काठमाडौंका चोक–चोकमा भोकालाई भोजन, प्यासीलाई पानी



काठमाडौं ।

‘भोकालाई भोजन, प्यासीलाई पानी’ नाराका साथ जय महाकाल युवा समूहले कोरोना महामारीको शुरूआतदेखि खान नपाई भोकाएका नागरिकहरूलाई काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा निरन्तर निःशुल्क भोजन वितरण गर्दै आएको छ । युवा समूहको यो कार्य बिहीबार ६६० दिन पुगेको छ ।

कोरोना महामारी शुरू भएलगत्तै सरकारले ज्यान बचाउन भनेर देशमा लकडाउन जारी गरी नागरिकहरूलाई कोठा बाहिर ननिस्किन आदेश गरेको अवस्थामा ‘हुने खाने’नागरिकहरूले आफूलाई चाहिने सामग्री प्रबन्ध गरेर घरभित्र बस्दा’ ‘हुँदा खाने’ नागरिकहरूचाहिँ कठोर पीडामा परेका थिए । ‘रोगले भन्दा भोकले’ नागरिकहरूले जीवन गुमाउनुपरेको कठिन अवस्था देखेर जय महाकाल युवा समूहका अध्यक्ष लीलानाथ भण्डारीलगायत १७ युवाले सडकमा निस्किएर निःशुल्क भोजन बाँड्न शुरू गरे । ‘बीचमा केही दिन आर्थिक अभावले सेवा रोकिए तापनि फेरि सहयोगी मनहरू जुटे’ भण्डारी भन्नुहुन्छ– ‘सहायताद्वारा बिहान ११ बजे र बेलुका ५ बजे निःशुल्क खाना खुवाउने कामको निरन्तरता भइराखेको छ ।’
समूहका सदस्य राज बस्नेत भन्नुहुन्छ– ‘सडकमा बस्ने भोकाहरूलाई खुवाउनका लागि, देशमा बाँझोपन हटाएर उत्पादन बढाउन युवाहरूलाई प्रोत्साहन गर्दै कृषि व्यवसाय पनि शुरू गरेका छौं ।’

सदस्य बस्नेतले थप्नुहुन्छ– ‘मानिसले खान पायो भने पो रोगसँग लड्न सक्छ भनेर हामीले यो सेवा शुरू गरेका हांै ।’ भोको पेट नै सामाजिक विकृति, रोग र अन्य किसिमका समस्याको जड हो । राष्ट्र विकासको लागि भोकमरीको अन्त्य जरुरी छ । हामी भोकको विरुद्धको लडाइँमा छौं । पेट भोको भएन भने सबै व्यक्ति सक्षम हुन्छन् । भोकमरी भन्नेबित्तिक्कै हामीलाई हुम्ला जुम्ला र कालिकोटको याद आउँथ्यो तर आज हेर्नुस् त भोकमरी त काठमाडौंको चोक चोकमा हामिले देखिरहेका छौं । सरकारले कर्णालीको खाली पेट देखेको राम्रो हो तर काठमाडौंका खाली पेट पनि त देख्न पर्यो नि भनी सदस्य बस्नेत भन्नुहुन्छ ।

संस्थाको सुरुआती दिनका बारेमा समूहका महासचिव मनिस विक भन्नुहुन्छ– ‘विश्वलाई कोरोनाले आतंकित पारेको बेला सरकारले जनतालाई लकडाउनको नाममा घरभित्र थुन्नेबारे मात्र सोच्यो’, महासचिव बि.क थप्नुहुन्छ, –‘नागरिक भोकै परेर कुप्री परेको अवस्था देखेपछि कुनै समयमा खान नपाई खाली पेट हुन परेको अवस्थामा खाली पेट र भोकको पीडा राम्ररी अनुभव गर्नुभएका अध्यक्षको मनले मानेन । उहाँले ७५ रुपियाँबाट भोकालाई भोजन दिलाउन शुरू गर्नु भएको बेलामा हामी युवाहरू उहाँको सेवामा हातमा हात मिलाउन पुग्यौं । सबै मिली जम्मा ४१०० रुपियाँ जम्मा गरेर पशुपतिमा खाना खुवाएर कार्यक्रम शुरू गरेका थियौं । त्यसलगत्तै अन्य सहयोगी हातहरू पनि थपिँदै गए र आजसम्म खाना खुवाउन सफल भएका छौं ।

महासचिव बि.क का अनुसार, शुरूमा संस्था दर्ता भएको थिएन तर पछि सहयोगी हातहरू बढ्दै गएपछि र कार्यक्रमले निरन्तरता पाएपछि मात्र संस्था दर्ता हुन सफल भएको हो । उहाँ भन्नुहुन्छ– ‘विश्व नै कोरोनाको आतंकमा परेको बेला एउटै घरका श्रीमान्–श्रीमती, बाबु–छोरा, आमा–छोरी पनि सँगै बस्न डराइरहेको अवस्था थियो । गरिब दुखी घर न घाटको हुँदा आफ्नो ज्यानको प्रवाहले धनीमानी र हुने खानेहरू घरभित्र बसेका थिए । हामीलाई पनि ज्यानको माया, मृत्युको डर त पक्कै थियो तर धेरै मानव जाती भोको पेटमा रोइरहेको देख्दा ज्यानको माया गरेर लुकी राख्न सकिएन।’ कालले विश्वलाई भुमरीमा पारेको समयमा कालको प्रवाह नगरी यो सेवालाई अगाडि बढाइरहेको भएर यो संस्थाको नाम जय महाकाल राखिएको हो ।’

माहासचिव बि.क बिगतका दिन सम्झिदै भन्नुहुन्छ, हामीले महामारीका दिनमा १०,००० जनासम्म लाई खाना खुवाएका छौं । आजका दिनसम्म आइपुग्दा दैनिक २५० देखि ३०० जनाले आफ्नो भोको पेट भर्न पाई राख्नुभएको छ । रोजगार नपाएर भोको पेट लिएर हामीकहाँ आउनुभएका १५० भन्दा बढीलाई काम खोजिदिएर रोजगारी बनाउने सेवा पनि गरी सकेका छौं ।
समूहले गर्दै आएका अन्य काम सेवाहरूबारे माहासचिव बि.क भन्नुहुन्छ– ‘युवाहरू खाना खान नपाएर सडकमा छन्, बेरोजगार भएर विदेशिएका छन् । गाउँघरका खेतबारी बाँझो छन्,यस्तो अवस्था निर्मूल पारी युवालाई स्वरोजगार बनाउनको लागि ‘कृषि क्रान्ती अभियान’ पनि शुरू गरेका छौ । यही संस्थाका एक सदस्यको नुवाकोटमा रहेको १६ रोपनी जग्गामा आलु र गहुँ खेती शुरू गरिएको छ । प्रत्येक शनिबार ८ देखि १० बजेसम्म ‘हरियो र सफा नेपाल निर्माण अभियान’ कार्यक्रम पनि काठमाडौंमा गर्दै आएका छौं ।

यसअन्तर्गत १० वटा जंगलमा १०,००० वटा बिरुवा पनि रोपिएको छ । राज्यले फोहोर गर्नेलाई कारबाहीको कानुन बनाएको छ तर पनि जनताको फोहोर गर्ने बानी अझै छँदै छ । अब युवाले केही गर्नुपर्छ ।’ युवाले भाषण मात्र हैन कर्म पनि गर्नुपर्छ । ढुङ्गामुडा हानेर विरोध मात्र हैन देशको लागि सेवा पनि गर्नुपर्छ भनेर देश दर्शन तथा जागरण अभियान शुरू गरेका छौं ।

समूहले नयाँ बसपार्क गोङबुस्थित खाना खुवाउँदै गर्दा खाना खान आउनुभएका धादिङका गम बहादुर बि.क, जसका दुवै मिर्गौला फेल भई वीर अस्पतालमा डाइलोसिस गराई रहनुभएको छ । उहाँ युवा समूहको सेवाप्रति खुसी व्यक्त गर्दै भन्नुहुन्छ– ‘मैले केही काम गर्न सक्दिन । वीर अस्पतालमा डायलोसिसको लागि जान पर्ने हुँदा धादिङबाट आएर गोलढुङ्गामा बसेको छु । चार वटा बच्चा छन् । बुढीले काम गरेर कोठा भाडा तिर्न पनि बल्ल बल्ल पुग्छ । खानलाई समस्या छ । यो संस्थाले निःशुल्क खाना बाँडेर खान पाएकोमा म धेरै नै खुसी छु ।’

हाल बसुन्धारामा बस्दै आउनुभएका मजदुर अरुण प्रधानको पनि आफ्नै कथा छ । आफ्नो भाँचिएको हात देखाउँदै उहाँ भन्नुहुन्छ– ‘मजदुरी गरी बिहान बेलुकाको छाक टार्दै आएको थिएँ । काममै जाँदा मेरो हात भाँचियो । काम गरेर खाने अवस्था मेरो अहिले छैन । केही दिन भोकै पनि बस्नु पर्यो मलाई । धन्य होस् यहाँ आएर खान पाएँ । एकदम राम्रो सेवा गरिरानुभाछ । धेरैलाई सहयोग गर्नुभएको छ ।’

तस्बिर : जय महाकाल युवा समूहको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्