शान्तिको अभावमा समृद्धि अधुरो हुन्छ



  • प्रेम रावत

शान्तिका बारेमा कुरा गर्नुपर्दा मानिसलाई शान्तिको आवश्यकता किन छ भन्ने प्रश्न उब्जन्छ । हामी पैसा जम्मा गर्छौँ । आफ्नै साथमा लिएर जान सकिन्छ भने जसरी हामी पैसा जम्मा गर्ने गर्दर्छौँ । वास्तवमा यो तपाईँसँग जाँदैन । यसलाई यहीँ छोडेर जानुपर्ने हुन्छ । यो अरू कसैको हुनेछ । त्यसपश्चात् फेरि अन्य कसैको हुनेछ । यदि इतिहासलाई हेर्ने हो भने यो कुरा यस्तै नै भइरहेको छ । अहिले तपाईँ बस्नुभएको घर पनि दश वर्ष पहिला, बीस वर्ष पहिलातिर हुन सक्छ अरू कसैको थियो होला । अर्थात्, तीसौँ वर्षपछि यदि तपाईँ जानुभएमा कोही अरूकै नाममा जानेछ । धेरै मानिसहरू आउँछन् अनि यहाँबाट बिदा हुन्छन् । यो सबैका लागि साझा विषय हो ।

तथापि, यो जीवन किन पाइएको छ ? हामी किन यहाँसम्म आएका छौँ ! के सम्भावना छ ? हामी धेरै पहिलादेखि नै लडाइँ त गरिरहेकै छौँ । तथापि, आजसम्म भएका लडाइँमा जित हासिल गरेपश्चात् सबै युद्ध नै समाप्त भएको त देख्न पाइएको छैन । यसको अर्थ त के हो भने लडिरहनुहुन्छ, लडिरहनुहुन्छ, लडिरहनुहुन्छ ! अनि, केही पनि हात लाग्दैन । जुन वस्तु, जुन चीज, जुन कुराका कारणले पहिला लडाइँ भयो त्यो घटना फेरि दोहोरिन पनि सक्छ । त्यसपछि पनि त हुन सक्छ । अर्थात्, भइरहन सक्छ । त्यसैले झगडा गर्नुको तुक नै के भयो र ! ‘कुनै यस्तो वस्तुका लागि लडाइँ गरेपश्चात् कुनै यस्तो परिवर्तन भएर फेरि लडाइँ नभएको अवस्था आओस् !’ यस्तो त हुँदैन । फेरि त्यही कुरालाई दोहोर्याइरहिन्छ ।

यो कुनै समाधान होइन । अनि, के हासिल भयो र ! पैसा कमाउनका लागि मानिसहरू समर्पित हुन्छन् । त्यसबाट केही पनि हुने होइन, किनभने त्यो आफ्नै साथमा जाने वस्तु होइन । त्यो कोही अर्कैको हुनेछ । युद्ध– जसमा यतिका धेरै पैसा खर्च हुन्छ । विज्ञानको ऊर्जालाई यति धेरै खर्चेर पनि यसबाट केही भइरहेको छैन । यद्यपि, एउटा महत्त्वपूर्ण कुरा ‘शान्ति’ का लागि हामीले कोशिश गरेनौँ ! वृद्धावस्थामा पुगेपछि, अवकाश लिएपछि मात्रै शान्तिका बारेमा सोच्नेछु भनेर हाम्रो ध्यान त्यतातिर जाने गर्दछ । तर, समृद्धिको अर्थ के हो– पैसा पनि होओस्, राम्रो स्वास्थ्य होओस् अनि शान्ति पनि होओस् । शान्तिको अभावमा त्यो समृद्धि अधुरो रहन्छ ।

शान्ति के हो ? के यो कुरा बुझ्नका लागि सबैभन्दा पहिला शान्तिको परिभाषा जान्नु आवश्यक होला त ! त्यो केवल शान्तिको परिभाषा मात्रै हो, त्यो शान्ति त होइन । मानिसहरू शान्तिको खोजीमा जानुपूर्व आफ्नो परिभाषालाई अगाडि राख्छन् । एउटा शान्ति हामीभित्रै छ, सबैभित्र छ ! यो संसारमा कोही यस्तो व्यक्ति छैन, जसमा शान्ति नभएको होओस् । चाहे उसले जस्तोसुकै कार्य गरेको भए पनि त्यो शान्ति उसमा निहित रहन्छ ।

बाहिरको परिस्थिति जस्तोसुकै होओस्, चाहे तपाईँ जस्तोसुकै अवस्थामा हुनुहोओस् तर शान्ति तपाईँमा समाहित भएको हुन्छ । शान्तिको कुनै पनि परिभाषा हुँदैन । किनभने, शान्तिलाई अनुभव गर्न सकिन्छ । वास्तविक शान्ति मानिसभित्र छ । आफूले आफूलाई चिन्ने, आफूले आफूलाई पहिचान गर्ने कुराको सम्बन्ध त्यही शान्तिसँग गाँसिएको हुन्छ । वास्तवमा यो सम्भावना हरेक मानिसमा रहेको छ ।

हाम्रो बुझाइमा त कसैको उमेरका आधारमा यसको सम्बन्ध रहन्छ । यद्यपि, यो यस्तो कुरा होइन । चार वर्षमा, पाँच वर्षमा, दश वर्षमा पनि, १८ वर्षमा पनि अथवा २० वर्षको भए पनि, ३० वर्षको भए पनि या त १०० वर्षको भए पनि हामीलाई सधैँ शान्तिको आवश्यकता पर्दछ । शान्तिको अभावमा हाम्रो जीवन अस्थिर भइरहन्छ । हामीलाई त यो अस्थिरता भइरहेको कुरामा समेत हेक्का रहँदैन । हामी त अनेकन् चीजबीजका पछि दौडन्छौँ । वास्तवमा ती चीजसँग हामीले सम्बन्ध राख्नु आवश्यक छैन ।

मानिसहरूको बुझाइ के छ भने, शान्तिको अर्थ कुनै अग्लो पहाडमा चढ्नु हो । ‘तपाईँ आँखा बन्द गर्नुहोस्, तपाईँ व्यापारलाई बन्द गर्नुहोस् !’ अहँ, यो शान्ति हुँदै होइन । कतिपय मानिसले संन्यास धारण गरेका हुन्छन् तर पनि तिनमा भित्री रूपमा अशान्ति भइरहेकै हुन्छ । अर्कोतिर, कतिपय मानिस जेलमा बन्दीजीवन जिइरहेका हुन्छन्, कैदीखानाभित्र हुन्छन् तर पनि शान्तिको अनुभव गरिरहेका हुन्छन् । जसमा शान्ति हुन्छ, उसमा उत्साह हुन्छ अनि उसले कसरी अघि बढ्ने भन्ने बारेमा सोच्दछ । उसले आफ्नो जीवनभरि नै आभारी रहनेछु भनेर सोच्दछ । उसलाई आफू जिउनुको तात्पर्य पनि थाहा हुन्छ । यसर्थ तपाईँको जीवनमा पनि शान्ति सम्भव छ र यो पक्का सम्भव छ ।

मानिसले यो संसारमा जति पनि कार्य गर्दछ, उसले आफ्नो सुख–शान्तिका निम्ति गर्दछ । उसका धारणा हुन्छन् : यदि मैले यस्तो कुरालाई हासिल गरेँ या मलाई यस्तो कुरा प्राप्त भयो भने यसबाट मेरो जीवनमा सुख आउनेछ, जीवनमा शान्ति प्राप्त हुनेछ । सारा संसारका मानिसहरू यही कुराका लागि यताउता दौडिरहेका छन् । कोही छोरा होस् भन्ने चाहनाका पछि दौडिन्छन्, कोही आफ्नो व्यवसायका पछि दौडिन्छन् । कोही कुनै कुराका पछि त कोही कुनै कुराका पछि दौडिरहन्छन् ।

मानिसले जे–जे गरिरहेको छ, त्यो आफ्नो सुख–शान्तिका लागि गरिरहेको छ । ऊभित्र जुन सुख–शान्तिको चाहना छ, जुन इच्छा छ, त्यो कहाँबाट आयो ? त्यो इच्छालाई कसले उत्पन्न गरायो ? यो कुरा हामीले आफ्नो जिन्दगीमा सिकेका हौँ कि प्राकृतिक रूपमा पहिलेदेखि नै छ । कुनै कुराहरू स्वाभाविक हुन्छन् अनि कुनै कुरालाई सिक्नुपर्छ । कतिपय कुराहरू सिक्नका लागि हामीले विद्यालय, विश्वविद्यालय, ठूला–ठूला शिक्षण संस्थाहरूमा जानुपर्ने हुन्छ । त्यहाँ सिकेपश्चात् हाम्रा इच्छा, कामना, आकाङ्क्षाहरू उत्पन्न हुन्छन् । कैयौँ ठूला–ठूला विज्ञापन अनि पोस्टरहरू देख्छौँ, हामीलाई साथीले केही बताउँछ, हामीलाई मित्रहरुले केही बताउँछन्, अनि हामी सिक्छौँ, हाम्रा इच्छाहरू उत्पन्न हुन्छन् ।

तर, केही यस्ता इच्छाहरू हुन्छन् जसलाई हामीले सिक्नुपर्दैन, ती स्वाभाविक हुन्छन् । जस्तो कि भोक लाग्नु स्वाभाविक कुरा हो । यसका लागि हामीले कतै गएर सिक्नुपर्दैन । खानाको आवश्यकता परेपछि शरीरले हामीलाई बताउँछ– ‘खाना खाऊ !’ सृष्टिकर्ताले पहिला नै यस्तो प्रबन्ध मिलाएका छन् । किनकि, उनलाई थाहा थियो– हुन सक्छ मानिस मायामा यति फस्न सक्छ त्यति बेला उसले आफ्नै शरीरलाई समेत ख्याल गर्दैन । त्यसकारण मानिसमा भोक जगाइयो । भोक लागेपछि खाने इच्छा उत्पन्न हुन्छ अनि मानिसले खानाको खोजी गर्दछ । यो प्राकृतिक कुरा हो । यसलाई सिक्नुपर्दैन । तिर्खा लाग्छ अनि मानिसले पानी पिउँछ । के वास्तविक सुख–शान्तिको चाहना नैसर्गिक हो या सिकिएको हो ? यो स्वाभाविक तिर्खा हो । यो भित्रको तिर्खा हो । बाहिरी समस्याको समाधान बाहिर नै प्राप्त हुन्छ, त्यस्तै गरेर भित्रको चाहना, हृदयको प्यास, वास्तविक सुख–शान्तिलाई पाउने तिर्खाको समाधान पनि तपाईँले आफैँभित्र पाउनुहुनेछ, बाहिर होइन ।

यदि हामीलाई पानीको आवश्यकता पर्छ, पानी प्राप्त गर्ने प्यास जाग्छ अनि हामी पानी खोज्न थाल्छौँ, पानीको स्रोतलाई खोज्न थाल्छौँ । कुवा, नदी या झरनालाई खोज्न थाल्छौँ । त्यस्तै गरेर यो कुरालाई बुझ्नु आवश्यक छः जुन चीजलाई हामी खोजिरहेका छौँ, हामी जीवनमा जुन सुखलाई चाहन्छौँ, त्यो कहाँ छ ? त्यो चीज, त्यो सुख हामीभित्रै छ । तर, हामी त्यसलाई बाहिर खोजिरहेका छौँ ।

हामी सोच्छौँ, हाम्रो उन्नति भयो भने हामीलाई सुख–शान्ति प्राप्त हुनेछ । तर, हाम्रो हृदयले खोजेको सुख त्यो सुख होइन । त्यो सुख फरक छ । यदि हामीले ‘मलाई पारिवारिक सुख प्राप्त भएपछि मेरो हृदयलाई आनन्द हुनेछ’ भनेर भनिरहन थाल्यौँ भने यो कुरा पनि गलत हो । बाहिरका सबै सुख हुँदाहुँदै पनि एउटा यस्तो सुख छ, जसलाई नजानी, नबुझीकन मानिसको जीवन अधुरो हुन्छ । आन्तरिक सुखको चाहनारूपी बीउलाई सृष्टिकर्ताले तपाईँको हृदयमा राखेका छन्– साँचो सुख र शान्तिलाई कहाँ छ भनेर खोज्नुहोस्, जान्नुहोस् अनि पहिचान गर्नुहोस् भनेर ।

हृदयलाई हरेक दिन, हरेक क्षण शान्तिको आवश्यकता छ । मानिसहरू शान्तिको कुरा गर्छन् । भन्छन्, ‘विश्वमा शान्ति हुनुपर्छ ।’ म भन्छु, विश्वमा शान्ति होइन, तपाईँको हृदयमा शान्ति हुनुपर्छ । विश्वलाई शान्ति चाहिएको कहाँ हो र ? विश्वमा को छन् ? मानिस नै त छन् ! अरू को छन् ?

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्