‘बालमैत्री’ गाउँका बालबालिका नै बालश्रममा



हेटौंडा ।

हेटौंडा उपमहानगरसँग जोडिएको पश्चिम मकवानपुरस्थित नगरोन्मुख मनहरी गाउँपालिकाका चारवटा वडामा गरिएको एक अध्ययनले ३ सय ५१ बालबालिका बालश्रममा रहेको देखाएको छ । उक्त पालिका नेपालमै पहिलोपटक २०७६ पुस २५ गते ‘बालमैत्री स्थानीय शासन अवलम्बनयुक्त गाउँपालिका’ घोषणा भएको थियो ।

चारवटा वडाका ७ हजार १४ बालबालिकामा गरिएको सर्वेक्षणमा बालक २ सय ३९ र बालिका १ सय १२ जना बालश्रममा संलग्न रहेको पाइएको हो । बालश्रमिकमध्ये मनहरी गाउँपालिकाभित्र १ सय ४४ जना र मनहरी गाउँपालिकाबाहिर २ सय ७ जनाले बालश्रम गरेकामध्ये वडा नम्बर २ र ४ का गलैंचा कारखानामा बढी बालबालिका काम गरिरहेका छन् ।

वडा नम्बर ६ का घरेलु बालश्रम, गलैंचा कारखाना र यातायात श्रेत्रमा बढी बालबालिका कार्यरत छन् भने वडा नम्बर ८ का घरेलु श्रम र यातायात क्षेत्रमा बढी बालबालिका कार्यरत देखिएका छन् । घरेलु श्रममा रहेकामध्ये अधिकांश बालबालिका आफ्नै घरमा ३४ जना, आफन्तको घरमा १४ जना र केही बालबालिका अपरिचित व्यक्तिको घरमा काम गरिरहेका छन् ।

ती बालबालिका विद्यालय जान नपाएको प्रतिवेदनमा जनाइएको छ । अध्ययन गरिएका बालबालिकामध्ये उमेर समूहअन्तर्गत ६ देखि १० वर्षका ११ जना, ११ देखि १५ वर्ष उमेर समूहका १ सय ३५ जना, १६ देखि १८ वर्ष उमेर समूहका २ सय ५ जना गरी ३ सय ५१ जना छन् ।

प्रतिवेदनमा जनाइएअनुसार तत्काल काम नछाड्ने योजना बनाएका बालबालिका १ सय १४ जना छन् । प्रतिवेदनअनुसार बालश्रममा जानुका कारणमा आर्थिक कारण २ सय ८६ जना, घरेलुहिंसाका कारण २१ जना, साथीभाइको प्रभावले १ सय १५ जना, आर्थिक सहयोगका लागि परिवारको दबाबले ६ जना, रोजगारदाताद्वारा प्रभावमा पारेर १९ जना, पढाइमा रुचि नभएर १ सय १७ जना बालबालिका श्रम गर्न बाध्य भएको जनाइएको छ । बालश्रमिकमध्ये विवाहित ११ जना छन् ।

बालश्रमको अवस्थाबारे सरोकारवालाबीच प्रतिवेदन सार्वजनिक गरिएको थियो । मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्टको प्रमुख आतिथ्यता तथा वडा नम्बर ४, ६ र ८ का अध्यक्ष तथा कार्यपालिका सदस्य, शिक्षक, व्यवस्थापन समिति प्रतिनिधि, बालअधिकार समिति सदस्य, टोल विकास संस्थाका प्रतिनिधि, बालसमूहका पदाधिकारी तथा युवा समूहका प्रतिनिधिको सहभागितामा प्रतिवेदन सार्वजनिक गरिएको हो ।

कार्यक्रममा पालिका उपाध्यक्ष विष्टले सिविन नेपालको सहकार्यमा गरिएको बालश्रमसम्बन्धी अध्ययनले बालबालिकासम्बन्धी कार्यका लागि योजना निर्माण, बजेट विनियोजन तथा बालमैत्री कार्यक्रमलाई निरन्तरता दिन सहयोग पुग्ने बताउनुभयो ।

वडाध्यक्षहरुले अध्ययन प्रतिवेदनले बालबालिकाबारे वास्तविक तथ्यांक भएकाले आगामी दिनमा कार्ययोजना तथा बजेट विनियोजन गर्न सजिलो हुने बताएका छन् । सिविन नेपालले पालिकामा बालश्रम न्यूनीकरण परियोजनाअन्तर्गत बालश्रम अध्ययन गरिएको र अध्ययनअनुसार बालबालिकाका लागि सहयोग गरिने सिविन बाल हेल्पलाइन मकवानपुर प्रमुख झविन्द्र ज्ञवालीले बताउनुभयो ।

‘बालमैत्री स्थानीय शासन अवलम्बनयुक्त गाउँपालिका’ घोषणाका लागि पालिकाले विभिन्न चरणका गतिविधि सञ्चालन गरी ३९ वटा सूचक पूरा गरेको थियो । खास गरी, पालिकामा विकराल समस्याका रूपमा रहँदै आएको बालश्रम उन्मूलनका लागि पालिकाले ध्यान दिइएको दाबी गरिएको छ ।

बालमैत्री शासन घोषणाका लागि पालिकाले घरधुरी तथा सार्वजनिक निकायको अनुगमन, भौतिक संरचनामा बालमैत्री व्यवस्था, बाल सहभागिता, बाल संरक्षण, बालबचाउ र बालविकासको सारतत्वलाई अवलम्बन गर्न प्रेरित गरिएको पालिकाले जनाएको छ । मनहरीअघि सुनवल नगरपालिका र केही स्थानीय तहका वडालाई बालमैत्री स्थानीय शासन अवलम्बनयुक्त क्षेत्र घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्