गौतमबुद्ध विमानस्थलमा १० दिने क्यालिब्रेशन फ्लाइट सुरु 



यमलाल भुसाल,बुटवल ।

भैरहवामा निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको १० दिने प्राविधिक चेकजाँच (क्यालिब्रेशन फ्लाइट)  सुरु भएको छ ।

एरो थाईको विशेष जहाजले शुक्रवारबाट १० दिने प्राविधिक परीक्षण उडान सुरु गरेको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम्युनिकेसन, नेगिभेसन र सर्विलान्स चेकजाँच गरी विमानस्थल उडान योग्य रहे नरहेको रिपोर्ट पेस गन गरी एरो थाईले शुक्रबारदेखि सुरु गरेको क्यालिब्रेशन फागुन १५ गतेसम्म जारी राख्ने छ ।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आईसीबी–२ का परियोजना प्रमुख प्रवीण न्यौपानेले विमानस्थलको भौतिक पूर्वाधारको काम सम्पन्न भई उपकरण जडानको काम पनि सकिएको बताउनु भयो । उडानका लागि ग्राउन्ड टेस्ट सकिएको र फ्लाइट टेस्ट गर्नको लागि एरोनटिकल रेडियो अफ थाईलैण्ड (एरो थाई) को फ्लाइट चेक एयर क्राफ्टले काम थालेको बताउनु भयो ।

क्यालिब्रेशन फ्लाइट विमानस्थलमा उडान र अवतरणका लागि प्राविधिक रूपमा तयार छ की छैन भनेर प्राविधिक परीक्षण गर्ने प्रक्रिया हो । ग्राउन्ड र जहाजबिचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्न क्यालिब्रेशन फ्लाइट गरिन्छ । पाइलट, को–पाइलट सहित सात जनाले  विशेष विमानका साथ काम थालेको छ । यसले विमानस्थललाई केन्द्रित गरेर उडान गर्नेछ । उडानका क्रममा एन्टिना, सिग्नल रिसिभ, लाइटिङ, कम्युनिकेसन लगायत सबै सूचना ठिक छ छैन भनी परीक्षण गरिने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आईसीबी–२ का आयोजना प्रमुख प्रवीण न्यौपानेले बताउनु भयो ।

क्यालिब्रेशन फ्लाइट लगतै नेपाल एयरलाइन्सको ठुलो विमानबाट विमानस्थलको परीक्षण गरिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्यसपछि अधिकतम ५६ दिन वा न्यूनतम ४२ दिन पछि विमानस्थलमा नियमित उडानहरू गरिने प्राधिकरणको भनाई छ । शुक्रवारदेखि दैनिक ७ घण्टासम्म क्यालिब्रेशन फ्लाइट हुने छ । एरोथाईका टोली फागुन १५ गते सम्म भैरहवा बस्ने र फागुन १६ गतेका दिन टोली थाइल्यान्ड फर्केनछ  । विसं २०७१ साल माघ १ गते ( जनवरी,१५ २०१५) मा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरिएको थियो ।

तीन चरणमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गरिएको थियो । जसमा पहिलो बोलपत्र (आइसिबी वान) अन्तर्गत ६ अर्ब ८२ करोड, दोस्रो अन्तर्राष्ट्रिय बोलपत्र (आइसिबी टू) अन्तर्गत ५० करोड र तेस्रो मुआब्जा वितरण २२ अर्ब ४० करोड रुपैयाँ भएको आयोजनाले जनाएको छ । त्यसका अतिरिक्त कार्गो निर्माणका लागि  ९० करोडको काम भएको छ । यसरी सबै आयोजनाको काम जोड्दा  ३० अर्बभन्दा बढीको लगानी पुगेको आईसीबी–१ का परियोजना प्रमुख प्रवेश अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्