ड्रोन बनाए १५ वर्षीय बालकले



लमजुङ ।

लमजुङ सदरमुकाम रहेको बेंसीशहर नगरपालिका–३ बहुनबेंसीस्थित यशोब्रह्म माध्यमिक विदालयको कक्षा–१० मा अध्ययन गर्ने १५ वर्षीय बालक किरण अधिकारीले ड्रोन बनाएर उडाएका छन् ।

सरकारी विद्यालयमा अध्ययन गर्दै आएका अधिकारीले कक्षा–४ मा पढ्दा पनि बालबालिकाले खेलाउने गाडी बनाएको किरणको आमा विष्णुमाया अधिकारीले बताउनुभयो । त्यसपछिका दिनमा पनि उनले लाइट, फोन, वाटर पम्प, इलेक्ट्रिक म्यागेन, एक्जाभेटर, डोजर आदिको निर्माण गरिसकेको छन् ।

आफू सानो भएको हुँदा शुरुका दिनमा बाबाआमाले यस्तो काम गर्छ भन्ने नपत्याएको हुँदा आफूले बनाउने वस्तुका लागि सामग्रीको जोगाड गर्न खर्च नपाएर कठिन भएको किरणले बताउनुभयो । पछि यो त राम्रो काम हो भनेर छिमेकी, इष्टमित्रहरू र अरु बाहिरबाट आउनेले समेत भन्न थालेपछि पछिल्ला दुई वर्षदेखि बाबाले सहयोग गर्न थाल्नुभएको उहाँको भनाइ छ । ‘शुरुका दिनमा त दशैंको बेलामा टीका लगाएर पाएको पैसा, स्कुलमा खाजा खान दिएको पैसा जोगाएर आफूले यस्तो काम गरेको थिएँ ।’ –किरणले बताउनुभयो । युटुभमा हेरेर ड्रोन बनाउने सोचेका किरणले ड्रोन बनाउनुअघि करिब ५५ हजार रुपियाँ खर्च गरेर रिमोर्ट कन्ट्रोल गाडी बनाएका थिए ।

ड्रोन बनाउनका लागि करिब ७० हजार रुपियाँ खर्च लागेको किरणले बताउनुभयो । यसले ३ किलोमिटरको दुरी र उचाइमा पनि तीन किमि नै उड्न सक्छ उहाँले विश्वासका साथ भन्नुभयो । किरणले बनाएका ड्रोनले औषधि बोक्ने, सभा–समारोहमा फूलको वर्षा गराउने, राष्ट्रिय झण्डाको प्रदर्शन गर्ने जस्ता काम सहजतापूर्वक गर्न सक्छ । यसले डेढ केजीसम्मको तौल बोक्न सक्ने उहाँले बताउनुभयो ।

‘अहिले खर्च नभएका कारण त्यसको दुरी र उचाइ नाप्ने मेसिन राख्न सकेको छैन । एक किमिको दुरी भने ड्रोनले २/३ पटक पार गरिसकेको छ ।’ –किरणले बताउनुभयो । कक्षा–९ मा पढ्दै गर्दा गत वर्ष उनले आफूले बनाएको रिमोट कन्ट्रोलको गाडीमा चढेर एक किमिको यात्रा गरेर सबैलाई चकित बनाएको किरणको बुबा मदन अधिकारीले बताउनुभयो । त्यसपछि उनी चर्चामा आउन र यस्तो काम गर्नका लागि खर्च दिन थालेको उहाँले बताउनुभयो । कक्षा–८ मा पढ्दा उनले डोजर बनाएको समेत उहाँले बताउनुभयो ।

किरणका बाबु–आमा दुवै किसान हुन् । घरमा बुबाआमाले ज्योति भैंसी फर्म चलाएका छन् । फार्ममा ७ वटा दुहुना भैंसी छ । साँझ–बिहानको समयमा ती भैंसीको दूध बिक्री गर्ने कार्यमा बुबा– आमालाई सहयोग गर्छु’, उहाँले गर्वका साथ भन्नुभयो । पढ्नमा भने उनी मध्यमस्तर जस्तै रहेछन् । उहाँले आफ्नो रोल नं ११ भएको बताउनुभयो । कक्षामा ३३ जना विद्यार्थी छन् । ‘यसअघिका कक्षाहरूमा ६, ७ रोल नं. हुने गर्दथ्यो । पछि जाँच पनि राम्रोसँग भएन सरहरूले त्यसै नम्बर दिने गर्दा म पछि परें ।’ –उहाँले बताउनुभयो ।

१ लाख ५० हजार रुपियाँ खर्च गर्ने हो भने आफूले बनाउने ड्रोनले डेढ किलोको सामग्री सजिलै बोक्न सक्ने पनि किरणले बताउनुभयो । ड्रोनको तौल पनि डेढ किलो भएको उहाँले बताउनुभयो । एक महिनाअघि मात्र सो ड्रोन तयार भएको किरणले बताउनुभयो । ड्रोन बनाउने सोच आएपछि सामग्रीहरु खोज्न र जोड्न १० दिन लागेको र बनाउन एक महिना लागेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्