एमालेको अडान यथावतै, फुटको संघारमा सत्ता गठबन्धन

विनानिष्कर्ष सकियो कांग्रेस–एमाले वार्ता



काठमाडौं ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्न सत्ता गठबन्धनबाटै असहयोग भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दल एमालेको साथ खोज्नुभएको छ । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेसँगै एमसीसी पारित गर्न प्रधानमन्त्री देउवाले एमाले साथ खोज्नुभएको हो ।

संसद्मा पेस भएको एमसीसी सम्झौता पारित गराउनुपर्ने दबाबमा रहेका उहाँले एमालेको साथ लिएर अगाडि बढ्ने गरी छलफल थाल्नुभएको छ । प्रधानमन्त्री देउवाले एमालेसँग पटक–पटक वार्ता गर्दै आउनुभएको छ । एमसीसी परियोजनाले यही फागुन १६ गतेभित्र एमसीसी अनुमोदन गर्न दबाब दिँदै आएको छ । उक्त दबाबसँगै प्रधानमन्त्री देउवा सत्ता गठबन्धन टुटाएर भए पनि एमालेको साथ लिएर एमसीसी अनुमोदन गराउने आन्तरिक गृहकार्यमा जुट्नुभएको छ ।

बिहीबार प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग प्रधानमन्त्री देउवाले गर्नुभएको छलफलमा आ–आफ्नै अडान कायमै राखेपछि कांग्रेस एमालेसँग प्याकेजमै सहमति गर्न तयार देखिएको छ । संसद् भवन नयाँ बानेश्वरमा एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा स्वयम् जानुभएको थियो । भेटमा प्रधानमन्त्री देउवाले प्रचण्ड र नेपालबाट एमसीसी पारित गर्न असहयोग भएकाले एमालेसँग सहकार्य गरी अघि बढ्न आफ्नो पार्टी तयार रहेको प्रस्ताव राख्नुभएको थियो । जवाफमा एमालेका नेताहरुले एमसीसीको विषयमा संसद्मा संवाद हुने वातावरण सिर्जना गर्न सभामुख अग्नि सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव लगाउनुपर्ने सर्त अगाडि सारेको थियो । उक्त प्रस्तावको बारेमा प्रधानमन्त्री देउवाले आफू सबै विकल्पमा सहमति गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभएको भेटमा सहभागी एक नेताले बताए ।

कांग्रेस र एमालेबीच भएको भेटवार्तापछि कांग्रेसका महामन्त्री गगन थापाले अब सत्ता गठबन्धन धरापमा परेको बताउनुभयो । गठबन्धन धरापमा परिसकेको र अगाडि जान नसक्ने निष्कर्षमा पुगिएको उहाँको भनाइ थियो । कांग्रेसले अब माओवादी र एकीकृत समाजवादीसँग सहकार्य गरेर अगाडि बढ्न नसक्ने निष्कर्ष निकाल्दै प्रतिपक्ष दलसँग संवाद बढाएको हो ।

यसैबीच प्रधानमन्त्री देउवाले साँझ दोस्रो चरणमा एमालेका अध्यक्ष ओलीसहितका नेताहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्नुभएको थियो । एमाले एमसीसी पारित गर्ने पक्षमा भएपछि आफूहरुले उठाएको माग सम्बोधन गर्नुपर्ने सर्तलाई अगाडि बढाएपछि सहमतिमा पुग्न सकेन । बैठकमा अध्यक्ष ओलीले सभामुख अग्नि सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेर भए पनि संसद्लाई सुचारु गर्नुपर्ने प्रस्ताव राख्नुभएको थियो । उक्त प्रस्तावमा कांग्रेसले थप गृहकार्य गरेर निर्णय लिने बताएको छ । संसद् भवनमा प्रधानमन्त्री देउवा ओलीबीच सकारात्मक छलफल भएसँगै साँझ दोस्रो चरणमा दुई पार्टीबीच भेटवार्ता भएको छ ।

बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेसका नेतासमेत रहनुभएका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफलमा ठोस सहमति नभएको बताउनुभयो । प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै कार्कीले भन्नुभयो– ‘एमसीसी अनुमोदन गर्न सहयोग गर्नुहोस्, संसद्को अवरोध हटाउन भूमिका खेल्नुपर्यो ।’ उहाँका अनुसार जवाफमा अध्यक्ष ओलीले आफूहरुले उठाएको माग पूरा नहुँदासम्म एमसीसीको विषयमा आफ्नो पार्टीले कुनै निर्णय गर्न नसक्ने बताउनुभएको थियो ।

यसैबीच एमसीसी सम्झौतामाथि आजबाट संसद्मा सैद्धान्तिक छलफल हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले सम्झौतामाथि छलफल होस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम कार्यसूची तय भएको छ । संसद् बैठक बस्नु अघि आज बिहान सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । आजबाट संसद्मा छलफल शुरु हुने भएसँगै सत्ता गठबन्धन औपचारिक रुपमा टुट्ने अवस्था सृजना हुनेछ ।

माओवादीसँग एमालेको तीन सर्त
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । पार्टी अलग–अलग भएको एक वर्षपछि दुई नेताबीच भेटवार्ता भएको हो । एमसीसी पारित गराउने विषयले सत्ता गठबन्धन टुटने अवस्थामा पुगेपछि प्रचण्ड ओलीलाई भेट्न जानुभएको थियो । शुरुमा संसद् भवन नयाँ बानेश्वरमा ओली र प्रचण्डबीच वन टु वन वार्ता भएको थियो । त्यसपछि भेटवार्तामा अन्य नेताहरु पनि थपिएका थिए ।

एमाले र माओवादीबीच छलफल भए पनि कुनै सहमति जुट्न सकेन । भेटमा अध्यक्ष ओलीले आफूविरुद्ध तत्कालीन नेकपा हुँदा लगाएको आरोप खारेज गर्नुपर्ने, सभामुखमाथि कारबाही हुनुपर्ने र माधव नेपाल पार्टीका सांसदलाई कारबाही गर्नुपर्ने तीत सर्त अगाडि सार्नुभएको थियो । जवाफमा प्रचण्डले अन्य विषय छलफल गर्न सकिने बताउँदै अहिले एमसीसीको विषयमा दलहरुबीच सहमति गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

भेटमा सहभागी माओवादीका नेता देव गुरुङले विगतमा दुवै पक्षबाट कमजोरी भएको बताउँदै आफूहरु जल्दोबल्दो एमसीसीको विषयमा राष्ट्रिय सहमतिको खाँचो रहेको विषय राखेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी एमसीसी पारित गर्न चाहँदैनौ, कांग्रेस पारित गर्न चाहन्छ, एमाले निर्णायक शक्ति हो, यस विषयमा न्यूनतम सहमति र सहकार्य गरेर जान आग्रह गर्यौं ।’

जवाफमा अध्यक्ष ओलीले एमसीसी राष्ट्रघाती सम्झौता नभएकाले आफ्नो नेतृत्वको सरकारको क्याबिनेटबाट अनुमोदन गर्नुपर्छ भनेर सदनमा दर्ता गराएको स्मरण गराउनुभएको थियो । ओलीको भनाइ उद्धृत गर्दै गुरुङले भन्नुभयो– ‘मेरो कार्यकालमा संसद्मा टेबल गर्न दिइएन, अहिले हामी यो प्रक्रियामा सहभागी छैनौं, अहिले हामीले नो र एस भन्नु परेन ।’

त्यसै गरी भेटबारे जानकारी दिँदै एमालेका उपाध्यक्ष सुवास नेम्वाङले छलफल सकारात्मक भएको बताउनुभयो । उहाँले संसद्को गतिरोध अन्त्य गर्न र विगतका कुरालाई समीक्षाका रूपमा राख्ने काम भएको बताउँदै अब संवाद गर्दै अगाडि बढौँ भन्नेसम्म कुरा भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्