विद्युतीय राहदानी दिन शुरू



स्याङ्जा ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जामा विद्युतीय राहदानी ई–पासपोर्ट सेवा शुरू भएको छ । लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागू गरेको राहदानी विभागले त्यसको झन्डै ११ वर्षपछि गत वर्षबाट ई–पासपोर्ट प्रयोगमा ल्याएको हो ।

अब प्रशासनले दिने राहदानीमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका विवरणहरु समाविष्ट हुनेछ । जिल्ला प्रशासन कार्यालयल स्याङ्जामा औपचारिकरूपमा ई–पासपोर्टको सेवा सञ्चालनमा ल्याएको र इलाका प्रशासन कार्यालय वालिङबाट समेत ई–पासपोर्टको सेवा दिनका लागि तयारी भइरहेको स्याङ्जाका प्रजिअ राजुप्रसाद पौडेलले बताउनुभयो । सेवाग्राहीको मागलाई मध्यनजर गर्दै राहदानी विभागमा ई–पासपोर्ट सेवा सञ्चालनका लागि अनुरोध गरेबमोजिम विभागको प्राविधिक टोली आई सोसम्बन्धी आवश्यक पूर्वाधार निर्माण पश्चात् ई–पासपोर्टको काम सुरु गरिएको उहाँको भनाइ छ । यसबाट सेवाग्राहीलाई धेरै सहज हुने प्रजिअ पौडेलको विश्वास छ ।

विद्युतीय राहदानीका लागि सेवाग्राहीले अनलाइन फर्म भर्न सक्ने र सजिलै पासपोर्ट लिन सकिने राहदानी विभागको नेटवर्क हेर्ने इन्जिनियर हेमन्तकुमार शाहले बताउनुभयो । ई–पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने उहाँहको भनाइ छ ।

ई–पासपोर्टका लागि फर्म भर्दा आफ्नो विवरण भर्ने र आफ्नो डकुमेन्ट अपलोड गर्नुपर्ने हुन्छ । सेवाग्राहीले भरेको प्रि इनरोलमेन्ट फर्मको प्रिन्ट कपी र बैंकमा तोकिएको राजस्व जम्मा गरेको रसिद लिएर सेवाग्राही प्रशासन कार्यालय जानुपर्ने हुन्छ । ई–पासपोर्टका लागि कार्यालयमा सेवाग्राहीले बायोमेट्रिक्स गरी र फोटोसमेत खिचाउनुपर्ने इन्जिनियर शाहले बताउनुभयो । नयाँ पासपोर्ट लिनेहरुलाई अबदेखि विद्युतीय पासपोर्ट दिइने राहदानी उहाँको कथन छ ।

ई–पासपोर्टमा भएको विद्युतीय चिप्समा व्यक्तिको सबै विवरण हुने भएकाले साइबर कानुनका कतिपय जानकारले भने सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् । एमआरपीको तुलनामा ई–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित भएको सहायक प्रजिअ हरि शर्माले बताउनुभयो । बाँकी प्रक्रिया सबै पुरानै भए पनि विद्युतीय राहदानी लिनका लागि सरकारले जारी गरेको राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य रहेको उहाँको कथन छ ।

प्रतिक्रिया दिनुहोस्