शिक्षामा नमुना प्रस्तुत गर्दै सूर्योदय नगरपालिका



इलाम ।

भौतिक र सामाजिक विकासमा नवीन अवधारणा अवलम्बन गरिरहेको इलामको सूर्योदय नगरपालिका शिक्षा क्षेत्रको गतिविधिमा जिल्लाकै नमुना र अब्बल पालिका बन्दै गएको छ । नगरले विद्यालयको आधारभूत तहका लागि स्थानीय लोपोन्मुख समुदायको संस्कृतिदेखि होमस्टेसम्म समेटिएको पाठ्यक्रम तयार गरेको छ । पाठ्यक्र तयार भएसँगै अहिले धमाधम पाठ्यपुस्तक लेखनको काम भइरहेको छ । आउँदो शैक्षिक सत्रबाट एक कक्षाबाट पाँच कक्षासम्म नगरले आफनै पाठ्यपुस्तक पढाउने भएको छ ।
आधारभूत तहका बालबालिकालाई आफ्नो स्थानीय तहको कला, संस्कृति, धर्म, अर्थ, इतिहास, परम्परा, मूल्यमान्यतालगायत विषयमा जानकारी दिने उद्देश्यले नगरले पाठ्यक्रम तयार गरेको हो । कक्षा १ देखि ३ सम्म साप्ताहिक पाठ्यभार ५, वार्षिक १ सय ६० पाठ्यघण्टा तथा कक्षा ४ देखि ८ सम्म साप्ताहिक पाठ्यभार ४ र वार्षिक १ सय २८ पाठ्यघण्टा तोकिएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ अनुसार पाठ्यभार र पाठ्यघण्टा निर्धारण गरिएको नगरका शिक्षा शाखा अधिकृत एवं सूचना अधिकारी योगनिधि भट्टराईले जानकारी दिनुभयो ।

पाठ्यक्रममा बालबालिकामा स्थानीय सरकारको गतिविधिबारे आधारभूत जानकारी दिने, आफ्नो धर्म, संस्कार, चाडपर्व, जात्रा, मेला, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता परम्परा र सम्पदाको पहिचान, वातावरणीय सरसफाइ, घरायसी पशुपालन, दुग्ध व्यवसाय, कृषि प्रणालीको उपयोग, स्वास्थ्य, स्वस्थ खानपान, सन्तुलित भोजन, योगासन, ध्यानसहितका नौवटा विषय समेटिएको छ । त्यसका लागि १५ जना विज्ञहरूबाट पाठ्पुस्तक लेखनको काम भइरहेको भट्टराईले जानकारी दिनुभयो ।

आगामी शैक्षिक सत्रबाट कक्षा एकदेखि ५ कक्षासम्म स्थानीय पाठ्पुस्तक सञ्चालनमा ल्याइने र कक्षा ६ देखि ८ सम्मका लागि पाठ्यपुस्तक लेखनको तयारी भइरहेको बताइएको छ । विद्यार्थीले नैतिक मूल्यमान्यता र सदाचार, पर्यटन, कृषि प्रणालीलगायतका विषयमा पनि ज्ञान लिन सक्नेछन् । यहाँका बालबालिकामा आफ्नो ठाउँ, स्थानीय तहको सकेसम्म सबैखाले आधारभूत ज्ञान र सीप विकास गराउन पाठ्यक्रम तयार गरिएको नगर प्रमुख रणबहादुर राईले बताउनुभयो ।

चियाको राजधानीका रूपमा समेत परिचित नगरमा चियाकै पाठ्यक्रम तयार गर्ने योजना रहे पनि पाठ्यक्रम विकास केन्द्रसँगको समन्वयमा सबैखाले विषय समेटेर आधारभूत तहकै पाठ्यक्रम तयार गरिएको बताइएको छ । नेपालको संविधानको अनुसूची ८ मा माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहलाई दिने व्यवस्था छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७१ ले आधारभूत तहमा १ सय पूर्णाङ्कको मातृभाषा वा स्थानीय विषय राख्न पाउने उल्लेख गरेको छ । नगर शिक्षा शाखाका अनुसार सूर्याेदय नगरमा ६६ सामुदायिक, ३३ संस्थागत र एउटा गुठी विद्यालय सञ्चानलमा छन् । तीनैखाले विद्यालयमा नयाँ पाठ्यक्रम पढाइ हुने शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्