स्वास्थ्योपचारको क्षेत्रमा नेपालको गुम्दो स्वाभिमान



  • वीरबहादुर बम

जन्ममा महिला या पुरुष भएर जन्मिनु कुनै असमानता छैन । महिला र पुरुष एउटा रथका दुईवटा पाङ्ग्रा हुन् । पुरुष मात्र हुनु वा महिला मात्र हुनुले मानव सृष्टि चल्न सक्दैन । मानवले यो धर्तीमा पाइला टेकेपछि पहिलो आहारको रुपमा उसले आमाको दूध खान्छ । बिस्तारै बच्चाको उमेर बढेसँगै आमाले दूधको मात्रा घटाई अन्नको परिकार बनाएर खुवाउने प्रचलन छ । आमाको दूध नै शैशव वस्थामा आहार र रोग–प्रतिरोध शक्तिको रुपमा प्रयोग हुन्छ । शिशुबाट उमेर बढ्दै गएपछि भने विभेदहरु देखा पर्दै जान्छन् । केही विभेद आफ्नै क्षमता र वातारणबाट सृजित हुन्छ भने केही विभेद समाज, राज्यका नीति, सरकारलगायतका आयामले निम्त्याएको हुन्छ ।

यसको ज्वलन्त उदाहरण नेपाललाई लिन सकिन्छ । विकासको संरचना सबै ठाउँमा एकैसाथ पुग्न नसक्दा एउटै भूगोलका नागरिकमा कतै सुख–सयल छ त कतै नारकीय जीवन जिउनुपरेको छ । कतै त गाँस र आवासको समेत चरम अभाव छ । जसका कारण बर्सेनि लाखौं नेपाली कामको लागि विदेशिनुपर्ने बाध्यता छ । गाउँमै जमिनदारको रुपमा गणना हुने परिवारसमेत गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि घरजग्गा बाँझै छाडेर शहर पस्ने प्रवृत्ति बढ्दो छ । हुन पनि गाउँका लागि यो प्रवृत्ति स्वभाविकै जस्तो लाग्छ ।

औषधि उपचार नपाएर दुर्गमका मानिसको अल्पायुमै ज्यान जाने गरेको छ । पछिल्लो समय जलवायु परिवर्तनको असर, कोभिड महामारी र अन्य दुर्घटनाले उच्च रुप लिएको देखिन्छ । नयाँ–नयाँ रोगको प्रकोपले राष्ट्र नै आक्रान्त छ । जन्मलाई जति स्वाभाविक रुपमा लिए पनि मृत्युलाई त्यसरी स्वाभाविक रुपमा लिने संस्कार भइदिएको भए मानव समाजमा यति धेरै विकृति र विभेद उत्पन्न हुने थिएन होला । आज जीवनलाई भोगविलासमा चुर्लुम्म डुबाउने प्रवृत्तिले समाज, देश–विदेशमा समेत बेलाबखत शीत युद्ध उत्पन्न भएको छ । यस्ता युद्धलाई समयमै पहिचान गरेर तह नलगाउने हो भने भविष्यले ठूलै क्ष्ति बेहोर्नुपर्ने अवस्था आउन सक्छ ।

अहिले पूर्वीय र पश्चिमी संस्कृतिमा प्रतिस्पर्धाजस्तै भएको छ । पूर्वीय दर्शन मान्ने मानिस स्वास्थ्य उपचारमा ध्यान, आराधना, शाकाहारी भोजन, जडीबुटीको प्रयोग गर्छन् र यसैलाई निरोगी रहने मुख्य आधार मान्छन् । तर पाश्चात्य संस्कृतिका मानिस स्वास्थ्य उपचारमा फिजियोथेरापी, आधुनिक औषधिको सेवन, मानव अंग प्रत्यारोपण गर्नतिर लाग्छन् । उनीहरु यसैलाई दीर्घ जीवन प्राप्त गर्ने स्रोत मान्छन् । स्वस्थ र सुखी रहने उपयुक्त माध्यम के भन्ने धारणामै एकमत रहेको अवस्था छैन । मानवजगत् उन्नति र परिवर्तनको बाटो छोडेर जीवनमा कमाएको सम्पत्ति उपचारमै खर्चिन्छ ।

कुनै पनि व्यक्तिले स्वास्थ्य उपचार पाउने संवैधानको मौलिक र मानवअधिकारभित्र पर्दछ । स्वास्थ्य उपचारको नाउँमा गाउँँपालिकास्तरमा एउटा १० शय्यासम्मको अस्पताल र वडास्तरको स्वास्थ्य चौकी निर्माणले निरन्तरता पाएको छ । तर कतिपय दुर्गम स्थानमा स्वास्थ्य चौकी नै छैन । कतै स्वास्थ्य चौकीका लागि भवन नभएको भन्दै स्वास्थ्यकर्मीले निजी मेडिकल, जडीबुटी व्यापारजस्ता दोस्रो व्यवसाय रोजेका छन् । नयाँ सरचनामा गाउँपालिकामा अस्पातल बन्ने कामले पूर्णता नपाउँदा स्वास्थ्य सेवा सुचारु हुन सकेको छैन । बरु जिल्ला अस्पताल र स्वास्थ्य चौकी सर्वसाधारणका लागि उपचारका माध्यम बनेका छन् । भनिन्छ, स्वास्थ्य चौकीमा ३५ प्रकारका र जिल्ला अस्पताममा ७० प्रकारका औषधि निःशुल्क छ । तर स्वास्थ्य चौकीमा सिटामोल, डिकोल्ड, डाइजिन, जीवनजललगायत ६–७ प्रकारका औषधि मात्र बिरामीले पाउने गरेका छन् । जिल्ला अस्पतालमा भने अलि बढी नै औषधि उपलब्ध हुन सक्छ ।

अलिकति पैसा जोहो गरेका परिवार र जागिरदारका परिवार बिरामी परेमा नेपालगन्ज, पोखरा, धनगढी, विराटनगर, धरानजस्ता सुविधा सम्पन्न मानिने अस्पतालमा उपचार गर्र्न लग्ने गरिन्छ । सुविधा सम्पन्न र सर्वसुलभ हस्पिटल काठमाडौंको वीर र टिचिङ अस्पतालमा सन्चो हुने आशामा दुर्गम बस्तीबाट लाखौं रुपियाँ खर्च गरेर पुग्छन् । नाम चेलेका डाक्टरकोमा पुगेका बिरामीलाई एकसरो भिडियो एक्सरे, अल्ट्रासाउन्ड, सिटी स्क्यान र अन्य ल्याब टेस्ट गराउन हप्तौं लगाइन्छ र ५० औँ हजार खर्च गराई तपाईंको पालो ५–६ महिनापछि आउँछ भन्ने चलन नै बनेको छ ।

डाक्टरले बिरामीलाई फकाउने प्रवृत्तिले पैसाको कुम्लो बोकेर काठमाडौं पुगेका कतिपयले त्यतै पैसा सकाएका छन् । ठूलो धनराशि खर्च गरेर प्राइभेट अस्पतालमा उपचार गराई ज्यानसमेत गुमाएर बिरामी कुरुवाले रित्तै घर फर्किनुपर्ने तीतो यथार्थ छँदै छ । जनप्रतिनिधि अर्थात नेताहरु भने नेपालमा सञ्चालित चिकित्सा शिक्षा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचारमा समेत विश्वास नमानी चीन, अमेरिका, भारत र बेलायत जाने प्रवृत्ति ह्वात्तै बढेको छ ।

यो वर्ष मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल अमेरिकाबाट उपचार गराई स्वदेश फर्किए । समाजवादीका नेता झलनाथ खनाल र संघीय समाजवादी परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई भारत र पूर्वअर्थमन्त्री वर्षमान पुन चीन पुगेर उपचार गराई फर्किए । यी उपचार गराउनेहरु प्रतिनिधि पात्र मात्र हुन् । समाचारमा नआएका विदेशमा गई उपचार गराएर फर्किनेको संख्या धेरै छ ।

यसरी स्वास्थ्य उपचारमा विदेश जानेहरुको लर्को देख्दा परनिर्भरताको आभास गराएको छ । साथै स्वदेशी जडीबुटी एवम् उपचारमा विश्वसनीयता घटाएको छ । यसले नेपालको गरिमासमेत घट्दै गएको छ । देशको अर्बौं रकम हवाई भाडा, स्वास्थ्य उपचार, भोजन र आवासमा खर्च हुने गरेको छ । दलका नेता र उच्च तहका कर्मचारीमा स्वदेशमा उपचार गराउँदा आफ्नो इज्जत र प्रतिष्ठा गुम्ने सोच पलाएको देखिन्छ । कोभिडको महामारीले ग्रामीणभन्दा शहरी क्षेत्रका व्यक्तिको बढी ज्यान गयो ।

चिराइतो, काकसिलो, लडया, साकिनु, नीम, यार्चागुम्बालगायतका जडीबुटीको सेवनबाट अधिकांश गाउँका कोभिड बिरामीको ज्यान बच्यो । बिरामी पर्दा उनीहरुसँग न त आधुनिक औषधि थियो, न हेलिकप्टर रिर्जभ गर्ने पैसा नै । कतिपय नेता तथा कर्मचारीले फिस्टे रिजर्भ गरेर सुविधा सम्पन्न अस्पतालमा उपचार गरी घर फर्किए । कतिपयले त आईसीयुमा अक्सिजन र भेन्टिलेटरसँगै ज्यान गुमाए । अर्गानिक साग, सिस्नु, खोले खाएर स्वच्छ हावा र पानीले दुर्गममा धेरैलाई कोभिडको प्रभाव नपरेको सर्वसाधारणको भनाइ छ ।

नेपालको पछिल्लो स्वास्थ्य अवस्थाको अध्ययन गर्ने हो भने सर्वसाधरणले उपचार नै नपाउने देखिन्छ । सरकारी चिकित्सक बिरामीलाई औषधि–उपकरण नभएको र ४–५ महिनापछि मात्र तपाईंको पालो आउँछ भन्ने गर्छन् । उनीहरुको यस्तो भनाइले बिरामी र बिरामी कुरुवा हतोत्साही हुने गरेका छन् । निजी अस्पतालले बिरामीबाट मोटो रकम लिएर सर्वसाधारणलाई टाट पल्टाएका छन् । जनताका भरोसाका केन्द्र मानिने नेताहरुले चाहिँ नाम चलेका शहर र विदेशमा गएर उपचार गराउँदा ठूलो रकम बाहिरिने गरेको छ । आधारभूत आवश्यकता पूरा गर्नसमेत विदेशिने प्रवृत्तिले के नेपाल साँच्चै सार्वभौम सम्पन्न, आत्मनिर्भर छ त भन्ने प्रश्न उठ्नु स्वाभाविक नै हो । यस्तो भएपछि विदेशीले नेपाललाई हर्ने दृष्टिकोण के होला ?

यहाँको अवस्थाले गर्दा नेपालमा मात्र होइन ४५ डिग्री तापक्रम पुग्ने खाडीमुलुकहरु साउदी, कुवेतमा पुगी जस्तोसुकै काम गरेर भए पनि बाँच्न सिक्नुपर्छ भन्ने मानसिकता सर्वसाधारणमा पलाएको छ । स्वास्थ्य उपचारमा समेत विदेशिने प्रवृत्ति अहिले सर्वसाधारणका लागि चिन्ताको विषय बनेको छ ।

नेताहरु उपचारका लागि विदेशिने हो भने के जनताका लागि मात्र राज्यले अर्बौं खर्च गरेर डाक्टर र अस्पतालको व्यवस्था गरेको हो त ? चितवनमा बन्न लागेको शिक्षक अस्पतालजस्तै अब विदेशमा पनि नेपाली नेताको अस्पताल भनेर नाम राखे हुने भइसक्यो । स्वदेशी स्वास्थ्य उपचारलाई प्रश्रय नदिने हो भने देशको अर्बौं रुपियाँ खोलो बगेझैँ विदेशतिर बगिरहनेछ । यस्तो प्रवृत्तिलाई रोक्ने हो भने औषधि उपचारका लागि नेपाल नै भरपर्दो र सक्षम बन्नेछ । साथै नेपाली स्वास्थ्यकर्मीसमेत दक्ष र क्षमतावान् हुने बाटो खुल्नेछ । विदेशीले समेत नेपालको स्वास्थ्य सेवाको प्रशंसा गर्नेछन् अनि नेपाली नेताको गौरव र स्वाभिमान उच्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस्