रसुवागढीको व्यवसाय ठप्प



सरस्वती न्यौपाने, रसुवा ।

गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरे र घट्टेखोलाको व्यापार व्यवसाय ठप्प नै भएको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीवाट दुई वर्ष अघिसम्म सानाठूला व्यापारीको व्यापार व्यवसाय उत्साहजनक रूपमा सञ्चालन भएको थियो ।

बाक्लो चहलपहल रहेको यो नाका, कोरोनाको माहामारीका कारण एकाएक बन्द भएपछि स्थानीयलाई समेत प्रभाव परेको छ । त्यसयता नाकाबाट हुने सबै व्यवसाय प्रभावित भएको छ । खचाखच हुने व्यवसाय अहिले शून्य भएसँगै ६ वर्षदेखि टिमुरेमा होटल व्यवसाय गर्दै आएका व्यवसायी निरज पौडेल कोरोना सक्रमण अघि होटलमा भरिएका ग्राहकलाई सेवा दिन नभ्याएको सम्झन्छन् ।

तर, अहिले ग्राहक कतिबेला आउलान् भनेर कुर्नुपर्ने अवस्था रहेको छ उहाँको दुखेसो थियो । नेपाली तथा भारतीय नागरिकले मानसरोवर यात्राका लागिसमेत रसुवागढी नाका प्रयोग गर्ने गरेका छन् । दैनिकजसो सयभन्दा बढी कन्टेनरले चीनबाट सामान आयात निर्यात गर्दथे । चिनियाँ सामान लिन जाने तथा केरूङ हेर्न जाउँ भन्नेको भीड हुने गरेको थियो । करिब १५ सय रसुवावासीले रोजगार पाएका थिए ।

प्रहरीलाई सीमापारीसम्म सामान किन्न जाने बाहिरी जिल्लाका मानिस लान र ल्याउनसमेत भ्याइनभ्याइ हुने गरेको थियो ।
अध्यागमन कार्यालयमा काम गर्ने कर्मचारी लाई चिनियाँ तथा अन्य देशका नागरिकको अध्यागमन अनुमति दिनसमेत लामो समय लाग्ने गर्दथ्यो तर अहिले नाकाको चहलपहल कोरोनाको कारण सुनसान नै रहेको छ ।

रसुवागढी नाका नजिकै रहेको टिमुरे बजार र घट्टेखोलामा ३० देखि १ सय जना बस्न मिल्ने क्षमताको १० वटा ठूला होटल तथा लज,करिब २० वटा साना होटल र १५ वटा खुद्रा पसल रहेका छन् । नाका सहज रूपमा सञ्चालन हुँदा टिमुरेमा रहेका व्यवसायीका पसलमा खानेदेखि लगाउनेसम्मका चिनियाँ सामानले भरिभराउ हुन्थे ।

नाकामा चहलपहल शून्यजस्तै बनेसँगै चिनियाँ सामानले भरिभराउ हुने पसल आजभोलि रित्तो भएको खुद्रा व्यवसायी ईन्द्रवहादुर थापा मगरले बताउनु भयो । चिनियाँ सामान नहुँदा केही खुद्रा पसलेले भने व्यवसाय नै परिवर्तन गरेका छन् । दैनिक तीन सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक नाका हेर्नका लागि रसुवागढी पुग्ने गर्दथे ।

कन्टेनर चालक, व्यापारी, मानसरोवर जाने भारतीय पर्यटक, मजदुरलगायतको बाक्लो उपस्थिति हुने यो नाका २०७६ माघ १५ वाट २०७७ जेठ २२ गतेसम्म बन्द भएको थियो । त्यसपछि चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको छ । चीनले आफ्नै गाडीमा नेपालतर्फको भूभागमा समान ल्याइदिने गरेको छ ।

दुई वर्षदेखि ठप्पजस्तै रहेको नाका पूर्णरूपमा सञ्चालन गरी व्यवसायीको गुमेको व्यवसाय फर्काउन नेपाल सरकारले ध्यान दिन सरोकारवालाहरूले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्