अब हात्तीपाइलेविरुद्धको अभियानमा तीन थरी औषधि



बाँके ।

नेपालमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रममा तीन थरीका औषधि खुवाउने तयारी भएको छ । अभियानको सुरुआतदेखि नै नेपालमा दुई थरीका औषधि खुवाउने गरिएको थियो ।

११ र १२ औं चरणसम्म औषधि खुवाउँदा पनि असफल भइरहेका दशमध्ये पाँच जिल्लामा यसपालि तीन थरीका औषधि खुवाउने भएको हो । इपिडिमियोलोजी तथा रोग निवारण महाशाखाका शाखा प्रमुख डा. गोकर्ण दाहालले डीईसी र अल्वेन्डाजोल खुवाउने गरिएको अभियानमा यसपालीदेखि आइभरमेक्टिन थपिएको बताउनुभयो ।

फाल्गुन २८ गतेदेखि १४ दिनसम्म हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रम चल्दैछ । नेपालका दश वटा जिल्लाहरू बाँके, दाङ, कपिवस्तु, कैलाली, मोरङ, लमजुङ, पर्वत, बाग्लुङ, बारा र झापामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइदैछ । शाखा प्रमुख डा. दाहालले बाँके, दाङ, कपिलवस्तु, कैलाली र मोरङ जिल्लामा तीन थरीका औषधि सेवन गराउने बताउनुभयो । ‘कपिलवस्तुमा १२ औं पटक औषधि खुवाइसकियो । बाँके र दाङमा पनि ११ पटक औषधि खुवाइयो, यतिका चरण पार गर्दासम्म हात्तीपाइले रोग निवारण हुन सकेन, शाखा प्रमुख डा. दाहालले भन्नुभयो, अब नेपालमा हात्तीपाइले रोग निवारणमा प्रभावकारी मानिएको आइभरमेक्टिन प्रयोगमा ल्याउँछौं ।’ आइभरमेक्टिनले हात्तीपाइलेसँगै लुतो, झुम्रा र मलेरिया रोक्नसमेत काम गर्ने अधिकारीहरूको भनाइ छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले नेपालगन्जमा आयोजना गरेको हात्तीपाइले रोगको औषधि खुवाउने अभियानको योजना तर्जुमा गोष्ठीमा दिइएको जानकारीअनुसार, तीन थरीका औषधि खुवाउने भएकाले यसपालि व्यक्तिको उचाईको आधारमा औषधिको मात्रा निर्धारण गरिनेछ । यसअघिका अभियानमा दुई थरीका औषधि थिए र उमेरका आधारमा औषधिको मात्रा छुट्याइन्थ्यो ।

महिला स्वास्थ्य स्वयंसेविका या स्वास्थ्यकर्मीले औषधिको तथ्यांकलाई आधार बनाउदा कभरेज देखिने तर वास्तविक खाने मान्छे कम हुने गरेको सम्बद्धहरूको भनाइ छ । यसपालि स्वास्थ्यकर्मीको अगाडि नै व्यक्तिलाई उपस्थित गराएर औषधि निलेपछि मात्रै रजिस्टरमा नाम लेख्नुपर्ने सर्कुलर गरिएको छ । हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवनको फम्र्याट नै परिवर्तन गरिएको छ । पहिला बुथ र घरघरमा गएर औषधि खुवाइन्थ्यो । यसपालि मान्छे भीडभाड हुने ठाउँमा गएर स्वास्थ्यकर्मीले औषधि खुवाउन भनिएको छ ।

खानेले खाइरहने र नखानेले खाँदै नखाइदिँदा हात्तीपाइले रोगविरुद्धको अभियान असफल हुँदै आएको छ । २०७८ मा गरिएको सर्वेक्षणमा बाँकेको रझेनामा ४४ प्रतिशतले मात्रै पाँच वर्षसम्म नियमित औषधि खाएको पाइएको थियो । १७ प्रतिशतले अहिलेसम्म एकपटक पनि औषधि खाएका छैनन् । नेपालका ५३ वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको अभियान सफल भइसकेको छ । दश वटा जिल्ला फेल हुँदै आएको छ । फेल भएका जिल्लामा कभरेज ६५ प्रतिशतबढी देखाउने गरिन्छ । कभरेज धेरै देखिए पनि समुदायमा रोग उस्तै रहेको छ ।

गोष्ठीमा प्रदेश स्वास्थ्यमन्त्री इन्द्रजीत थारू, इपिडिमियोलोजी तथा रोग निवारण महाशाखाका निर्देशक डा. चुमनलाल दास, प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरी, बाँकेका स्थानीय तह तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो । गोष्ठीमा विभिन्न व्यक्तित्वहरूले प्रस्तुति गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्