अबको तीन वर्षमा फास्ट ट्रयाक सम्पन्न हुने

आयोजना सम्पन्न हुन २ सय १३ अर्ब लाग्ने अनुमान



काठमाडौं ।

राष्ट्रिय गौरवको तराई मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) आयोजना आगामी तीन वर्षभित्र सम्पन्न हुने बताएको छ । फास्ट ट्रयाक निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले आयोजनालाई तीव्र गतिमा अगाडि बढाएकाले २०८१ पुस मसान्तसम्म सम्पन्न हुने बताएको हो । राष्ट्रिय गौरवको आयोजना छिटो सम्पन्न गर्नका लागि विभिन्न ११ वटा प्याकेज बनाएर एकसाथ काम अगाडि बढाएकाले तीन वर्षभित्र नै सम्पन्न हुने लक्ष्य लिएको नेपाली सेनाले बताएको छ ।

तराई मधेस दु्रत मार्गका आयोजना निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले यस आर्थिक वर्षको हालसम्म आयोजनाको १६.९० प्रतिशत काम सम्पन्न भएको र यस आर्थिक वर्षको अन्तिमसम्म २१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य राखिएको बताउनुभयो । डिजाइनको काम सम्पन्न भएको र आयोजनाको सबैभन्दा कठिन मानिएको शुरूङ मार्ग खन्ने काम अब शुरू हुने उहाँको भनाइ छ ।

मंगलबार जंगी अड्डामा आयोजित पत्रकार सम्‍मेलनमा पोखरेलले खोकनामा ४११ रोपनी जग्गा अधिग्रहण गर्ने काम हुन नसकेको बताउँदै यही वैशाखसम्म जग्गा अधिग्रहणको काम सम्पन्न नभएको अवस्थामा उक्त प्याकेजमा ठेक्का लगाउन कठिन हुने बताउनुभयो ।

खोकनबासीले स्मार्ट सिटी, हाइटेन्सन लाइन, वागमती कोरिडोर बाहिरी चक्रपथ र फास्ट ट्रयाकसहित पाँचवटा आयोजना सञ्चालन हुँदा बस्ती नै नरहने भन्दै आयोजनासँग एउटा मात्र आयोजना सञ्चालन गर्न माग गर्दै आएका छन् । नेपाली सेनाले उक्त जग्गामा देखिएको मुआब्जाको विवाद समाधान गर्न रक्षा मन्त्रालय, संघीय संसद्का विकास तथा प्रविधि समितिमार्फत पहल गरिरहेको छ । तर, फास्ट ट्रयाक निर्माणका लागि अन्य खण्डमा ठेक्का सम्झौता भएर काम अगाडि बढ्दा पनि खोकना क्षेत्रमा भने सरकारले मुआब्जाको विवादको समाधान गर्न सकिरहेको छैन । फास्ट ट्रयाकको प्रवेश विन्दुको विषयमा खोकनामा विवाद भइरहेको अवस्थामा ११ किलोमिटर प्याकेज भने तत्कालका लागि अगाडि नबढाउने भएको छ ।

आयोजना शुरू हुँदा १ सय ७५ अर्ब रुपियाँ लगानी लाग्ने अनुमान गरिएको आयोजनाको हाल लागत बढेर २ सय १३ अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको पोखरेलले बताउनुभयो ।
आयोजनाले डिजाइनअनुसार थप जग्गा अधिग्रहण तथा रूख कटान गर्नुपर्ने भए पनि रूख कटान तथा जग्गा अधिग्रहणसम्बन्धी प्रक्रिया जटिल भएकाले ठेक्का व्यवस्थापन साथै निर्माण कार्यसमेत प्रभावित भएको बताएको छ । उहाँले बजेट सुनिश्चित र अरू कुनै आकस्मिक समस्या नआए तोकिएको समयमै निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको बताउनुभयो ।

७२.५ किलोमिटर लम्बाइ रहेको आयोजनाको १७ किलोमिट क्षेत्रमा पुल र टनेल निर्माण हुनेछ । २०७३/०७४ बाट शुरू भएको फास्ट ट्रयाक निर्माणमा हालसम्म २५ अर्ब रुपियाँ खर्च भएको आयोजनाले बताएको छ । डिजाइन र कोभिड–१९ का कारण आयोजनाको काम प्रभावित भएको बताउँदै सेनाले आगामी २०८१ भित्र फास्ट ट्रयाक निर्माण गरी सक्ने लक्ष्य लिएको हो ।

प्रतिक्रिया दिनुहोस्