बडी बिल्डिङ्गको महाकुम्भ ‘आर्नोल्ड क्लासिक’



शिवलाल श्रेष्ठ (प्रथम मिस्टर नेपाल)

शारीरिक सुगठन खेल होस् वा हलिउड एक्सन सिनेमाका दर्शक होस्, संयुक्त राज्य अमेरिकाका राज्यहरूमा चासो राख्नेहरूको लागि आर्नोल्ड अन्जान नाम सायदै होला । आर्नोल्ड अस्ट्रियन अमेरिकन सिने कलाकार, व्यापारी, रिटायर्ड प्रोफेसनल बडी बिल्डर र क्यालिफोर्निया राज्यको ३८औं पूर्व गभर्नरसमेत हुन् । उनी उक्त राज्यको गभर्नरको गरिमामय पदमा सन् २००३ देखि २०११ सम्म पदासिन रहे । उनले धेरै पुस्तकहरू पनि लेखेका छन् । जसमध्ये ‘इन्साइक्लोपेडिया अफ मोडर्न बडी बिल्डिङ्ग’ शारीरिक सुगठन खेलाडीहरूको लागि निकै उपयोगी पुस्तकका रूपमा चर्चित छ ।

विश्व बडीबिल्डिङ्ग जगतमा अस्ट्रियन ओकको नामबाट समेत चिनिने उनको पूर्ण नाम आर्नोल्ड एलोइस स्वार्जेनेग्गर हो । प्रख्यात बडीबिल्डर आर्नोल्डको बडीबिल्डिङ्ग शुरुवातका दिनहरू संघर्षपूर्ण नै रह्यो । विस्तारै एकपछि अर्को शारीरिक सुगठन खेलका खुड्किलाहरू उक्लँदै अन्ततः उनले सफलताको उचाइ चुम्न सफल भए । विश्वमा शारीरिक सुगठन खेलको संस्थागत विकासको जग बसालेका दुई क्यानेडेली दाजुभाइ बेन र जो वाइडरले स्थापना गरेको अन्तर्राष्ट्रिय शारीरिक सुगठन तथा फिटनेस महासंघ (सन् २००४ मा पुनः नामाकरण गरिएको) अन्तर्गत आयोजना हुने अन्तर्राष्ट्रिय मेन्स् प्रोफेसनल बडीबिल्डिङ्ग कन्टेस्ट हो । जो वाइडरले सेप्टेम्बर १८, १९६५ मा प्रथमपटक प्रतियोगिता आयोजना गरेका थिए ।

त्यसैको निरन्तरता ओलम्पिया फिटनेस एन्ड परफरमेन्स विकेन्डमा पुरुस्कृत गरिने “मि.ओलम्पीया” टाईटल माथि सातपटक कब्जा जमाउन सफल आर्नोल्डले ‘पम्पिङ्ग आइरन’ सिनेमाबाट विश्वमा बडीबिल्डिङ्ग खेललाई घर घरमा चर्चित बनाए, उक्त खेललाई प्रख्यातीको शिखरमा पुर्याउन योगदान गरे । उनै बडीबिल्डिङ्गका शिखर पुरुषकै नामबाट “आर्नोल्ड क्लासिक” स्थापना भएको हो ।

आर्नाेल्ड क्लासिक एक आईकोनिक प्रोफेस्नल बडीबिल्डिङ्ग प्रतिस्पर्धा हो जुन सबैभन्दा पहिला सन् १९९८ मा कोलम्बसमा आयोजना भएको थियो । आजसम्म आइपुग्दा उक्त प्रतिस्पर्धाले विविध खेलहरू सम्मिलित रहको विश्वकै विशाल खेलकुद महोत्सवको रूप लिइसकेको छ । उक्त खेलकुद महोत्सवमा विश्वका ८० राष्ट्रका १८ हजारभन्दा बढी खेलाडीले ५० विभिन्न खेल विधाहरूमा प्रतिस्पर्धा गर्ने गर्छन् ।

उक्त खेलकूद महोत्सव अपर्झट केही दिनभित्रै प्रारम्भ भएको भने होइन । त्यसको छुट्टै रोचक कथा छ । सन् १९७० मा कोलम्बसमा वर्ल्ड वेटलिस्टिङ्ग च्याम्पियनसिप्स र मि.वल्र्ड बडी बिल्डिङ्ग प्रतिस्पर्धा हुने निश्चित भएको थियो । कोलम्बस निवासी खेल प्रवद्र्धक जिम लोरिमेरले त्यहाँ हुन गइरहेको सोही प्रतिस्पर्धामा भाग लिनको लागि युवा आर्नोल्डलाई निमन्त्रणा पठायो । उनले प्रतिस्पर्धामा सबैलाई उछिन्दै उपाधि नै कब्जा गर्दै पुरस्कारस्वरूप एक हजार अमेरिकी डलर समेत हात पारे । उनले एकदिन कोलम्बसमा फर्केर जीम लोरिमेरसँग मिलेर बडीबिल्डिङ्ग खेललाई प्रवद्र्धन गर्ने वाचा गरेका थिए । सन् १९७० देखि १९७५ सम्म लगातार मि.ओलम्पिया प्रतिस्पर्धामा विजय हासिल गरिसकेपश्चात आर्नोल्डले १९७० मा लोरिमेरसँग गरेको वाचा पूरा गर्न अस्ट्रियाबाट कोलम्बस गए ।

सन् १९७६ देखि १९८६ सम्म आर्नोल्ड र लोरिमेर मिलेर कोलम्बसमा ६ पटकसम्म मि.ओलम्पिया प्रतिस्पर्धा आयोजना गरे । त्यसपछि यी दुवै मिलेर सन् १९८९ मा प्रख्यात ‘आर्नोल्ड क्लासिक’ स्थापना गरे । यसैबीच, आर्नोल्डलाई ‘दि चियर म्यान अफ दि प्रेसिडेन्टस् काउन्सिल अन फिजिकल फिटनेस एण्ड स्पोर्टस्’ जस्तो गरिमामयी पदमा नियुक्त गरियो । त्यसपछि उनले लोरिमेरलाई आर्नोल्ड क्लासिकको दायरालाई फराकिलो पार्दै प्रतिस्पर्धालाई एक सातासम्म लम्ब्याउने जिम्मा सुम्पे ।

आर्नोल्ड क्लासिक मल्टी स्पोर्ट्स फेस्टिभलमा सबैभन्दा पहिला मार्सल आर्ट्स र जिम्नास्टिक्स् खेललाई समावेश गरियो । हरेक वर्ष अन्य विभिन्न खेलहरू समावेश गरिँदै लगियो । वर्तमान अवस्थासम्म आइपुग्दा यसमा विभिन्न ५० खेलहरू समावेश भइसकेका छन् । ती ५० खेलहरूमध्ये १४ खेल ओलम्पिकमा खेलिने र सातवटा आईएफबीबी प्रोफेस्नल लिग प्रतिस्पर्धामा खेलिने खेलहरू छन् भने दि आर्नोल्ड स्ट्रंगम्यान क्लासिक र विश्व प्रसिद्ध आर्नोल्ड एमेचर प्रतियोगिताहरू समेत पर्दछन् ।

आर्नोल्ड क्लासिक युरोपमा भने पहिलोपटक सन् २०११ मा स्पेनको मेड्रिडमा आयोजना गरिएको थियो । त्यहीबाट आर्नोल्ड क्लासिकले दि आर्नोल्ड मल्टी स्पोटर्स फेस्टिभलको रूप लिन थाल्यो । आर्नोल्ड क्लासिकको आयोजना सन् २०१३ मा ब्राजिल, २०१५ मा अस्ट्रेलिया हुँदै २०१६ को शुरुतिर दक्षिण अफ्रिकामा आयोजना भएको थियो । सन् २०१६ मा नै एसियाको हङ्गकङ्गमा दि आर्नोल्ड क्लासिक एमेचर आयोजना गरियो । हङ्गकङ्गले आर्नोल्ड क्लासिक एमेचर स्थायी तवरमा आफैँले आयोजना गर्ने जिम्मा लिएका छन् ।

एसियाको हङ्गकङ्गमा आयोजित उक्त विश्व प्रसिद्ध आर्नोल्ड क्लासिक एमेचर–२०१६संगै आर्नोल्डको विश्वका सबै महादेशहरूमा हेल्थ एन्ड फिटनेसलाई फैलाउने तपस्या पूरा भयो । आर्नोल्डको उद्देश्य पूरा भएको हङ्गकङ्गको उक्त प्रतियोगितामा नेप्लिज फेडेरेसन अफ बडीबिल्डिङ्ग एन्ड फिटनेस (एनएफबीएफ) को पनि सहभागिता रहेको थियो । एक महिलासहित आठ खेलाडीहरू, एक प्रशिक्षक, दुई अफिसियल र एक टेस्ट जज समेत बाह्र जनाको टोली उक्त मल्टी स्पोर्ट फेस्टिभलमा सहभागी भएका थिए । ती सहभागी सबैको सम्पूर्ण खर्च सहभागी स्वयम् र संघ आफैँले व्यहोरेका थिए ।

वुमेन्स बिकिनी फिटनेसको १ सय ६० सेन्टीमिटर समूहतर्फत नेपालकी भारती घलेले विभिन्न देशका अन्य चालिस प्रतिस्पर्धीरुलाई गतिलो चुनौती प्रस्तुत गरेकी थिइन् । नेपालमा कहिल्यै आयोजना नभएको, नखेलेको टु पीस कस्ट्युममा त्यत्ति संख्या सहभागी प्रतिस्पर्धी र खचाखच भरिएका दर्शकहरू माझ आत्माविश्वासका साथ खेल प्रदर्शन गर्न सफल भएकी घले ११औं स्थान प्राप्त गर्न सफल भएकी थिईन ।

त्यस्तै, मेन्स तर्फको विभिन्न विधाहरूमा आ–आफ्नो शारीरिक तौल समूहमा प्रतिस्पर्धा गरेका खेलाडीहरूमध्ये बडी बिल्डिङ्गमा तीन खेलाडीले लहरै पाँचौं, छैटौं र सातौ स्थान तथा मेन्स् क्लासिक बडी बिल्डिङ्ग तर्फका (यस खेलमा खेलाडीको शारीरिक तौल साथै उचाई निर्धारण गरेको हुन्छ) दुई खेलाडीले क्रमशः सातौं र एघारौ स्थान र मास्टर अर्थात् ४० वर्ष र सो भन्दामाथिको समूहतर्फका दुई खेलाडीले क्रमशः चौथों र छैटौं स्थान प्राप्त गरेका थिए ।

२०१६ अगष्ट १९ देखि २० मा आयोजना गरिएको उक्त प्रथम एमेचर आर्नोल्ड क्लासिक एसियामा नेपाली सहभागी टोलीले आयोजक समितिलाई प्रतियोगिताको प्राविधिकपक्षतर्फ ईमान्दारी र अनुशासित तवरमा काम गरेर सहयोग पुर्याएको थियो । प्रथम आर्नोल्ड क्लासिक एसियालाई भव्यताका साथ सफल बनाउन उत्कृष्ट काम गरेवापत आर्नोल्ड क्लासिक एसिया टिमले आयोजक हङ्गकङ्ग टिमलाई प्रथम (स्वर्ण) र नेपाल टिमलाई द्वितीय (रजत) पदकबाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्