अवकासपछिको जीवन माहुरीपालनमा

वार्षिक १५ लाखसम्म कमाइ



पर्वत ।

पर्वतको कुस्मा नगरपालिका चनौटेका कृष्णप्रसाद शर्मा व्यावसायिक मौरीपालक हुनुहुन्छ । साढे दुई दशक लामो प्राध्यापनबाट सेवानिवृत्तपछि उहाँ व्यावसायिक कृषि कर्ममा लाग्नुभएको छ । शर्माले अन्जली बी कन्सर्न सञ्चालनमा ल्याएर व्यावसायिक रूपमा १ सय घार मौरी पाल्दै आउनुभएको छ ।

पर्वतको फलेवास नगरपालिका कार्कीनेटास्थित अन्नपूर्ण उच्चमाध्यमिक विद्यालयको प्रधानाध्यापकबाट अवकाश लिएपछि उहाँले व्यावसायिक रूपमा मौरीपालनलाई अगाडि बढाउनुभएको छ । २० वर्ष पहिलेदेखि नै घरमा आधा दर्जन घार मौरी पाल्दै आउनुभएका पूर्वशिक्षक शर्माले अवकाशपछि १ सय घार थपेर यसलाई व्यावसायिक बनाउँदै लैजानु भएको छ ।

धेरै वर्षको अनुभव र पछिल्लो समय बढ्दो व्यावसायिकता देखेकाले मौरीपालनमा लागेको उहाँले बताउनुभयो । ‘मौरीपालनमा राम्रो सम्भावना देखेपछि मलाई राम्रै हुन्छ भन्ने लाग्यो । त्यसपछि व्यावसायिक रूपमा यो पेसा रोजें,’ उहाँले भन्नुभयो– ‘अहिलेसम्मको अनुभवमा यो व्यवसाय राम्रै हुँदो रहेछ । उत्पादन र बजार दुवै हिसाबले खास्सा छ ।’ मौसमले साथ दिएको अवस्थामा १ सय मौरीका घारबाट वार्षिक १५ लाख रूपैयाँसम्म कमाउन मुस्किल नहुने शर्माको दाबी छ ।

शर्माका अनुसार एउटा घारमा एक पटकमा सामान्यतया ५ किलोग्राम मह निस्कन्छ । राम्रो मौसम र चरन व्यवस्था गर्न सके एउटा घारबाट वर्षमा तीनपटक मह काड्न सकिन्छ । यो हिसाबले वर्षमा एउटा घारबाट १५ केजी मह उत्पादन हुन्छ । बजार मूल्य प्रतिकिलोको १ हजार ५०० भएकाले एउटा घारबाट वर्षमा २२ हजार ५ सय रूपैयाँ आम्दानी हुन्छ । यो हिसाबले १ सय वटा घारको आम्दानी २२ लाखभन्दा बढी हुन्छ ।

शर्माले मौरीपालनका लागि १० लाखभन्दा बढी लगानी गर्नुभएको छ । उहाँ मौरीसँगै बोयर जातका बाख्रापालन र मौसमी तरकारी खेतीसमेत गर्दै आउनुभएको छ । उहाँको फार्ममा अहिले तीन जनाले काम गर्दै आएका छन् । घरका सदस्यले नभ्याउने भएकाले उहाँले कामदारसमेत राख्नुभएको छ । शर्माका अनुसार हाल मह १ हजार ५ सय रूपियाँ प्रतिकिलोका दरले बिक्री हुँदै आएको छ । शुद्ध मह माग धेरै भए पनि उत्पादन गर्न नसकेको उहाँको भनाइ छ ।

शर्माले गत वर्षदेखि बोयर प्रजातिको बाख्रासमेत पाल्न थाल्नुभएको छ । त्यसभन्दा पहिले स्थानीय प्रजातिका बाख्रा पाल्दै आएकाले आम्दानी सोचेजति राम्रो नभएपछि तनहुँको बन्दीपुरबाट बोयर जातका उन्नत बोका र पाठी ल्याएर पाल्न थालेको उहाँको भनाइ छ । खोरमा अहिले २० वटा बाख्रा छन् । ती सबै पाठापाठी जन्माउने अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्