उपचार नपाएरै मर्छन् दुर्गमका महिला



बाजुरा ।

त्रिवेणी नगरपालिका–५ किम्नीकी जौलादेवी विक २० वर्ष उमेर पुग्दा/नपुग्दै दुई सन्तानकी आमा बनिन् । गत साउनमा दोस्रो सन्तानका रूपमा उनले मेनुकालाई जन्म दिएकी थिइन् । मेनुका जन्मिएको १० दिनपछि जौलादेवीले प्राण त्यागिन् । उनले न गाउँको स्वास्थ्य चौकीमा राम्रो उपचार पाइन्, न उपचारका लागि सुुविधायुक्त ठाउँमा जान यातयात सुविधा । बिरामी पर्दा घरमा स्याहार गर्ने मान्छे नै जौलासँग कोही थिएनन् । न त आर्थिक जोहो गर्न सक्ने अवस्था उनमा थियो । प्रदेशी पतिलाई घरमा बोलाउन न त उनको गाउँमा टेलिफोन सुविधा नै थियो । कहींकतैबाट साथ नपाएपछि सुत्केरी जौलाले देहत्याग गर्नुपरेको थियो ।

‘म घरमा पुुग्दा जौला अचेत भइसकेकी थिइन् । सानी छोरी भोकले औंला चुसिरहेकी रहिछन् । घर पुगेको केही बेरैमै उनले देह त्याग गरिन् ।’ –मृतक जौलाका श्रीमान् मनोज विकले गहभरि आँसु पार्दै भन्नुभयो । गाउँमै राम्रो उपचार गराउन नपाएकाले उनको मृत्यु भएको उहाँको भनाइ छ ।

‘म प्रदेश भएकै बेला उनले छोरी जन्माइछन् । घरमा स्याहारसुसार गर्ने पनि कोही थिएनन्’, मनोज भन्छन्– ‘बाल्यकलामै विवाह गरियो, बिहेको ऋण तिर्न नसकेर पेटको बच्चा छोडेर भारतमा मजदुरी गर्न गएको थिएँ ।’

श्रीमती हुँदा उहाँ पहिले पनि धेरैपटक रोजगारीका लागि भरत जाने–आउने गर्नुभएको थियो । भारतको कमाइले नै गुजारा चलेको थियो । ‘श्रीमती भएको भए भारत गएरै भए पनि छोरीलाई राम्रो स्कुलमा पढाउँथें’, मनोजको दःखेसो छ– ‘घरमा एक छाक टार्न समेत निकै समस्या हुने गरेको छ ।’ श्रीमतीको मृत्युपछि दुई छोरी र आफ्नो लागि पेट पाल्न मात्रै २ लाख रुपियाँ ऋण लागेको उहाँको भनाइ छ । ‘गाउँमा ऋण पत्याउने समेत कोही छैनन् । छोरीलाई कसरी पाल्ने, आफू कसरी पालिने, गुजारा चलाउनै समस्या भएको छ ।’ –उहाँ भन्नुहुन्छ ।

स्थानीय सरकार आएको झन्डै चार वर्ष बिति सक्यो । त्यसको आभाष अझै विकटका जनताले गर्न पाएका छैनन्, पीडा यथावत् छ । उपचार नपाएर ज्यान गुमाउने जौला मात्रै होइनन् । उनी त प्रतिनिधि पात्र मात्रै हुन् । त्रिवेणी नगरपालिका–५ किम्निमा करिब ३ सय ५० घर–परिवार बस्दै आएका छन् । किम्निवासीलाई फोन गर्न अग्लो डाँडामा जानुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्