जिल्ला न्यायाधीश स्वतः मुख्य निर्वाचन अधिकृत



काठमाडौं ।

निर्वाचन आयोगले जिल्लामा निर्वाचन सम्पन्न गराउने प्रतिनिधिका रूपमा रहने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गर्न तयारी थालेको छ । न्याय परिषद्ले सिफारिस गरी ४ सय ६७ जनाको नामावली पठाएपछि आयोगले सोको तयारी थालेको हो । परिषद्ले स्थानीय तहको निर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका रूपमा खटाउन ४ सय ६७ जना नाम सिफारिस गरी सोमबार आयोगमा पठाएको थियो ।

आयोगको आग्रहमा परिषद्ले सिफारिस गरी पठाएको नाममाथि आयोगले अध्ययन गरिरहेको आयोगले जनाएको छ । प्रत्येक जिल्लाका एक नम्बर न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतका लागि आयोगलाई सिफारिस गरी पठाएको छ । कुनै न्यायाधीश बिरामी परेको अवस्था वा विशेष कारणवश मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पूरा गर्न नसक्ने भएमा अन्य न्यायाधीशलाई खटाउनका लागि १५ जना न्यायाधीशलाई जगेडामा पनि राखिएको छ । एक न्यायाधीश मात्रै रहने जिल्लामा ती जिल्लाका न्यायाधीश स्वतः मुख्य निर्वाचन अधिकृत बन्नेछन् ।

त्यसै गरी, निर्वाचन अधिकृतका लागि परिषद्ले न्याय, कानुन र सरकारी वकिल समूहबाट ३ सय ७५ जनाको नाम सिफारिस गरी निर्वाचन आयोगलाई पठाइएको छ । परिषद्ले न्याय समूहबाट १ सय ७९ जना, कानुन समूहबाट ४९ र सरकारी वकिल समूहबाट १ सय ४७ उपसचिवहरुलाई निर्वाचन अधिकृतका रूपमा खटाउन आयोगलाई सिफारिस गरी पठाएको हो ।
यसैको आधारमा आयोगले सम्बन्धित जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र उपसचिवहरूलाई आवश्यकताअनुसार निर्वाचन अधिकृतका रूपमा स्थानीय तहमा खटाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

आयोगका अनुसार करिब ६० दिन काम गर्ने गरी निर्वाचन अधिकृतहरुलाई नियुक्त गर्नेछ । आगामी चैत १० गतेदेखि नियुक्त गर्ने र त्यसलगत्तै उनीहरुले काम थाल्ने आयोगको तयारी रहेको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले स्थानीय तहको निर्वाचन सकेर जिल्ला समन्वय समितिको निर्वाचनसमेत गराई करिब १५ जेठको आसपासमा नियमित काममा फर्कनेछन् ।

परिषद्ले कुनै जिल्लामा सोही जिल्लामा कामकाज गरिरहेका न्यायाधीश काममा खटिन नसक्ने भएकाले केही स्थानका लागि उच्च अदालतका न्यायाधीशलाई पनि मुख्य निर्वाचन अधिकृत तोेकेको छ । स्थानीय तह निर्वाचन ऐन–२०७३ को दफा ८ (२) मा भनिएको मुख्य निर्वाचन अधिकृतले आफूलाई तोकिएको जिल्लाको सदरमुकाम रहेको स्थानीय तहको निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकारको प्रयोगसमेत गर्नेछन् ।

स्थानीय तह निर्वाचन ऐनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन सम्पन्न गराउने आयोगको प्रतिनिधिका रूपमा तोकिएको छ । ऐनमा उनीहरुको काम आयोगको निर्देशनको अधीनमा रही आफूलाई तोकिएको जिल्लाभित्रको निर्वाचनसम्बन्धी कामको समन्वय र सुपरीवेक्षण गरी आवश्यक निर्देशन दिने भनी उल्लेख छ । निर्वाचन अधिकृतले नै सहायक निर्वाचन अधिकृत, मतदान अधिकृतलगायत अरू कर्मचारी नियुक्त गर्छन् ।

यसैबीच आयोगले स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न गाउ“पालिका÷नगरपालिकासँग समन्वय गरी जिल्ला प्रशासन कार्यालयबाट आवश्यक व्यवस्था गराउन सरकारलाई आग्रह गरेको छ । आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोका लागि पत्र लेखी पठाएको आयोगका प्रवक्ता पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्