बुद्धधर्ममा महाकरुणामयी देवी आर्यताराको विशेष स्थान



  • यशोधरा वज्राचार्य

नेपाल प्राचीनकालदेखि धार्मिक स्वतन्त्रता भएको देश मानिन्छ । लिच्छवि राजा मानदेवका अभिलेखहरूमा धर्महरूमा पारस्परिक मैत्रीका उदाहरण देखिन्छ । लिच्द्धविकालमा एकै परिवार अझ पति–पत्नीमा पनि भिन्न धर्म वा सम्प्रदाय ग्रहण गर्ने सुविधा भएको उल्लेख पाइन्छ । यही सर्वधर्म समन्वयको आदर्शले गर्दा धर्महरूका अनुयायीमा प्रेम र सद्भाव कायम हुन सकेकाले आजसम्म नेपालमा अनेक धर्म तथा सम्प्रदायहरूमा विभिन्नताको भावना पाइँदैन । आर्यतारा बौद्ध देवी भए तापनि हिन्दु धर्मले पनि अत्यन्तै पुजिँदै आएका महाकरुणा भएकी देवी हुन् । नेपालमा आर्यतारालाई भिन्नभिन्न नाम र स्वरूपले पुजिँदै आउनुका साथै आर्यताराका विभिन्न किसिमका मूर्तिहरू पनि अनगिन्ती पाइन्छन् ।

महायान–वज्रयान बुद्धधर्ममा आर्यताराको विशेष स्थान छ । बौद्ध ग्रन्थमा उल्लेख भएअनुसार आर्यतारा बुद्ध हुनलाई आवश्यक पर्ने सर्वज्ञता हासिल गरिसकेको आर्य बोधिसत्व हुन् । जबसम्म सम्पूर्ण सत्वप्राणीहरूले दुःखमुक्त निर्वाण प्राप्त गर्दैनन्, तबसम्म आफूले निर्वाण प्राप्त गर्दिन भनी संकल्प लिई हरपल सत्वप्राणीहरूलाई उद्धार गर्दै आउनुभएकी नारी बोधिसत्वका रूपमा पुजिँदै आएका छन् । आर्यताराको उत्पत्ति आर्यावलोकितेश्वरको महाकरुणारूपी आँसुबाट भएको मानिन्छ । बौद्ध ग्रन्थहरूमा उल्लेख भएअनुसार आर्यावलोकितेश्वरले सकल सत्वप्राणीहरूमा महाकरुणा राखी हरपल हरक्षण सत्वप्राणीहरूलाई उद्धार गर्दै आउनुभएको थियो । यसरी अनवरतरूपमा सत्वप्राणीहरू उद्धार गर्दै आउँदा पनि जन्ममरणको भवचक्रमा परी अनेक दुःखकष्ट पाइरहेका प्राणीहरूका संख्या कम हुनुका साटो झन्झन् बढ्दै गइरहेको देखेर एकदिन उहाँको दुवै आँखाट एक–एक थोपा आँसु झर्न पुगी त्यस आँसुबाट स्वेततारा र हरिततारा उत्पत्ति भएको मानिन्छ । आर्यतारालाई सकल प्राणीहरूले आफूलाई दुःखकष्ट, आपतविपत, रोगव्याधी, भय आदि हुँदा शरण जान सक्ने महाकरुणा भएकी जगत् माताको रूपमा पुजिँदै आएका छन् ।

आर्यतारामा भएको श्रद्धा र विश्वासले आर्यतारालई एक नामले मात्र स्मरण नगरी १०८ विभिन्न नामले समेत पुजिने गरिन्छ । आर्यताराको १०८ नाममा एकरूपता पाइँदैन । आर्यतारालाई यसरी विभिन्न नामले पुजिनुमा आर्यतारामा भएको श्रद्धा, भक्तिभावले गर्दा आफूलाई मन पर्ने, जानेको नामबाट स्मरण, मन्त्र जप, साधना, समाधि गर्दै आएका देखिन्छन् । आर्यताराको १०८ विभिन्न नामहरू बौद्ध ग्रन्थहरूमा यसरी उल्लेख भएका पाइन्छन्– आर्यतारा, महत्तरीतारा, प्रशन्नतारा, शोतांगतारा, वज्रतारा, महाचित्ततारा, मृत्युवचनोतारा, शुक्रतारा, जांगुलीतारा, धनन्दतारा, श्रीमहातारा, शक्रैकजटीतारा, लोचनीतारा, मामकीतारा, पाण्डलातारा, कमलातारा, भृकुटीतारा, पुष्पतारा, धूपतारा, दीपतारा, गन्धतारा, रसतारा, सप्तलोचनीतारा, श्लेतलोचनीतारा, नीलतारा, पीततारा, रक्ततारा, श्यामतारा, धुम्रतारा, विचित्रतारा, दिव्यतारा, सुमंगलतारा, उष्णीषतारा, सिद्धिलोचनीतारा, ध्वजतारा, एकजटीतारा, योगतारा, विमलतारा, नीलोत्पलतारा, भुवनतारा, विमलसूर्यतारा, अमृततारा, वरुणतारा, अवर्णतारा, क्रान्तमतितारा, मुखेन्द्रमतितारा, पुष्पमतितारा, अन्नमतितारा, रत्नमञ्जरीतारा, स्कन्धतारा, ज्ञानरूपतारा, सुरूपतारा, रागतारा, द्वेषतारा, मोहतारा, लक्ष्मीतारा, ध्यानतारा, सरस्वतीतारा, प्रचण्डतारा, चन्द्रमतितारा, मोक्षमतितारा, भयंकरतारा, अभयंकरतारा, बीणतारा, वज्रहुंकारतारा, लोकार्थतारा, मनोहरतारा, रूपतारा, बीजतारा, सुगन्धतारा, शान्ततारा, हयग्रीवतारा, रक्ताचक्रतारा, आकाशतारा, सर्वसुन्दरीतारा, सिद्धान्ततारा, रक्षतारा, महाकारुणीकतारा, घण्ठतारा, जन्मतारा, रोगप्रशमनतारा, प्रवणतारा, अवरणतारा, पृथिवीतारा, अरुणतारा, बुद्धशक्तितारा, धर्मतारा, स्वर्गतारा, ध्वजपताकतारा, ह्रींवक्ततारा, सुलोचनीतारा, पद्मनृत्यतारा, व्यञ्जनतारा, मंगलतारा, हास्यतारा, लाश्यतारा, रसरंगतारा, सुमंगलतारा, महामंगलतारा, सम्पूर्णतारा, दीपराजतारा, वंशतारा, वज्रवैराचनीतारा, वज्रमामकीतारा, वज्रपाण्डलातारा, भीष्मतारा, सकलमंगलतारा र छत्रतारा ।

बुद्धहरूको बुद्धत्व प्राप्तिमा आर्यताराको प्रमुख भूमिका रहने भएकोले आर्यतारालाई बुद्ध जननी मानिन्छ । महायान–वज्रयान ग्रन्थहरूमा विभिन्न ताराहरूको वर्णन पाइन्छ । त्यसमा आर्यतारालाई विशेष स्थान दिएको पाइन्छ । ती ग्रन्थमा उल्लेख भएअनुसार आर्यतारा ताँ कारेणोत्पन्न अर्थात् ताँ बीजाक्षरबाट उत्पन्न भई सबै लोकका सत्वप्राणीहका रक्षा र उद्धार गर्दै आउनुभएकाले तारणी ‘तारा’ नामले प्रसिद्ध भएको देखिन्छ । आर्यताराले अष्ट महाभय (हिंस्रक जीवजन्तुको भय, चोर डाँकाहरूको भय, अग्निभय, वायुभय, जलभय, शत्रुभय, वज्रपातको भय, भूकम्पको भय), चतुरमार भय (क्लेशमार, स्कन्धमार देवपुत्रमार, मृत्युमार), पापकर्म, रोगव्याधी, आपत–विपत आदिबाट आकान्त भई दुःखको अकथनीय भुमरीमा परेका सकल सत्वप्राणीहरूलाई पार लगाई सुख, ऐश्वर्य प्रदान गरी निर्वाणको मार्गमा अग्रसर गराउने मुक्तिदाताको रूपमा बौद्ध समाजमा स्थापित भएकी छिन् । आर्यताराको दायाँ हात वरद मुद्रामा र बायाँ हात अभय मुद्रामा रही हृदयसम्म ल्याई दुवै हातले नीलकमल (नीलोत्पल) को फूलको डाँठ समाई लालितासन अर्थात् अर्धवज्रसानमा बस्नुभएकी हरियो वर्ण (हरितवर्ण) की हुन् । आर्यताराले आर्य बोधिसत्वले लगाउने सम्पूर्ण आभूषण धारण गरेकी षोडष यौवना (१६ वर्षे यौवन) परम सुन्दरी, अमिताभ तथागत अंकित मुकुट लगाउनुभएकी, मधुर मुस्कानले सकल सत्वप्राणीहरूलाई सदा महाकरुणाले हेर्नुहुने सबैका माता हुन् ।

गृहस्थ बौद्धहरूले विशेष गरी आर्यतारालाई भक्तिभाव राखी पुजिँदै आएको पाइन्छ । त्यस्तै बौद्ध साहित्यमा विभिन्न ताराहरूलाई आफ्नो इष्टदेवीका रूपमा व्याख्या, वर्णन आदि गरेर धेरै ग्रन्थहरू रचना भएको पाइन्छ । आर्यतारा र भृकुटी ताराको उल्लेख ईशाको पहिलो–दोस्रो शताब्दीमा रचना भएको आर्यमञ्जुश्री मूलकल्पको दोस्रो अध्याय मण्डलविधान परिवर्तमा पाइन्छ । सातौं शताब्दीमा रचना भएको हेवज्रतन्त्रको दोस्रो अध्यायमा पनि भृकुटी ताराको उल्लेख पाइन्छ । ईशाको तेस्रो शताब्दीमा रचना भएको गृह्यसमाज तन्त्रमा पञ्चबुद्धका प्रज्ञा (शक्ति) का रूपमा लोचना, मामकी, पाण्डला, ताराको उत्पत्तिबारे उल्लेख भएको पाइन्छ । ईशाको पाँचौं शताब्दीमा रचना भएको साधनमालामा विभिन्न नामका ताराहरूका साधनाबारे उल्लेख पाइन्छ । तारा साधना तिलोपा (ई. ९८८–१०६९) मा २१ विभिन्न ताराहरूको नाम, वर्ण, मन्त्र, साधना गर्ने तरिका आदिका वर्णन पाइन्छ । निष्पन्नयोगावलिमा वज्रतारा मण्डल, पञ्चबुद्धका प्रज्ञाहरू लोचना, मामकी, पाण्डला, तारा, वज्रधातेश्वरी ताराहरू धर्मधातुमण्डल, वज्रधातुमण्डलमा पाइन्छन् । साथै ईशाको एघारौं शताब्दीमा आचार्य अद्वयवज्रद्वारा रचना गरिएको अद्वय वज्रसंग्रहमा पनि पञ्चबुद्ध र पञ्चबुद्धका पाँच प्रज्ञाहरूका बारेमा वर्णन गरेका पाइन्छन् । यी बाहेक अरु धेरै बौद्ध ग्रन्थहरूमा विभिन्न ताराहरूको उल्लेख भई विभिन्न ग्रन्थहरूसमेत रचना भएको पाइन्छ ।

बुद्धधर्म मान्ने देशहरूमा पहिलेदेखि ताराका विभिन्न मूर्तिहरू, भित्तेचित्र, पौवाचित्र, ग्रन्थचित्र आदि निर्माण हुँदै आएका पाइन्छन् । आर्यावलोकितेश्वर (करुणामय) को दायाँबायाँ हरिततारा र स्वैतताराका मूर्ति राखेको पाइन्छ । बौद्ध गुम्बाहरूमा आर्यतारा, हरिततारा, स्वेततारा, भृकृटीतारा, विभिन्न ताराहरूका मूर्ति, पौवा, भित्तेचित्रहरू राखेका पाइन्छन् । धर्मधातुचैत्यमा पञ्चबुद्धसहित पञ्चताराहरू लोचना, नामकी, पाण्डला, तारा र वज्रधातेश्वरीका मूर्तिहरू स्थापना गरेको पाइन्छ । आर्यताराको मूर्ति विहारहरूमा अरु बौद्ध देवीदेवतासँगै विभिन्न ताराहरूका मूर्ति स्थापना गरी पूजा गर्दै आएका पाइन्छन् ।

अष्टोत्तरशत (ताराशत) स्तोत्रलाई नेपाल, भारत, चीन, तिब्बत, जापानलगायत संसारभरि पाठ गर्ने प्रचलन पाइन्छ । नेपालमा अष्टोत्तरशत स्तोत्रको विशेष महत्व भएको देखिन्छ । पहिलेदेखि नै आपत–विपत पर्दा, रोगव्याधी हुँदा, विभिन्न भय आदि हुँदा, सिकिस्त भई मृत्यु नजिक आउँदा आदि दुःखकष्टको समयमा शरण जान सक्ने एकमात्र साहारा आर्यतारादेवी र आर्यतारा देवीको १०८ नामसहित व्याख्या भएको अष्टोत्तरशत (ताराशत) स्तोत्रलाई अति श्रद्धा र विश्वासका पाठ गरी दुःखकष्टबाट पार पाउन सफल हुन्छन् भन्ने विश्वास पाइन्छ । यस स्तोत्र सानो पुस्तिकाको रूपमा रहे तापनि यस स्तोत्रमा उल्लेख भएका कुराहरूमा श्रद्धा, आस्था र विश्वास गर्ने हो भने अष्टोत्तरशत तारास्तोत्रलाई शील, समाधि, प्रज्ञासहित पाठ गर्दा महत्त (अति धेरै) फल प्राप्त हुने कुरा उल्लेख पाइन्छ । यस स्तोत्रमा उल्लेख भएअनुसार सकल पाप नाश भई मंगल भएर कीर्तिमान हुन्छ । धनधान्य आदि वृद्धि भई रोग नभई शरीर स्वस्थ हुन्छ । आयु र आरोग्य उत्पत्ति भएर सर्वसत्वप्राणीहरूको सुख वृद्धि हुन्छ । सर्वसत्व प्राणीहरूमा लक्ष्मी, सम्पत्ति आदि वृद्धि हुन्छ, सत्वप्राणीहरूमा परस्पर मैत्रीभाव वृद्धि हुन्छ । शत्रुहरू सबै मित्र हुन्छन् । अष्ट महाभयदेखि सम्पूर्ण भय नाश हुन्छन् । अकाल मृत्यु हुँदैन । आयु सकी मृत्यु भएमा सुखावती भूमिमा उत्पन्न हुन्छन् । यस स्तोत्र पाठले सप्तवृद्धि (आयु, यश, विद्या, सुख, आरोग्य, जनधन, सन्तान) हुन्छन् । मनुष्य जीवन नै सफल हुन्छ । अझ यस अष्टोत्तरशत तारास्तोत्र स्मरण गर्दा मात्र पनि अनन्त फल प्राप्त हुन्छ भन्ने उल्लेख पाइन्छ ।

यस सानो स्तोत्र पुस्तिकामा ताराशत व्याख्या भएको स्थान पोतलक पर्वतको व्याख्यासहित आर्यबोधिसत्व वज्रपाणिले लोककल्याणका लागि मुनीश्वर शाक्यसिंह भगवान्लाई संसाररूपी समुद्रमा डुबिरहेका सकल सत्वप्राणीहरूको उद्धारका लागि धर्मोपदेश गर्नुहोस् भनी अध्येषण गर्नुभएको वर्णन पाइन्छ । जगत्का नाथ भगवान् बुद्धले आर्यताराको अष्टोत्तरशत नामसहित गुणफलको देशना गर्नुभएको कुराको वर्णन र यस स्तोत्र पाठ, स्मरण गर्नाले प्राप्त हुने अनन्त फलको वर्णन भएको पाइन्छ । सत्व प्राणीहरूको रक्षा र उद्धारका लागि नै उत्पत्ति भएकी देवी भएकीले उहाँमा अगाध श्रद्धा राखी शरण जान सकेमा फल पनि अवश्य प्राप्त हुन्छ ।

अष्टोत्तरशत (ताराशत) स्तोत्रमा उल्लेख भएका आर्यताराका १०८ नामहरू यसप्रकार छन्– अपराजिता, महारौद्री, विश्वरूपी, महाबला, सःश्री, कल्पाग्नि, महातेजा, लोकधात्री, महायशा, सरस्वती, विशालाक्षी, प्रज्ञा श्री, बुद्धिवद्र्धिनी, धृतिदा, पुष्टिदा, ऊँकारा, कामरुपिणी, हितोद्युक्ता, तारिणी, जया, प्रज्ञापारमिता, देवी, आर्यतारा, मनोरमा, दुन्दुभी, शंखिनी, पूर्णा, विद्याराज्ञी, प्रियंवदा, चन्द्रानना, महागौरी, अजिता, पीतवाससा, महामाया, महास्वेता, महाबलपराक्रमा, महारौद्री, महाचण्डी, दुष्टसत्वनिसूदनी, प्रशान्ता, शान्तरूपा, विजया, ज्वलनप्रभा, विद्युन्माली, ध्वजी, खड्गी, चक्री, चापादरीयुधा, जम्भनी, स्तम्भनी, काली, कालरात्रि, निशाचरी, रक्षणी, मोहनी, शान्ता, कान्तारी, द्राविणी, शुभा, ब्रह्माणी, वेदमाता, गुह्यराट, गुह्यवासिनी, मांगल्या, शाङ्करी, शौम्या, जातवेदा, मनोजवा, कापालिनी, महावेगा, सन्ध्या, सत्या, अपराजिता, वरदा, शासिनी, शास्त्री, स्त्रीरूपा, मितविक्रमा, शवरी, योगिनी, सिद्धा, चण्डाली, अमृता, ध्रुवा, धन्या, पुण्या, महाभागा, सुभागा, प्रियदर्शनी, कृतान्तत्रासिनी, भीमा, उग्रा, उग्रमहातपा, हितोद्यक्ता, शरण्या, भक्तिबत्सला, वागीश्वरी, शिवा, सूक्ष्मा, नृत्या, सर्वत्रचानुगा, सर्वार्थसाधनी, भद्रा, गोप्ती, धात्री, धनंददा, अभया, गौतमी ।

यस अष्टोत्तरशत स्तोत्रमा उल्लिखित १०८ ताराहरूका नाम र एकसय आठ ताराहरूको नाममा धेरै नै फरक देखिन्छ । महायान–वज्रयान ग्रन्थहरूमा उल्लेख भएका ताराहरूका नाम ‘१०८ ताराहरूको नामावली’ मा उल्लेख भएका ताराहरूका नामसँग मिलेकोले र साधनमाला, मण्डला आदिमा उल्लेख ताराहरू नाम पनि ‘१०८ ताराहरूको नामावली’ सँग पनि मिलेकोले ‘अष्टोत्तरशत तारास्तोत्र’ पछि रचना भएको देखिन्छ । यस्तै बौद्ध ग्रन्थहरूमा उल्लिखित २१ आर्यताराहरूको नामलाई कायवाक्चित्त शुद्ध गरी वाचन गर्न सके मात्र पनि अनन्त पुण्य प्राप्त हुने मान्यता पाइन्छ । २१ आर्यताराहरूको नाम यस प्रकार छन्– आर्यातुरेवीरा ताराप, आर्याशुक्लकान्ता तारा, आर्याकनकवर्णा तारा, आर्यातथागतोष्णीषी तारा, आर्या हूँकारनादिनी तारा, आर्या त्रैलोक्याविजया तारा, अर्या प्रमर्दिनी तारा, आर्या मारमर्दनेश्वरी तारा, आर्या खदिरवणी तारा, आर्या शोकविनोदनी तारा, आर्या जगद्वशी तारा, आर्या मंगलालोका तारा, आर्या परिचायिका तारा, आर्या भृकुटी तारा, आर्या महाशान्ता तारा, आर्या रागनिषूदनी तारा, आर्या सुखसाधनी तारा, आर्या विजया तारा, आर्या दुःखदहनी तारा, आर्या सिद्धिसम्भवा तारा र आर्या परिनिष्पन्ना तारा ।

बौद्ध समाजमा आर्यतारालाई आफूलाई दुःखकष्ट पर्दा शरणमा जान सकिने इष्टदेवीको रूपमा पुजिन्छ । आफ्नो स्वार्थका लागि पूजापाठ गर्दा त्यसको फल नआउन सक्छ, तर स्वार्थभन्दा माथि उठेर सर्वसत्व प्राणीहरूका लागि भनी कायवाक्चित्तबाटै बोधिचित्तोत्पाद गरी शुद्ध आशयले पूजापाठ गर्न सकेमा अवश्य फल प्राप्त हुन्छ । यदि आफूलाई दुःखकष्ट पर्दा शुद्ध चित्तले एकाग्र भई आर्यताराको ध्यानमा मग्न भएर पाठपूजा गरेमा आफूले चित्ताएका फल अर्थात् दुःखकष्टबाट अवश्य मुक्ति पाइन्छ भनी विश्वास गर्न सकिन्छ । आर्यताराको अति प्रभावशाली ‘एकश्लोकी तारास्तुति’ जसको एकाग्र चित्तले आर्यताराको ध्यानमा मग्न भएर पाठ गर्नुपर्छ ।
नमस्तारे तुरे वीरे तुत्तारे भयनाशिनि । तुरे सर्वार्थदे तारे स्वाहाकारे नमोद्रस्तुते । भवतु सर्वमंगलम् ।
(लेखक वज्राचार्य एम.ए. (महायान बुद्धधर्म) हुनुहुन्छ ।)

 

प्रतिक्रिया दिनुहोस्