आयआर्जनका लागि परिवार नै भट्टामा



काभ्रे ।

जिल्लाको विकट गाविस महाभारत स्थित बनुख बाँसपुर घर भएका १४ वर्षीय धर्मध्वज मंसिर महिनादेखि निरन्तर बनेपा नगरपालिका–१ माँ भगवती इँटाभट्टा उद्योगमा इँटा बनाइरहनुभएको छ । दैनिक बिहान ४ नबज्दै इँटा बनाउन शुरु गर्ने उहाँ निरन्तर साँझसम्म काम गरिरहनुहुन्छ ।

२०७६ चैतमा कक्षा ७ को परीक्षा सकेर बनेपा आउनुभएका धर्मध्वज कोरोना भाइरसका कारण लामो समय विद्यालय बन्द भएका कारण गाउँ फर्कनुभएन । २०७७ जेठ महिनामा गाउँ फर्किंदा विद्यालयले पुस्तक उपलब्ध नगराएको भन्दै विद्यालय जान नमान्नुभएका उहाँले त्यहि बेलादेखि विद्यालय जान छाड्नुभएको थियो । छोरो बिग्रने डरले बाबु बीवाईसिं स्याङ्तानले धर्मध्वजलाई आफूसँगै भट्टामा लिएर हिँड्नुभएको थियो । २०७७ सालमा झण्डै महिना र २०७८ सालको मंसिर महिनादेखि धर्मध्वजसहित उनका दाजुहरु १६ वर्षीय आशिष तामाङ, २१ वर्षीय इमानसिं तामाङ, उनको श्रीमती र बीवाईसिं स्याङ्तान भट्टामा काम गरिरहनुभएको छ । इमानसिंको तीन वर्षको बच्चा पनि साथमै छ । ‘बालबालिकाहरुलाई निकृष्ट र जोखिमयुक्त काममा लगाउनु हुँदैन भन्ने जानकारी छ’, बाबु बीवाईसिं भन्नुहुन्छ– ‘विद्यालय जान नमाने पछि काममा नलगाए दुव्र्यससनमा फस्ने डरले परिवार नै भट्टामा लिएर आएँ ।’

स्याङ्तान परिवारले दैनिक ३ हजार ५ सय इँटा बनाउने गरेको छ । १ हजार इँटा बनाएबापत १ हजार ३ सय रुपियाँ प्राप्त हुन्छ । माटो खाएरै भए पनि केही रकम जम्मा गर्न सकिने उहाँको बुझाइ छ ।

स्याङ्तान परिवार जस्तै आयआर्जन नभएकै कारण महाभारतबाट वर्षेनी ३ सयभन्दा धेरै परिवार भट्टामा जाने गरेका छन् । जसका कारण बालबालिकाहरु जोखिममा पर्ने गरेका छन् । सिन्धुली घ्याङलेक गाउँपालिका–५ घर भएका भक्तबहादुर स्याङ्तानले आफ्ना तीन र दाइको समेत छोरी लिएर भट्टामा काम गरिरहनुभएको छ । बालबालिकालाई नजिकै रहेको इन्द्रशोभा आधारभूत विद्यालयमा पढ्न पठाउने गरेको उहाँले बताउनुभयो । भट्टामा चिसो तथा अन्य प्रकारका संक्रमणले बालबालिका बिरामी भइरहने गरे पनि समयमा काम गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

बालमैत्री घोषणाको तयारी
बनेपा नगरपालिकाले आगामी २०७८ चैत्र १४ गते स्थापनाको ४१औं वर्ष प्रवेशको अवसर पारी बनेपा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणाको तयारी गरेको छ । यसअघि जिल्लामा पहिलोपटक धुलिखेल नगरपालिकाले बालमैत्री नगर घोषणा गरेको थियो ।

बालमैत्री नगर घोषणाको पहिलो सर्त बालश्रममुक्त गर्नुपर्ने सूचकांकमा उल्लेख छ । बालमैत्रीका ५१ वटा सूचकांक पूरा गर्ने गरी नगरपालिकाले दुई दिन बालमैत्री नगर घोषणाको पूर्वतयारी स्वरूप बालश्रममुक्त घोषणा गर्न अनुगमन गरेको हो ।

बालबालबालिकाहरुलाई श्रममा प्रयोग गर्न सक्ने क्षेत्र घरेलु कामदार, भरिया, कृषि र पशुपालन, लागूऔषध, बुनाई तथा अन्य उद्योग र यौन व्यवसायको क्षेत्र, सडक यातायात, रेस्टुरेन्ट तथा इँटाभट्टामा प्रयोग गर्न सक्ने अवस्था छ । नगरपालिकाले १७ क्षेत्रलाई प्राथमिकतामा राखेर अनुगमन गरेको प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले बताउनुभयो । २०३८ चैत १४ गते तत्कालीन सरकारले जिल्लामै पहिलोपटक बनेपा नगर पञ्चायत घोषणा गरेको थियो ।

नगरपालिकाभित्र आर्थिक तथा सामाजिकरूपमा पछि परेका महिला, बालबालिका, दलित, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थानसम्बन्धी काम गर्ने, बालविवाह, महिलाविरुद्धको हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचविखन, निरक्षरता जस्ता सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्ने/गराउने, सडक बालबालिकाको उद्धार र पुनःस्थापना गर्ने/गराउने, प्रांगारिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिसामुक्त सरसफाइ, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवद्र्धनात्मक कार्यहरू गर्ने/गराउने उल्लेख छ । यी सबै बुँदामा नगरपालिकाले आवश्यक तयारी सकेको नगर प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठले बताउनुभयो ।

बालश्रममुक्त नगर घोषणाका लागि नगर प्रमुख लक्ष्मीनरसिं बादे, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, वडाध्यक्षहरु, नागरिक समाजका प्रतिनिधिहरु, सहभागी भएका थिए ।

बालमैत्री नगरका लागि साझेदार संस्था सिर्जनशील समाज नेपालले सहजीकरण गरिरहेको ज्येष्ठ नागरिक तथा महिला बालबालिका शाखा प्रमुख विजया सुवेदीले बताउनुभयो । अनुगमनका क्रममा बनेपाका अधिकांश वडाका विभिन्न क्षेत्रमा टोली पुगेको थियो । बालबालिकाहरु जोखिम अवस्थामा रहेको फेला परे नगरपालिकाले जिम्मेवारी सहितको व्यवस्थापन गर्ने नगर प्रमुख लक्ष्मीनरसिं बादेले बताउनुभयो ।

उपप्रमुख रेखा सापकोटा दाहालले किशोरी समूहमार्फत बाल विवाह रोक्ने, बालबालिकाहरुलाई जोखिमयुक्त कार्यमा लगाएको भए रोक्नेलगायतका कार्यहरु गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्