सूचना प्रविधिको विषयमा पढाउँदै म्याग्दी



म्याग्दी ।

धौलागिरि क्षेत्रमा नै पहिलोपटक हिमाली जिल्ला म्याग्दीको बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसमा सूचना तथा प्रविधिको विषयमा अध्यापन हुने भएको छ । म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तहमा सेमेस्टर प्रणालीअन्तर्गत समय सुहाउँदो प्राविधिक शिक्षाको विषयमा अध्ययन तथा अध्यापन गराउन लागिएको हो ।

साविक धौलागिरिमै पहिलोपटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्राप्त गरेको म्याग्दी क्याम्पसले सूचना तथा प्रविधिको क्षेत्रमा अध्यापन गराउने मौका पाएको छ । प्राविधिक शिक्षाका लागि ठूला शहर तथा विदेशमा जाने चलन बढिरहेको समयमा म्याग्दी बहुमुखी क्याम्पसले जिल्लामै स्नातक तहमा कम्प्युटर तथा सूचना, प्रविधि (बीआईसीटीई) को विषयमा अध्ययनको अवसर जुराएको हो । जिल्लाको विभिन्न विद्यालयमा विज्ञान, गणित, कम्प्युटर जस्ता प्राविधिक विषयहरु पढाउने शिक्षकको अभाव भइरहेका बेला म्याग्दी क्याम्पसले एकैपटक दुईवटा विषयको सम्बन्धन प्राप्त गरेको जनाएको छ । बीआईसिटीई र बीएड साइन्स अध्ययन गर्न प्रवेश परीक्षाका लागि आवेदन खुलाइएको सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताउनुभयो ।

समेस्टर प्रणालीमा अध्ययन तथा अध्यापन हुने कम्प्युटर प्रविधिको विषयमा ४० प्रतिशत आन्तरिक तथा ६० प्रतिशत लिखित परीक्षा हुने सूचना अधिकारीसमेत रहनुभएका सहायक क्याम्पस प्रमुख सुवेदीले जानकारी दिनुभयो । बीआईसिटीई विषयमा अध्ययन गर्नका लागि यही फागुन १० गतेसम्म प्रवेश परीक्षाको आवदेन दिन सकिने समय तोकिएको छ भने १५ गतेसम्म डबल दस्तुर तिरेर आवदेन दिन सकिन्छ । अहिले प्रवेश परीक्षाका लागि विद्यार्थीले धमाधम फाराम भरिरहेका छन् भने १८ गते प्रवेश परीक्षाको मिति तोकिएको उहाँले जनाउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुुंगानाले जिल्लाको शैक्षिक विकासका लागि क्याम्पसले सबैको साथ लिएर अगाडि बढ्ने उद्देश्य लिएको बताउँदै शैक्षिक, भौतिक पूर्वाधारको विकास एवं तहगत र विषयगत रूपमा क्याम्पसलाई विकास गर्दै लैजाने योजना सुनाउनुभयो । उहाँले युवाको बढ्दो विदेश पलायनलाई रोक्न, जिल्लामै रोजगारी सिर्जना गर्ने र प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिइएको बताउनुभयो । क्याम्पसको विकासका लागि समितिबाट आवश्यक पहल भएको छ ।

बीआईसीटीई अध्ययनका गर्नका लागि जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण गरी न्यूनतम २ दशमलव शून्य १ अर्थात् ‘सी’ जीपीए प्राप्त गरेको विद्यार्थीले आवेदन दिन सक्नेछन् । चारवर्षे शैक्षिक कार्यक्रममा विद्यार्थीलाई सैद्धान्तिक विषयसँगै प्रयोगात्मक अध्ययन र अध्यापन गराइनेछ । बीआईसिटीई उत्र्तीण भएका विद्यार्थीले सरकारी तथा गैरसरकारी संस्थामा आईटी अफिसर, विद्यालयमा आईटी शिक्षक, विद्यालय निरीक्षक, सफ्टवेयर डेभलपरसहित सूचना र सञ्चारको क्षेत्रमा आवश्यक जनशक्तिको व्यवस्थापन तथा क्षमता अभिवृद्धिमा समेत सघाउन सक्नेछन् ।

जिल्लाभित्र आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा सघाउने भएकाले सबै स्थानीय तहलाई जानकारीसहित भर्ना अभियानमा साथ दिन समेत अनुरोध गरिएको क्याम्पसले जनाएको छ । भावी दिनमा जिल्लाको आवश्यकता तथा विद्यार्थीको रुचि, क्षमता र करिअरमा मेल खाने पाठ्यक्रम लागू गर्ने गरी योजना बनाइएको छ ।

दुई वर्षअघि विश्वविद्यालय अनुदान आयोगबाट क्यूएएको प्रमाणपत्र प्राप्त गरेको क्याम्पसले यसअघि स्नातकोत्तर तहको व्यवस्थापन संकायमा समेस्टर तथा यस वर्षदेखि स्नातक तहमा बीआईसिटीई विषयमा सेमेस्टर प्रणाली र बीएडतर्फ वार्षिक प्रणालीअनुसार विज्ञान शिक्षाको कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । २०४८ सालमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल दश जोड दुईदेखि स्नातकोत्तर तहसम्म विभिन्न विषयमा पढाई हुँदै आइरहेको छ भने झन्डै १४ सय जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्