राजधानीको फोहोर १२ दिनपछि उठ्यो



काठमाडौं ।

स्थानीयको अवरोधका कारण रोकिएको फोहोर हिजो बिहीबारबाट फेरि उठ्न थालेको छ । सडक विभाग र काठमाडौं महानगरपालिकाको रोहबरमा स्थानीयको तर्फबाट तारकेश्वर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष मनोहरी तिवारी र शैलुङ कन्ट्रक्सनका अधिकारीबीच बुधबार रातीसहमति भएपछि सिसडोल ल्यान्डफिल साइटमा जारी अवरोध हटेको हो ।

सहमतिअनुसार चैत मसान्तभित्र मुड्खु गेटदेखि तीनपिप्लेसम्मको सडक कालोपत्रे गर्नुपर्ने र बाँकी क्षेत्रसमेत नियमित रूपमा कालोपत्रे गर्नुपर्नेछ । कामपा सिसडोल ल्यान्डफिल साइट इन्चार्ज रविन प्यासीका अनुसार बिहिबार बिहान ४ बजेबाट फोहोर उठ्न शुरु भएको हो । उहाँका अनुसार बिहीबार करिब २ सय ५० टन फोहोर ल्यान्डफिल साइटमा खसेको छ । कामपाको करिब १ सय ३५ र बाँकी निजी र विभिन्न स्थानीय तहको फोहोर ल्यान्डफिलमा खसेका थियो ।

सारदा अधिकारीको स्वमित्वमा रहेको सैलुङ कन्ट्रक्सनले ७ वर्षदेखि ठेक्का लिएको पासाङल्हामु सडकखण्डमा सडक नबनेपछि स्थानीयले पटकपटक आन्दोलन गर्दासमेत बेवास्ता गरेपछि वडाकै नेतृत्वमा सडक अवरोध गरिएको थियो ।

चैत मसान्तसम्म ६ किलोमिटर बाटो कालोपत्रे नगरे पुनः अन्तिम चरणको आन्दोलनमा उत्रने स्थानीयले चेतावनी दिएको छ । ठेकेदार कम्पनीले बिहीबारबाट लगातार काम गरी चैत मसान्तसम्ममा काम सक्ने जनाएको छ । बाटो कालोपत्र भए नभएको अनुगमन सडक विभाग र कामपाले गर्ने सहमति भएको छ ।

१२ दिनदेखि फोहोर विसर्जन गर्न नसक्दा राजधानीलगायत उपत्यका र आसपासका १८ स्थानीय निकायमा दुर्गन्ध फैलन थालेको थियो । फोहोर बढ्दै गएपछि कामपाले राजधानीबासीलाई केही दिन घरबाट फोहोर ननिकाल्न अपिल गरेको थियो । हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने ६ किलोमिटर बाटो मर्मतको काम समयमा नै सम्पन्न नगरेको जनाउँदै पासाङल्हामु राजमार्गका स्थानीयले गरेको अवरोधका कारण स्थानीय तहको फोहोर उठ्न नसकेको हो ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले स्थानीयको माग सम्बोधन गर्न कामपाले लगातार ठेकेदार कम्पनीलाई दबाब दिइरहने बताउनुभयो । राजधानीको सडक गल्लीमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न एक साता लाग्ने जिकिर गर्दै उहाँले भन्नुभयो– ‘हामी लगातार काम गर्दा पनि ५ देखि ७ दिनसम्म लाग्नसक्छ ।’ राजधानीबाट दैनिक करिब १ हजार टन फोहोर सिसडोल ल्यान्डफिल साइटमा विसर्जन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्