महिलामाथि अनेकौं हिंसा: आउँदैनन् घरबाहिर घटना



लमजुङ । 

अँध्यारो कोठा । दुई जना मुस्किलले अट्ने एउटा सानो खाट, त्यही खाटमा पुराना अनि कतै च्यातिएका र उद्रिएका कपडाको भद्रगोल । भान्छा र बिच्छौना एउटै कोठामा हुँदा सबै भद्रगोल । लमजुङ सदरमुकाम बेंसीशहरमा भाडा तिरेर बस्दै आएको निर्मला ९नाम परिवर्तन० सात वर्षभन्दा बढी हुन लाग्यो ।

पाँच महिनाको छोरी छोडेर रोजगारीका निम्ति बिदेसिएका निर्मलाका श्रीमान् ७ वर्षसम्म घर फर्किएका छैनन् । विदेश गएको करिब एक वर्षसम्म सम्पर्कमा रहेका श्रीमान् त्यसपछि सम्पर्कमा पनि नआएपछि निर्मलाको जीवन कष्टपूर्ण बन्दै गयो ।अचेल उनलाई बिहान–बेलुका छाक टार्नै मुस्किल छ । छोरी हुर्किएर ८ वर्ष पुगिसकिन्, एकातिर श्रीमान् टाढिएको पीडा, अर्कोतिर छोरीको उमेर बढेसँगै पूरा गर्नुपर्ने उनको इच्छा र आवश्यकता । श्रीमान् आजसम्म आफ्नो श्रीमती, छोरी सम्झेर न त नेपाल आए न उनीहरूको भरणपोषणका लागि रकम नै पठाए ।

शुरुको वर्ष श्रीमान्को फोन पनि आउँथ्यो, पैसा पनि पठाउनुभयो, तर झण्डै ६ वर्ष भयो न फोन आएको छ न पैसा ।’ –निर्मलाले सुनाउनुभयो । सदरमुकाममा भाडा तिरेर बस्नु, छोरीलाई पढाउनु, उमेर बढेसँगै छोरीको इच्छा र आवश्यकताअनुसार पु-याउँदै जान कम्ती सकस छैन निर्मलालाई । जसोतसो दुःख गरेर छोरी हुर्काउँदै आएकी निर्मलालाई अर्को बज्रपात प-यो ।

धेरै वर्षपछि विदेशबाट श्रीमान्को फोन आयो, निकै खुसी हुँदै फोन उठाएकी निर्मला छाँगाबाट खसेजस्तै भइन् । श्रीमान्को फोनबाट अरू कुनै महिला बोलिन्– ‘म उहाँलाई माया गर्छु, तपाईंको छोरीलाई पनि म पाल्छु ।’ निर्मलाको श्रीमान्ले अर्कै बिहेको तयारी गरेका रहेछन् । ‘धेरै वर्ष फोन नआए पनि मान्छे आउने आस थियो । आए पछि दुःख–सुख साटिन्छ भन्ने थियो, तर उहाँ त धेरै टाढा भइसक्नुभएछ’, उहाँको दुखेसो छ– ‘म एक्लै धेरै रोएँ, श्रीमान्लाई धेरै माया गर्थें, उहाँको मन मतिरै फर्किन्छ कि भन्ने आशाले फोन गरी रहन्थें । अन्ततः श्रीमान् स्वदेश फकिएर अर्को बिहे गरी सकेछन् ।’
छोरीको भविष्य के होला भनेर तत्कालै निर्मला कानुनी उपचारमा जान सकिनन् । शुरुका दिनहरूमा सासूससुराले पनि साथ दिने प्रतिबद्धता व्यक्त गरे । तर, पछिल्ला दिनमा सासूससुराको पनि मन परिवर्तन भएको छ । ‘अहिले न श्रीमान्को साथ न त घर परिवारकै साथ, जसोतसो छोरीकै लागि बाच्दै छु ।’ –आँखाभरि आँसु पार्दै उहाँले भन्नुभयो ।लमजुङ सदरमुकाम बेंसीशहरमा बस्दै आएकी २७ वर्षीया दन्ती नाम परिवर्तनको पनि पीडा कम छैन । सात वर्षअघि सडक दुर्घटनामा श्रीमान् गुमाएकी दन्ती आफ्नो श्रीमान् नहुँदा पारिवारिक पीडामा नै परेकी छन् ।

दमन्तीका दुई सन्तान छन् । श्रीमान् हुँदा परिवारमा छोरी जस्ती माया पाएकी दन्ती श्रीमान् गुमाएपछि भने आफ्नै सासूससुराको हेंलाको पात्र बनेकी छन् । आफ्ना छोराछोरीको राम्रो भविष्य बनाउने ठूलो सपना भए पनि घर तर्फबाट केही सहयोग नपाएपछि उनी अहिले माइती घरमा बस्दै आएकी छन् ।उमेर नपुग्दै विवाह, त्यसलगत्तै दुई सन्तान र अकल्पनीय समयमा श्रीमान् गुमाउँदाको पीडाले उहाँको खुसी लुटियो । त्यति मात्रै होइन घर तर्फबाट पाउनुपर्ने अंश पनि नपाएपछि अहिले बिचल्लीमा परेको दमन्ती बताउनुहुन्छ ।

सन्तानका निम्ति अंश माग्दासमेत घर–परिवारबाट इन्कार हुँदै आएपछि न्यायको निम्ति कानुनी प्रक्रिया शुरु गर्न लागेको उहाँको भनाइ छ । ‘मेरो त कर्म नै यस्तै रहेछ, तर यी छोराछोरीका निम्ति पनि न्याय माग्नुपरेको छ’, दमन्ती भन्नुहुन्छ– ‘सायद कानुन अन्धो छैन होला ।’हाम्रो समाजमा यस्ता घटना धेरै छन् । यी त एक प्रतिनिधि घटना मात्रै हुन् । कतिपय घटना परिवार र आफन्तको दबाबमा घर–परिवारमै सीमित राखिन्छन् । कतिपय घटना समाजले नै मिलाउने÷दबाउने गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको चालू आर्थिक वर्षको तथ्यांक मात्रै हेर्ने हो भने बहुविवाहसम्बन्धी जम्मा दुईवटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङमा चालू आर्थिक वर्षको सात महिनाको अवधिमा मात्रै ४४ वटा घरेलु हिंसाका उजुरी परेका छन् । जसमध्ये ३० महिला हिंसा र १४ वटा ठाडो उजुरी हुन् । महिला हिंसाको घटनाबारेमा महिला, वृद्धवृद्धा तथा बालबालिका केन्द्रले हेर्ने र ठाडो उजुरीका मुद्दाहरू प्रहरीको मुद्दा शाखाबाट हेर्ने गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जगदीश रेग्मीले बताउनुभयो ।

प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७७-७८ मा महिला हिंसासम्बन्धी १ सय २१ वटा उजुरी परेको थियो । त्यसमध्ये ६० वटा महिला हिंसा र २९ वटा ठाडो उजुरी हुन् । आर्थिक वर्ष ०७६-७७ मा जम्मा ७९ हिंसाका उजुरी परेका थिए । जसमध्ये ६१ घरेलु हिंसा र १८ वटा ठाडो उजुरी छन् ।

जिल्लामा ठाडो उजुरीभन्दा घरेलु हिंसाको उजुरी दिनेको संख्यामा धेरै छ । गत वर्ष परेका घरेलु हिंसाका उजुरीमध्ये ६० वटाको मिलापत्र भएको प्रहरी तथ्यांकले देखाएको छ । सोबाहेकका २४ वटा अदालती प्रक्रियामा गएका छन् ।प्रहरीमा आएका उजुरीको तथ्यांकले हिंसाको घटना सीमित छ भन्न सकिन्न । कतिपयले घरभित्रको कुरा बाहिर लैजानुहुँदैन भन्ने मानसिकताले पनि घरेलु हिंसा बाहिर नल्याउने तथा प्रहरीमा नआउने गरेको पाइन्छ । प्रहरी कार्यालयमा परेका हिंसा उजुरीमध्ये मादक पदार्थ सेवन गरी गाली गलौच तथा कुटपिट गर्ने, परिवारमा खान–लगाउन नदिने, घरायशी झै–झगडा, बहु–विवाहलगायतका घटना देखिन्छन् ।

कतिपय घटना परिवार र आफन्तको दबाबमा घर–परिवारमै सीमित भएको छ । कतिपय घटना समाजले नै मिलाउने-दबाउने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्