निराशाजनक भविष्य



विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण आर्थिक रुपमा थिलथिलो भएको नेपाल र नेपाली जनताका लागि सहज र सरल अवतरण हुने बाटो अझै खुल्नसकेको छैन । आर्थिक रुपमा कमजोर, ठूला उद्योग र कलकारखानाजस्ता आर्थिक गतिविधिको शून्यता, मौलिक उत्पादनको अभाव नेपालको नियती बनेको छ । आफ्नो शरीरबाहेक हरेक यान्त्रिक वा दैनिक उपभोग्य वस्तुमा परनिर्भर हुनुपर्ने अवस्था अझ बढ्दो छ ।

सामान्यतः हरेक नेपालीको घरमा एक जना विदेश नजाने हो भने गुजारा नचल्ने अवस्था आउन थालेको छ । नेपालको इतिहासलाई हेर्दा कृषि प्रधान देश, जलस्रोतको धनी मुलुक तर यही मुलुकमा स्वच्छ पिउने पानी, सिंचाइ, जलविद्युत, खाद्य उत्पादनको कमी छ । अस्पतालमा विशेष शल्यक्रिया गर्दा प्रयोग गर्ने पानीदेखि देशका ठूला ओहदामा आसीन व्यक्तिहरुका लागि पिउने पानीसमेत विदेशबाट नै ल्याइन्छ । सर्वसाधारणदेखि आम नेपालीका घरमा बल्ने चुलो, इन्धन, खाद्यान्न, कृषिका लागि आवश्यक विउ–बिजन, रासायनिक मल, औजार, किरा मार्ने विषादी लगायत दैनिक प्रयोग गर्ने लत्ताकपडादेखि कपडा सिलाउने सियोसम्म विदेशमै निर्भर हुनुपर्ने बाध्यात्मक अवस्था छ । यस मामिलामा नेपाल झन्–झन् जटिल बन्दैछ । यस अवस्थाको सुधार ल्याउनेतर्फ सरकारको ध्यान जानुको सट्टा नेपाली नागरिकलाई ज्यालादारीमा विदेशी भूमिमा बेच्नका लागि उपयोगी लाइसेन्स बन्ने शिक्षा छ । शैक्षिक क्षेत्र उद्देश्यमूलक नभएका कारण आर्थिक गतिविधिमा सुधार हुन नसकेको हो । मेडिकल शिक्षा धनीमानीका लागि पूर्ण रुपमा खरिद बिक्रीको थलो बनिसकेको छ । यस अवस्थामा सामान्य आय हुने नागरिकले मेडिकल शिक्षाको परिकल्पना गर्नुपनि पापजस्तै बन्दैगएको छ । साधारण शिक्षामा पनि उत्तिकै व्यापारीकरण बढ्दो छ । साधारण कृषि पेशा र राजनीति गर्न कुनै शिक्षा र लाइसेन्सको खाँचो नपर्ने हुनाले नेपालमा सबैभन्दा बढी फस्टाएको पेशा राजनीति बन्दैछ । विनाअध्ययन–अनुसन्धान योजना बनाउन सकिने र सक्नेले मस्ती गर्ने परिपाठी नेपालमा फष्टाएको छ । शिक्षाका माध्यमबाट प्रमाणपत्र हासिल गर्ने व्यक्ति नेपालका लागि अयोग्य सावित हुँदैगएका कारण एकपछि अर्को दुर्घटना निम्तिएका छन् । यसको प्रमुख कारण राजनीतिक नेताहरुले आफ्नो वर्चस्व कायम राख्नका लागि नेपाली नागरिकलाई विदेशमुखी शिक्षा, सीप, तालिम दिने निकायलाई खुलेआम व्यापारिक प्रयोजनको लाइसेन्स दिनु हो ।

नेपाली नागरिक आफै सचेत नहुने हो भने नेपाल र नेपाली नाम मात्रको प्रतिविम्वका रुपमा रहने छ र विदेशीहरुले उठबस गराउँदा प्रतिकारसम्म गर्न नसक्ने अवस्था रहनेछ । धनी मुलुकले जहिले पनि कमजोर मुलुकलाई एक्लो बनाउँने र आक्रमण गर्ने गरेका घटना तत्कालका लागि रुसले युक्रेनमाथि गरेको हमलाले प्रष्ट पारेकै छ । नेपालका नेताहरुको संकीर्णता, अदूरदर्शिता र स्वार्थी मानसिकताका कारण यस्ता घटना नेपालीको थाप्लोमा पनि नबजारिएला भन्नसकिन्न । आर्थिक र मानसिक अवस्थाले सुदृढ नहुनु हाम्रालागि भविष्य अन्धकार रहेको संकेत हो । यस मानसिकतामा सुधार नगर्ने हो भने भोलिका दिनमा नेपाल नाम मात्रको स्वतन्त्र, स्वाधीन र सार्वभौम मुलुकका रुपमा सीमित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्