निफमा ३८ देशका ८९ फिल्म



कोरोनाको तेस्रो लहरका कारण अनलाइनका माध्यमले आयोजना गर्ने तयारी गरिएको पाँचौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) संक्रमण दर घट्दै गएका कारण अब भौतिकरूपमै सम्पन्न हुने भएको छ।

आयोजकले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी महोत्सव आगामी चैत्र १७ देखि २१ गतेसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिकरूपमा आयोजना गर्ने जानकारी गराएका छन्। गत बर्ष चौथो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भर्चुअलरूपमा गरिएको थियो। यस वर्ष पनि कोरोना जोखिमको कारण महोत्सव भर्चुअल गर्ने तयारी गरिएको तर कोरोनाको जोखिम कम हुनुका साथै राज्यले पनि सबै गतिविधिलाई खुला गरेको कारण तयारीको लागि छोटो समय हुँदा पनि भौतिक रूपमा गर्न लागेको महोत्सवका अध्यक्ष केपी पाठकले बताए।

पत्रकार सम्मेलनमा महोत्सवको सहआयोजक नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले राज्यले गर्नुपर्ने फिल्मसम्बन्धी यस्ता अन्तर्राष्ट्रिय महोत्सव निजी क्षेत्रबाट हुनु आफैँमा महत्वपूर्ण भएको चर्चा गर्दै बोर्डले निफलाई सरकारीस्तरबाटै सहयोग जुटाउन प्रयत्न गरिरहेको बताए। त्यस्तै, महोत्सवका प्रमुख सल्लाहकार नीर शाहले पत्रकार सम्मेलनमा निफ जस्तो अन्तर्राष्ट्रिय फिल्म महोत्सवले नेपाली फिल्मको विकासमा महत्त्वर्पूण भूमिका निर्वाह गर्ने चर्चा गर्दै महोत्सवमा प्रर्दशन हुने विश्वभरिका उत्कृष्ट फिल्म हेरेर फिल्मकर्मी मात्र हैन आम फिल्मप्रेमी दर्शकले पनि धेरै कुरा प्राप्त गर्न सक्ने बताए। अर्का फिल्मकर्मी तथा प्रमुख निर्णायक तुलसी घिमिरेले अन्तर्राष्ट्रिय महोत्सव गर्नु आफैँमा चुनौती भएको बताए।

निफ अध्यक्ष केपी पाठकले महोत्सव गर्न आर्थिकरूपमा निकै जटिल रहेको उल्लेख गर्दै विश्वसामु नेपाली फिल्मको विकास तथा प्रवद्र्धन गर्दै नेपाली पर्यटनलगायतका विकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने भएकाले राज्यलाई सहयोगको लागि आग्रह गरे।

महोत्सवमा ३८ देशका ८९ फिल्मबीच प्रतिस्पर्धा हुनेछ। महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्मबीच सात विधाको प्रतिष्पर्धामा १४ पुरस्कार प्रदान गरिने पाठकले जानकारी गराए। महोत्सवको अन्तराष्ट्रिय प्रतिस्पर्धातर्फत १५ सय डलरसहित उत्कृष्ट कथात्मक फिल्मलाई गौतम बुद्ध अवार्ड, डकुमेन्ट्री फिल्मलाई एक हजार डलरसहित माउन्टेन एभरेस्ट अवार्ड, छोटो एक्सन फिल्मलाई पाँच सय डलरसहित वागमती अवार्ड, छोटो एनिमेटेड फिल्मलाई पाँच सय डलरसहित मञ्जुश्री अवार्ड प्रदान गरिने उनले बताए।

त्यसैगरी, राष्ट्रिय प्रतिस्पर्धातर्फ उत्कृष्ट फिचर फिल्मलाई एक लाख रुपियाँ, छोटो फिल्मलाई ५० हजार रुपियाँ, डकुमेन्ट्री फिल्मलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, फिचर फिल्म र छोटो फिल्मको निर्देशक, फिचर फिल्म छायाँकार, लेखक, अभिनेता, अभिनेत्री विधामा अवार्ड प्रदान गरिनेछ। यसपटक फिल्म हलमा भौतिकरूपमा प्रदर्शन गरिनुका साथै अनलाइन माध्यमबाट पनि प्रदर्शन गरिनेछ।

‘निफ–२०२२ पनि अघिल्ला संस्करणझैं राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा एक सशक्त फिल्म उत्सव बन्नेमा हामी विश्वस्त छौं। त्यसका साथै महोत्सव अवधिमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीको सहभागितामा विविध विधामा कार्यशाला, अन्तक्र्रिया र छलफलका कार्यक्रमसमेत सञ्चालन हुनेछ’ पाठकले भने।

प्रतिक्रिया दिनुहोस्