८ लाख ३० हजार भेंडाबाख्रालाई खोप



हेटौंडा ।

वागमती प्रदेशमा पीपीआर रोगविरुद्ध सप्ताहव्यापी खोप अभियानअन्तर्गत १३ जिल्लाका ८ लाख ३० हजार १ सय ८७ भेंडाबाख्रालाई खोप लगाइएको छ । माघ २५ गतेबाट खोप अभियान सञ्चालन गरी मंगलबारसम्म ८ लाख ३० हजार १ सय ८७ भेंडाबाख्रामा खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशुपन्छी विकास महाशाखाले बताएको छ । ८ हजार ६ सय ९८ भेंडा र ८ लाख २१ हजार ४ सय ८९ बाख्रामा खोप लगाइएको बताइएको छ ।

पहिलो चरणमा मकवानपुरमा सबैभन्दा धेरै खोप लगाइएको छ । मकवानपुरमा १ लाख ६६ हजार ४ सय २३ बाख्रामा खोप लगाइएको छ भने नुवाकोटमा १ लाख २० हजार १९ वटा भेंडाबाख्रामा खोप लगाइएको छ । सबैभन्दा कम भक्तपुरमा ६ हजार १ सय ८१ वटामा लगाइएको छ ।

पहिलो चरणमा काभ्रेमा ९९ हजार १ सय ८२, ललितपुरमा २७ हजार ५ सय ८७, काठमाडौंमा ३१ हजार ५ सय ५७, दोलखामा ९४ हजार ९ सय ९८ वटालाई खोप लगाइएको छ । सिन्धुपाल्चोकमा १५ हजार ९ सय ५२, सिन्धुलीमा ४५ हजार ८ सय २५, रामेछापमा ४४ हजार ६ सय १०, चितवनमा ७१ हजार ४ सय १८, रसुवामा २३ हजार १ सय ६५ र धादिङमा ८३ हजार २ सय ७० वटा भेंडाबाख्रालाई खोप लगाइएको मन्त्रालयको तथ्यांक छ । प्रदेशका दोलखा, काभ्रे, चितवन, नुवाकोट, रसुवा र धादिङ जिल्लामा भेंडामा पनि खोप लगाइएको छ ।

प्रदेशका स्थानीय तहका सबै वडामा खोप भ्याक्सिनेटर परिचालन र खोपकेन्द्र सञ्चालन गरी पहिलोपटक प्रदेश सरकारले खोप अभियान गरेको हो । पहिलो चरणमा १ करोड १९ लाख बजेटबाट ११ लाख ९० हजार खोप खरिद गरी खोप अभियान शुरु गरिएको छ । प्रदेशमा भेंडाको संख्या ९३ हजार ६ सय ३९ र बाख्राको संख्या २३ लाख ५१ हजार २ सय १७ रहेको मन्त्रालयका प्रवक्ता राजन ढकालले बताउनुभयो ।

पीपीआर एकचोटि लगाएपछि भेंडाबाख्रामा ३ वर्ष लगाउनु पर्दैन । प्रदेशमा पीपीआर रोगका कारण वर्षेनी धेरै संख्याका भेंडाबाख्रा मर्ने हँुदा कृषकले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको मन्त्रालयले जनाएको छ । पुरानो ठाउँमा रोग देखापर्दा मृत्युदर कम भए पनि नयाँ ठाउँमा रोग फैलिँदा करिब ८० प्रतिशत मृत्यु हुने गरेको मन्त्रालयको तथ्यांकले देखाएको छ । विषाणुबाट लाग्ने रोगको उपचार हुने नभएकाले सबै भेंडाबाख्रालाई रोगबाट सुरक्षित राख्ने उपयुक्त तरिका भ्याक्सिन भएको मन्त्रालयका सूचना प्रमुख डा. अनुप अधिकारीले बताउनुभयो ।
रोगका कारण भेंडाबाख्रा पालनमा आश्रित कृषक तथा व्यवसायी व्यवसायबाट पलायन हुन सक्ने अवस्था आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पीपीआर रोग नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नु आवश्यक भएकाले खोप अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

रोग नियन्त्रणको सबैभन्दा उत्तम उपाय समयमै पीपीआरविरुद्ध खोप लगाउनु हो । उक्त रोगविरुद्ध हरेक ३ वर्षमा खोप लगाउनु पर्दछ । खोप ३ महिना उमेरमाथिका पशुलाई लगाउनु पर्दछ । पहिलोपटक ३ महिना उमेर पूरा भएपछि लगाउने र तत्पश्चात् खोप लगाउँदा हरेक ३ वर्ष फरकमा लगाउनु पर्दछ । खोप लगाउँदा साना र ठूला भेंडाबाख्रालाई १ एमएल मासु वा छालामुनि लगाउनु पर्दछ । अन्यत्रबाट ल्याइएका भेंडाबाख्रालाई खोप लगाएर २१ दिन छुट्टै राख्नुपर्दछ । फर्ममा जैविक सुरक्षा कडाइसाथ अवलम्बन गर्नुपर्ने बताइएको छ ।

पीपीआर रोग लागेको पशुलाई ज्वरो ४० देखि ४१ डिग्री सेल्सियस (१०४ डिग्रीदेखि १०६ डिग्री फरेनहाइट) आउने गर्दछ । जनावर लोसे वा शान्त हुने गर्दछ । पशुको नाकबाट पानी बग्ने, कालान्तरमा बाक्लो गन्हाउने सिंगान बगाउने, सिंगानको पाप्राले नाकको प्वाल बन्द हुने स्वास फेर्न गाह्रो हुने, आँखामा रातो कचेरा निस्कने, निरन्तर आँशु बग्ने, गिजामा कनिका छरेजस्तो स–साना दाना देखिने, हाडछाला हुने गरी दुब्लाउने, शरीरको तापक्रम घट्ने, रगतमासी छेर्ने र रोग लागेको ५ देखि १० दिनमा पशुको मृत्यु हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्