बिजुली आपूर्तिमा खास समस्या नभएको घिसिङको दाबी



काठमाडौं ।

नियमित बिजुली आपूर्तिमा कुनै समस्या नरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपाल समाचारपत्रसँगको कुराकानीमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त कुरा बताउनुभएको हो । अहिले जुनसुकै बेलामा पनि बिजुली जाने गरेको छ, उत्पादन वा आयातमा खास के समस्या हो भन्ने जिज्ञासामा उहाँले भन्नुभयो– ‘अहिले बिजुली प्रवाह संयन्त्रमा कुनै समस्या छैन, मर्मत सम्भार गर्दा छिटपुट बिजुली अवरुद्ध हुने गरेको छ, प्राधिकरण नियमित बिजुली आपूर्तिका लागि लागि परिहेको छ ।

ट्रान्सफरमर जडान गर्दा, प्रसारण लाइन मर्मत गर्दा, आगलागी हुँदा लाइन काटनुपर्ने बताउँदै बढीमा पाँच–दश मिनेट बिजुली अवरुद्ध हुने गरेको र उक्त व्यावहारिक समस्या बुझ्न सर्वसाधरणलाई आग्रह गर्नुभयो । जापान तथा अमेरिकामा समेत विद्युतीय संयन्त्र मर्मत सम्भार गर्दा विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको बताउँदै बिजुली प्रवाह शतप्रतिशत सुनिश्चय कठिन हुने दाबी गर्नुभयो । विद्युत् प्राधिकरण सक्दो सुनिश्चितताका लागि प्रयत्नशील रहेको उहाँको दाबी थियो ।

विद्युतीय संयन्त्र मर्मत सम्भारको सिलसिलामा सर्वसाधरणवाट अनेकौं समस्याहरू भेल्नु परिरहेको उहाँले बताउनुभयो । कतिपय स्थानमा स्थानीयले ट्रान्सर्फमर जडान गर्न नदिँदा सुरक्षाकर्मी लगाएर जडान गर्नु परेको, कतिपय स्थानमा बिजुलीको तार लैजाँदा स्थानीयले अवरोध गर्ने गरिएको र कतिपय स्थानमा अन्डरग्राउन्ड केवल बिच्छ्याउँदा स्थानीयले थुनछेक गर्ने गरेको दुखेसो व्यक्त गर्नुभयो ।

पानी परेको बखतमा ५० देखि ६० घण्टासम्म ज्यानको वाजी लगाई प्राधिकरणका कर्मचारीले काम गरेको नदेख्ने सर्बसाधारणले दुईचार मिनेट बिजुली जाँदा अनेकौं टिका टिप्पणी गर्ने गरेको उहाँको गुनासो थियो । हिटर, इन्डक्सन चुल्हो बढदो प्रयोगका कारण लोड धान्न आवश्यक स्थानमा ट्रासफर राख्ने कार्यलाई विशेष प्राथमिकता दिएको उहाँले जनाउनुभयो । एउटा ट्रासफरको क्षमता ३०० केभिए मात्र हुने गरेको जनाउदै चालु आर्थिक बर्षको पुस महिना पछि कूल ३ सय ट्रान्सर्फमर जडान गरिएको जानकारी उहाँले गराउनुभयो ।

कूल जडित क्षमता करिब २ हजार मेगावाट रहेकोमा जडित क्षमताको करिव ३० प्रतिशत कम विजुली उत्पादन भईरहेको जानकारी दिदै औषत ३ सय मेगावाट बिजुली दैनिक आयात भईरहेको जानकारी दिनुभयो । अघिल्लो बर्ष हिउदमा दैनिक ८ सय मेगावाटसम्म बिजुली भारतवाट आयात गर्नु परेको जानकारी दिदैं विजुली आयात खुला वजारवाट औषत भारतीय ३ रुपियाँ ५० पैसामा आयात हुने बताउनुभयो । उहाँका अनुसार निर्यात भने भारतीय ३ रुपियाँ ५० पैसामा गर्ने गरिएको छ ।

हाल, स्वदेशी तथा वाह्य सहयोगमा निर्मित १ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी, ७०मेगावाट क्षमताको मध्य मस्र्याङ्दी, १ सय ४ मेगावाट क्षमताको खुलेखानी प्रथम, दोस्रो तथा तेस्रो, ६० मेगावाट क्षमताको त्रिशूली थ्रीए आयोजना नेपाल विद्युत् प्राधिकरणको मातहतमा छन् । त्यस्तै, ३० मेगावाट क्षमताको चमेलिया, २४ मेगावाट क्षमताको त्रिशूली, १५ मेगावाट क्षमताको गण्डक, १४ दशमल ८ मेगावाट क्षमताको मोदीखोला, १० दशमल ०५ मेगावाट क्षमताको सुनकोशी ६ दशंमलव २ मेगावाट क्षमताको पुवाखोला जलविद्युत् आयोजना हाल नेपाल विद्युत् प्राधिकरणको मातहतमा रहेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको लगानी रहेको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, ६० मेगावाट क्षमताको त्रिशूली थ्री ए, जलविद्युत् आयोजना ४० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना र १४ मेगावाट क्षमताको खुलेखानी तेस्रो जलविद्युत् आयोजना अहिले सञ्चालनमा आइसकेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको ५१ प्रतिशत हिस्सा रहेको चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेडअन्र्तगत निर्माण भइरहेका १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, १ सय २ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना, १४ मेगावाट क्षमताको माथिल्लो सान्जेन जलविद्युत् आयोजना, ४२ मेगावाट क्षमताको तल्लो सान्जेन जलविद्युत् आयोजना २०७८ सालभित्र पूरा हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना,४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना, २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली वान आयोजना निर्माणको चरणमा छन् ।

प्रतिक्रिया दिनुहोस्