उपत्यकाको फोहोर विसर्जनमा फेरि समस्या



काठमाडौं । 

स्थानीय बासिन्दाको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि रोकिएको छ । मुड्खु–तीनपिप्लेको बाटो निर्माण नगरिदिएका कारण स्थानीय बासिन्दाले फोहोर व्यवस्थापनमा अवरोध पु¥याएका हुन् । स्थानीयले बाटोमा नाराबाजी गरेका थिए । स्थानीय वडा अध्यक्ष मनोहरि तिवारीले बाटो नबनेसम्म फोहोर विसर्जन गर्न नदिइने बताउनुभयो ।

आइतबार बिहान करिब ५ बजे फोहोर बोकेको सवारीसाधन सिसडोल पुगेको थियो । दोस्रोपटक फोहोर लैजान खोज्दा स्थानीयले अवरोध गरेका थिए । सिसडोल ल्यान्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले पासाङल्हामु राजमार्गअन्तर्गत मुड्खु–तीनपिप्ले खण्डमा स्थानीय बासिन्दाले अवरोध गरेकाले दर्जनौं सवारीसाधन बाटैमा रोकिएपछि सिसडोल पु¥याउन नसकी बीच बाटोबाटै फर्किएको बताउनुभयो ।

फोहोर व्यवस्थापनको अवरोध हटाउन छलफल भइरहेको जानकारी दिँदै कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले भन्नुभयो– ‘ठेकेदार र स्थानीयबीच वार्ता गरी समास्या समाधान गर्ने विषयमा छलफल गरिरहेको छ । पटकपटक अवरोध हुँदा राजधानीलगायत उपत्यकाको फोहोर व्यवस्थापन कार्यमा समस्या आउने गरेको छ । यसको दीर्घकालीन समाधान नगरे थप समस्या आउन सक्छ ।’

तारकेश्वर नगरपालिक–३ का अध्यक्ष मनोहरि तिवारीले सात वर्षदेखि बाटो निर्माण नभएपछि बाटो अवरोध गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘घरबेटी ठेकेदारले ठेक्का लिएको बाटो निर्माण नभएको कारण अवरोध गरेका हौं ।’ शैलुङ कन्ट्रक्सनका सञ्चालक शारदा अधिकारीका प्रतिनिधिसँग पटकपटक वार्ता हुँदा पनि समस्या समाधान हुन नसकेको जानकारी गराउँदै उहाँले भन्नुभयो– ‘कतिपटक वार्तामा बस्याैं । आजै सामान खसालेर भोलिबाट बनाउँछु भन्छ, वर्षाै बित्यो कहिल्यै बनाएन ।’ उहाँले अब बाटो तयार नभएसम्म फोहोर व्यवस्थापन गर्न नदिइने बताउनुभयो ।
तर, सिसडोलका स्थानीय श्रीराम ढुंगानाले बाटो निर्माण गर्ने विषयमा तत्काल निर्णय गर्नुपर्नेमा जोड दिनुभयो ।

फोहोर विसर्जनमा अवरोध भएपछि उपत्यकाका दुई महानगरपालिकासहित १८ स्थानीय निकायको फोहोर बाटोमै थुप्रिने भएको छ । सबै स्थानीय तहको उतिकै अधिकार भए पनि सरकारले काठमाडौं महानगरपालिकालाई बढी जिम्मेवार बनाएको छ ।विसं २०६२ मा बन्चरे डाँडाको पूर्वाधार तयार पारेर विसं. २०६५ बाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य तय गरिएको थियो । तर, करिब डेढ दशक बितिसक्दा पनि बन्चरे ल्यान्डफिल तयार नहुँदा फोहोर व्यवस्थापन गर्न सधैं समस्या देखिएको छ ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईका अनसार बन्चरे डाँडा आगामी जेठबाट फोहोर खसाल्न गरी तयार हुनेछ । १ हजार ७ सय ९० रोपनी जग्गा अधिग्रहण गरेर करिब ६१ करोड रुपियाँ मुआब्जा बाँडिसकेको बन्चरेडाँडा ल्यान्डफिल साइट यसअघि स्थानीकै कारण अवरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्