फूलको व्यापारले राम्रो आम्दानी गर्दै महिला



काठमाडौं ।

पशुपतिनाथ मन्दिर परिसरमा रहेका एक सय ६७ पसलमध्ये करिब २० प्रतिशत पसल फूलका छन् । अधिकांश फूल व्यापारी महिला देखिन्छन् । उनीहरूमध्ये अधिकांशले फूलकै व्यापार गरेर घरपरिवार चलाएको र छोराछोरीलाई राम्रै शिक्षा दिइरहेको पाइएको छ ।

काठमाडौंकै गौरीघाट घर भएकी सरस्वती लामिछाने (३६) ले पनि फूलको व्यापार गर्न थालेको १५ वर्ष भइसकेको छ । विगत २३ वर्षदेखि आफूले फूलको व्यापार सम्हाल्दै आउनुभएको छ । बिहान ५ देखि ८ बजेको बीचमा धेरै मात्रामा भक्तजनहरू आउने र व्यापार राम्रो हुनेगरेको उहाँले बताउनुभयो । लामिछानेले महिनामा २५ देखि ३० हजारसम्म मुनाफा हुने गरेको बताउनुभयो ।

केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले हामी जस्ता फूल प्रसाद बिक्री गर्नेहरूलाई ठाउँ साँघुरो भएको, पशुपतिमा आउने भक्तजनलाई पनि समस्या भएका कारण पसलहरू व्यवस्थित ठाउँमा सार्न र हामी व्यापारीको समस्यालाई बुझेर सहज बनाएर अघि बढ्ने विचार व्यक्त गर्नुभएको पनि लामिछाने सम्झिनुहुन्छ ।

चरिकोटकी लक्ष्मी चालिसे (३८) ले पशुपति क्षेत्रमा फूल बेच्न थालेको १० वर्ष भइसकेको छ । २०६५ सालमा काठमाडौंको गोठाटारमा विवाह गरेर आएकी चालिसेका श्रीमान् विदेश (दुबई) गएको र आफूले नै परिवार चलाउँदै आएको बताउनुभयो । ११ पढ्दै गर्दा विवाह गरेकी चालिसेले मिहिनेत र इमान्दार भएर काम गरे जस्तोसुकै काम पनि गर्न सकिने बताउनुभयो ।
‘९ वर्षअघि यही पसल राखेको ठाउँको भाडा महिनाको ६ हजार, अहिले बढेर १० हजार पुगेको छ ।’, उहाँले भन्नुभयो – ‘राती गोदाममा सामान राखेको महिनाको ५ हजार तिर्दै आएको छु ।’ पहिला धेरै सामान बिक्री हुँदैनथ्यो । मान्छेहरू धेरै सामान किन्दैनथे । थोरैले नै पुग्थ्यो तर अहिले धेरै परिवर्तन भएको छ ।

दुई सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको पशुपति मन्दिर, सांस्कृतिक सम्पदाअन्तर्गत युनेस्कोको विश्व सम्पदा सूचीमा छ । सन् १९७९ मा युनेस्कोले पशुपतिनाथ मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्