एमसीसी सम्झौतामा के लेखिएको छ ? (५)



(निरन्तर…)

खण्ड ३.७ अभिलेख, लेखापालन, आपूर्तिकर्ता, पहुँचः
क) सरकारी दस्तावेज तथा अभिलेख । सरकारले कार्यक्रम कार्यान्वयन र परिणामका प्रामाणिक कागजात, लेखापालन पुस्तिका, अभिलेख, आपूर्तिकर्ताको विवरण उचित किसिमले राख्नेछ । यसलाई कम्प्याक्ट रेकर्ड भनिनेछ । यसका अतिरिक्त सरकारले एमसीसीलाई एमसीसीको अनुरोध भईआएमा कम्प्याक्ट रेकर्डको प्रति उपलव्ध गराउने वा गराउन लगाउनेछ ।
ख) लेखापालन । सरकारले अमेरिकामा स्वीकृत वा प्रचलित लेखापालनको सिद्धान्तअनुसारको लेखापालन गर्नेछ । अमेरिकामा अभ्यास नभएको सिद्धान्तमा आधारित लेखापालन गर्ने हो भने एमसीसीको लिखित पूर्वस्वीकृति आवश्यक छ । सरकारले सर्वमान्य र विश्वव्यापी प्रचलनमा रहेको विकल्प छानेर लेखापालन गर्ने अपेक्षा गरिन्छ । लेखापालनमा देहायका पक्षहरू समावेश हुनुपर्छः
१. अन्तर्राष्ट्रिय लेखापालन मापदण्ड बोर्डद्वारा सिफारिस गरिएको । वा, २. नेपालमा प्रचलित ।
कम्प्याक्ट रेकर्ड एमसीसी परियोजनाले पूर्णता पाएको मितिबाट कम्तीमा आगामी पाँच वर्षसम्म सुरक्षित राख्ने जिम्मा सरकारको हुनेछ । पछि कुनै विवाद, कानुनी मुद्दा, दाबी, लेखापालनको निष्कर्ष वा कानुनी प्रतिवादका लागि आवश्यक परेमा यस अभिलेखको प्रयोग गरिने छ ।

ग) पहुँच । एमसीसीको अनुरोध हुन आएमा सरकारले उचित समयमा एमसीसीका प्रतिनिधि, महानिरीक्षक वा अमेरिकी सरकारका प्रतिनिधिलाई कम्प्याक्ट अभिलेख हेर्न, जाँच्न, समीक्षा गर्न, अभिलेखले देखाएको सम्पत्तिको मूल्यांकन गर्न अनुमति दिनेछ । कार्यक्रमको समीक्षा गर्ने प्रयोजनले एमसीसीले चाहेमा सरकारले लेखापरीक्षण, पुनरावलोकन, मूल्यांकन वा निरीक्षणका लागि सहजीकरण गर्नेछ ।

खण्ड ३.८ लेखापालन, पुनरावलोकन ।
क) सरकारी लेखापरीक्षण । पक्षहरूले अन्यथा लिखित सहमति गरेबाहेक सरकारले कम्तीमा अर्धवार्षिकभन्दा बढी समयावधिको अन्तर नगरी नियमित लेखापरीक्षण गर्नेछ । लेखापरीक्षण गर्दा परियोजना कार्यक्रमले समेटेका र यसको बजेट खर्च भएका सबै गतिविधि समेटिनेछ । सम्झौता हस्ताक्षर भएको मितिबाट आउने पहिलो सेप्टेम्बर ३० वा मार्च १ मा र त्यसपछि हरेक ६ महिनामा लेखापरीक्षण गर्नुपर्नेछ । तर, एमसीसीको अनुरोध भईआएमा एमसीसीले प्रमाणित गरेको स्वतन्त्र लेखापरीक्षक, स्थानीय महालेखापरीक्षकले स्वीकृत गरेका लेखापरीषकको सूचीमा रहेका वा अमेरिकामा रहेका प्रामाणिक सार्वजनिक लेखापरीक्षक जो एमसीसीको निर्देशिकाभित्र समाहित हुन्छ, त्यस्ता संस्थाबाट लेखापरीक्षण गर्नुपर्नेछ । लेखापरीक्षण महालेखा परीक्षकले तोकेको मापदण्डअनुसारको गुणस्तरमा हुनुपर्दछ । लेखापरीक्षण सकिएको ९० दिनभित्र त्यसको रिपोर्ट एमसीसीलाई हस्तान्तरण गर्नुपर्दछ । यससम्बन्धमा पक्षहरूबीच लिखित रूपमा अन्यथा सहमति भएको छ भने सोहीअनुसार हुनेछ । ३.८ (क) खण्डको प्रावधानले नेपाल सरकारको महालेखापरीक्षकको प्रक्रियाअनुसारको लेखापरीक्षण गर्न कुनै अवरोध पुर्याउने छैन, उसले आफ्नो प्रक्रियाअनुसार एमसीए नेपालको लेखापरीक्षण गर्नसक्नेछ ।

ख) अन्य निकायको लेखापरीक्षण । एमसीसी परियोजनाका कार्यक्रमको कार्यान्वयनका क्रममा विभिन्न संस्था तथा पक्षसँग सम्झौता भएको हुन्छ । यसरी सम्झौतामा आएका संस्था तथा पक्षको पनि लेखापरीक्षण हेरिनेछ । एकातिर नेपाल सरकार र संस्था वा पक्षहरूबीच भएका र अर्कातिर अमेरिकी गैरनाफामूलक संस्थासँग भएका सम्झौताअनुसारको कामको बारेमा लेखापरीक्षण हुनेछ । अमेरिकी संस्था तथा पक्षको हकमा युनाइटेड स्टेट्स अफिस अफ मेनेजमेन्ट एन्ड बजेट नामक निकायले निर्देश गरेअनुसार उनीहरूको लेखापरीक्षण हुनेछ । यसैगरी, नाफामूलक अमेरिकी संस्था तथा पक्षको हकमा युनाइटेड स्टेट्स गभर्नमेन्ट एजेन्सीद्वारा लेखापरीक्षण हुनेछ । तर, यस सम्बन्धमा नेपाल सरकार र एमसीसीबीच लिखित रूपमा अन्यथा सहमति भएको छ भने सोहीअनुसार हुनेछ । गैरअमेरिकी संस्था तथा पक्षका सम्बन्धमा भने सम्झौताअनुसार तयार पारिएको लेखापरीक्षण निर्देशिकाको प्रावधान पछ्याउँदै लेखापरीक्षण गरिनेछ ।

ग) सुधारात्मक कार्य । सरकारले एमसीसीसँग संलग्न हुनआएका संस्था तथा पक्षहरूमा देहायका विशेषता रहेको सुनिश्चित गर्नेछः
१. लेखापरीक्षणका लागि समयमै सचेत गराउने ।
२. लेखापरीक्षण गर्दा आवश्यक पर्ने आधारभूत विषयका बारेमा जानकारी गराउने ।
३. आवश्यकताअनुसार स्वतन्त्र लेखापरीक्षकलाई खातापाता हेर्नदिन संस्था वा पक्ष सहमत भएको हुनुपर्नेछ ।
घ) एमसीसीद्वारा लेखापरीक्षणः एमसीसी बजेटमा आधारित रहेर सरकारले गरेको खर्चको लेखापरीक्षण गर्ने अधिकार एमसीसीमा सुरक्षित हुनेछ ।
ङ) लेखापरीक्षण, पुनरावलोकन र मूल्यांकनको खर्च : एमसीसी सम्झौताको प्रावधानअनुसार लेखापरीक्षण, यसको पुनरावलोकन र मूल्यांकनको खर्च एमसीसीले गर्नेछ ।
(क्रमशः)

अघिल्लो भाग पढ्नुहोस् :

एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) मा के लेखिएको छ ? (१)
एमसीसी सम्झौतामा के लेखिएको छ ? (२)
एमसीसी सम्झौतामा के लेखिएको छ ? (३)
एमसीसी सम्झौतामा के लेखिएको छ ? (४)

प्रतिक्रिया दिनुहोस्