको आत्महत्यामा परिवारलाई अभियोग दर्ता भएको छ ।

प्रहरीले अपराध नियन्त्रण गरी कानुनी राज्यको स्थापना, दण्डहिनताको अन्त्य गराई पीडितलाई न्याय अनुभूति गराउने उद्देश्यले विभिन्न मितिमा सम्मानित अदालत र न्यायिक निकायहरूबाट दण्ड जरिवाना र सजाय तोकी समाजमा लुकी छिपी रहेकामध्ये आर्थिक वर्ष ०७८/०७९ मा ७७ जना पक्राउ गरेको छ । जसमा १० जना महिला फरार प्रतिवादीहरू छन् । आ.व. ०७८/०७९ को फागुन १५ सम्ममा मुद्दा दर्ता संख्या १ सय ६६ मा १ सय ६७ जना प्रतिवादीहरू पक्राउ गरी कानुनबमोजिम कारबाही गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्