विद्यालयभित्रै पिटिएका शिक्षक पीडा लुकाउँदै कक्षामा



हेटौंडा ।

हेटौंडा उपमहानगरपालिका–११ नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीले आफूखुसी विद्यालय व्यवस्थापन समितिसमक्ष राजीनामा दिएपश्चात् लामो समयसम्म विद्यालय व्यवस्थापन समितिले उचित र सर्वस्वीकार्य निर्णय गर्न सकेन । र, त्यो यद्यपि कायम छ ।

विद्यालय व्यवस्थापन समिति र प्रअले आफ्नो अख्तियार दुरुपयोग गरी शिक्षकको सञ्चयकोषको रकम कर्मचारी सञ्चयकोषमा समयमै जम्मा नगरी अपचलन गरेर साउनदेखि मंसिरसम्मको सञ्चयकोष रकम हालसम्म बैंकमा दाखिला नगर्दा शिक्षकको आर्थिक पक्षमा दीर्घकालीन असर पर्दासमेत विद्यालयका प्रअबाट सञ्चयकोष सम्बन्धमा ‘अदालतमा मुद्दा हाल्नुस्’ भन्ने गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति आएको शिक्षकको दाबी छ ।

‘यसबारे विद्यालय व्यवस्थापन समिति मौन रहनुले समस्या कति विकराल रहेछ भन्ने कुरा स्पष्ट पार्दछ’, शिक्षकहरुले बुधबार जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ– ‘विद्यालयमा शैक्षिक वातावरण कायम गरियोस् भनी पटक–पटक अनुरोध गरिएको थियो ।’ व्यवस्थापन समितिलाई ध्यानाकर्षण गराउँदा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस पराजुलीबाट ‘शिक्षकको आन्दोलन हेरौंला’ भन्ने गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति आएको विज्ञप्तिमा दाबी गरिएको छ ।

‘प्रधानाध्यापकको राजीनामा अविलम्ब स्वीकृत गरियोस् भन्ने आमशिक्षकको आवाज हो’, उनीहरुले भनेका छन्– ‘यदि यो आवाजको बेवास्ता भए र विद्यालयको शैक्षिक वातावरण थप धमिलो हुन गए त्यसको जिम्मेवारी शिक्षक नहुने व्यहोरा स्पष्ट पार्न चाहन्छौं । हाम्रो मूल ध्येय पठनपाठन हो । हामी आमशिक्षक यसमा प्रतिबद्ध छौं ।’ सिर्जित घटनाका कारण फागुन १० गते विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिको अपरिपक्वता, कुशल व्यवस्थापन अभाव रहेको विद्यालय प्रशासनका कारण नियोजित र योजनाबद्ध तरिकाले विद्यालयका निर्दोष शिक्षकमाथि हातपात भएको शिक्षकको दाबी छ ।

शिक्षकमाथि गैरअभिभावकबाट विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापककै अगाडि हातपात भएको थियो । विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले विद्यालयभित्र यस्ता किसिमका अवाञ्छित, नियोजित, आपराधिक घटना घटाएको भन्दै शिक्षकहरुले निन्दा गरेका छन् । शिक्षकहरुले दोषीहरुउपर आवश्यक कारबाही माग गरेका छन् ।

घटनापछि पनि शिक्षकहरुले कक्षाकोठामा शिक्षण त गरिरहेका छन् । यसले पार्ने अल्पकालीन र दीर्घकालीन असरप्रति विद्यालय प्रशासनको ध्यान गएको छैन । ‘सौहार्द वातावरणमा शिक्षकहरु पठनपाठन गर्न सदा तयार छन् । शैक्षिक वातावरणअनुकूल बनाउन सबैको ध्यान आकर्षित होस् । हाम्रो माग यथावत् रहेको व्यहोरा स्पष्ट पार्न चाहन्छौं ।’ –उनीहरुको दाबी छ ।

शिक्षक तथा कर्मचारीको सञ्चयकोषबापत रकम जम्मा नभएपछि दुई पक्षबीच विवाद सिर्जना भएको हो । विवादका कारण पठनपाठनमा समस्या सिर्जना भएपछि मंगलबार विद्यार्थी आन्दोलन उत्रिएका थिए । उनीहरुले पूर्वपश्चिम राजमार्ग अवरोध गरेर पठनपाठन पूर्णरूपमा सुचारु माग गर्दै सरोकारवाला पक्षको ध्यानाकर्षण गराएका छन् ।

प्रधानाध्यापक भण्डारीले विद्यालयको बस दुर्घटना परेकाले मर्मत गरिएको र आन्तरिक स्रोतबाट नियुक्त भएका शिक्षकलाई नियमित तलब उपलब्ध गराउँदा सञ्चयकोषबापत रकम बैंकमा जम्मा गर्न नसकिएको स्वीकार गर्नुभएको छ । विवाद बढ्दै जाँदा शिक्षकहरुले आफ्नो नियुक्तिअनुसार पठनपाठन गराउँदा जोड दुईका कक्षा नियमित सञ्चालनमा असर परेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

प्रअ भण्डारीले बस मर्मतमा खर्च भएको रकम बीमाबाट प्राप्त भएपछि सञ्चयकोषमा दाखिला गर्ने भनेर जानकारी गराउँदा समेत आफूविरुद्ध गतिविधि भएको दाबी गर्नुभएको छ । ‘मैले व्यवस्थापन समितिलाई दबाब दिन दुईपटक हस्ताक्षर नगरी राजीनामा समेत दिएको थिएँ । तर, समस्या समाधान भएन ।’ –उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्